जिल्ला अदालत कञ्चनपुरमा ठगी मुद्दा दर्ता गरिएका सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले राजीनामा दिएका छन्।
मुख्यमन्त्री त्रिलोचन भट्टलाई उनले आइतबार राजीनामा पत्र बुझाएका हुन्। भीमदत्त नगरपालिका भाँसीस्थित जनज्योति एजुकेसन फाउन्डेसनको सेयरवापतको रकम ठगीको आरोप लागेका राज्यमन्त्री रावलले नैतिकताको आधारमा राजीनामा दिएको बताएका छन्।
फाउण्डेसनको १५ करोड ६७ लाख ५० हजार सेयरबापतको रकम ठगी गरेको भन्दै मन्त्री रावलसहित ३६ जनाविरुद्ध जिल्ला अदालत (कञ्चनपुर)मा मुद्दा परेको थियो ।
उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री रावल जनज्योति बहुमुखि क्याम्पस सञ्चालक समितिका पूर्वअध्यक्ष तथा सेयर सदस्यसमेत हुन्। राज्यमन्त्री रावल कञ्चनपुर क्षेत्र नम्बर ३ प्रदेशसभा ‘क’ बाट निर्वाचित नेकपा सांसद हुन्।
जनप्रतिनिधिहरूमा यसरी ठगी मुद्दा लाग्नेमा मन्त्री रावल सुदूरपश्चिम प्रदेशका ‘हाइ प्रोफाइल’ व्यक्तिमध्ये एक हुन्।
आर्थिक कारोबार गर्दा बैंक प्रणालीबाट गर्नु पर्ने सो नगरेको, मूल्यांकनै नगरी आफ्नो सेयर ५५ लाख कायम गरिएको, पुँजीगत लाभकर चुक्ता नगरेको, किर्ते कागजपत्र बनाएको, झुटो अडिट रिपोर्ट तयार पारी ठगी गरेको, नयाँ सेयर सदस्यलाई प्रमाण पत्र नदिएकोजस्ता विभिन्न अभियोग छन्।

प्रतिक्रिया