राजनीति


बोलिभियामा मोरालेसको १४ वर्षे शासन ढल्यो

बोलिभियामा मोरालेसको १४ वर्षे शासन ढल्यो

नेपालखबर
कात्तिक २५, २०७६ सोमबार ८:७,

लगातारको प्रदर्शनपछि बोलिभियाका राष्ट्रपति एभो मोरालेसले राजीनामा दिएका छन्। सन् २००६ देखि सत्तामा रहेका मोरालेसमाथि चुनावमा धाँधली गरेको आरोप विपक्षीले लगाएका छन्।

मोरालेस र उपराष्ट्रपति अल्भारो गार्सिया लिनेराले राष्ट्रलाई सम्बोधन गर्दै रक्तपात रोक्न राजीनामा दिएको बताएका छन्। आफूहरुविरुद्ध कु गरिएको उनीहरुको आरोप छ।

‘कु सफल भएको छ,’ गार्सियाले भने।

मोरालेस बोलिभियाको पहिलो आदिवासी राष्ट्रपति हुन्। सानो संख्यामा रहेका युरोपेली मूलका सम्भ्रान्तहरुले सो देशको शासन चलाउँदै आएका थिए। मोरालेसको नेतृत्वमा बोलिभियाले आर्थिक उन्नति गरेको थियो। जनतामाझ उनी अत्यन्त लोकप्रिय थिए। तर, राष्ट्रपतिका रुपमा चौथो कार्यकालमा उम्मेदवारी दिन उनले संविधान संशोधन गरेका थिए। उनले अक्टोबर २० मा भएको चुनावको नतिजा हेरफेर विजय हात पारेको आरोप लगाउँदै विपक्षीले आन्दोलन सुरु गरे। हालसम्म आन्दोलनमा ३ जनाको ज्यान गइसकेको छ भने सयौँ घाइते भएका छन्।

विरोध प्रदर्शन जारी रहेकै अवस्थामा ६० वर्षीय मोरालेसले नयाँ चुनाव गर्ने प्रस्ताव गरेका थिए। तर, विपक्षीले प्रस्ताव अस्वीकार गरेका थिए।

bolivia.jpg

मुलुकका सशस्त्र फौज र प्रहरी दुवैले राष्ट्रपतिलाई राजीनामा गर्न सुझाएका थिए।

राजीनामा दिँदै मोरालेसले भने, ‘सबै दाजुभाइ दिदीबहिनीलाई म भन्न चाहन्छु, लडाइँ यहीँ टुंगिएको छैन। समानता र शान्तिका लागि गरिबहरुको समाजिक आन्दोलन, संघर्ष जारी रहनेछ।’

कम्तीमा २० जना सांसद र वरिष्ठ सरकारी अधिकारीहरुले बोलिभियास्थित मेक्सिकोको राजदूतावासमा शरण लिएका छन्। मेक्सिकोले राष्ट्रपति मोरालेसलाई पनि शरण दिन आफू तयार रहेको घोषणा गरेको छ ।

यहीबीच मोरालेसले ट्वीट गर्दै आफूलाई गिरफ्तार गर्न सुरक्षाकर्मी पक्राउपूर्जी सहित आएको बताएका छन्।

ल्याटिन अमेरिकाका वामपन्थी नेताहरुले बोलिभियाको यो सत्ता पलटलाई राजनीतिक कु को संज्ञा दिएका छन्।

अर्जेन्टिना, भेनेजुएला, क्युबाका राष्ट्रपति तथा हालै जेलमुक्त भएका पूर्व ब्राजिली राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले मोरालेसको समर्थन गरेका छन् भने ब्राजिली राष्ट्रपति जायर बोल्सोनारोले मोरालेसको राजीनामाबाट आफू आनन्दित भएको बताएका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad