ad ad

राजनीति


यी ५ नेता दायाँबायाँ राख्नुको प्रचण्ड सन्देश

यी ५ नेता दायाँबायाँ राख्नुको प्रचण्ड सन्देश

सागर न्यौपाने
पुस १०, २०७८ शनिबार १९:४८, काठमाडौँ

नेकपा माओवादी केन्द्रको प्रचार विभागले आइतबार काठमाडौंमा सुरु हुने पार्टीको प्रथम राष्ट्रिय सम्मेलनबारे 
जानकारी दिन शनिबार विभिन्न सञ्चारमाध्यमका सम्पादकलाई बोलाएको थियो। ललितपुरको होटल हिमालयनमा आयोजित सम्पादकहरूसँगको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष प्रचण्डसमेत माओवादी केन्द्रका ६ नेता सहभागी थिए। प्रवक्ता कृष्णबहादुर महरा, हरिबोल गजुरेल र देव गुरुङ प्रचण्डको देब्रेतिर बसेका थिए। दाहिनेतर्फ भने नारायणकाजी श्रेष्ठ र पम्फा भुसाल थिए। 

प्रचण्डका दायाँबायाँ बसेका उनीहरूमध्ये भुसालले मात्र राष्ट्रिय सम्मेलनमा आफू महासचिव बन्न चाहेको बताएकी छन्। अन्य नेताले अहिलेसम्म मुख खोलेका छैनन्। माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आइतबार काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा उद्घाटन हुँदै छ। तीन दिनसम्म चल्ने  सम्मेलनका लागि १६ सयभन्दा बढी प्रतिनिधि चयन भएका छन्। माओवादी केन्द्रको विचार निर्माण, अन्तरिम विधान पारित गर्दै नयाँ नेतृत्व चयन गर्ने बताइएको सम्मेलनबाट पदाधिकारी बन्न थुप्रै नेताले चाहना राखेका छन्। सञ्चारमाध्यममा आएका माओवादी केन्द्रका नेताहरूका भनाइलाई आधार मान्ने हो भने अध्यक्ष पदबाहेक पदाधिकारी बन्न खोज्नेको सूची निकै लामो छ। 

यही राष्ट्रिय सम्मेलनबाट पदाधिकारी चयन हुन्छ कि हुँदैन? स्वंय प्रचण्डले अहिलेसम्म कसैलाई कुरा चुहाएका छैनन्। सम्मेलनमा प्रस्तुत गर्न आफूले लेखेको राजनीतिक दस्तावेज प्रचण्डले सम्मेलनको अघिल्लो दिन शनिबारसम्म कसैलाई हेर्न दिएका छैनन्, उनी एकैचोटि कार्यक्रम सुरु भएपछि आइतबार त्यो वितरण गर्ने योजनामा छन्। 

प्रचण्डनिकट स्रोतहरूका अनुसार प्रचण्डले राष्ट्रिय सम्मेलनबाट केन्द्रीय समिति मात्र चयन गर्ने र अध्यक्षलगायत पदाधिकारी भने नवनिर्वाचित केन्द्रीय समितिबाट पछि तोक्ने विधि बनाउन पनि सक्छन्। 

किनकि पछिल्लोपटक विभिन्न नेताले प्रचण्डलाई खुसी पार्न प्रचण्डपथको विचार फेरि बहसमा ल्याएको, महासचिव पदका लागि दाबी पेस गरेको कुरालाई उनले निकै नजिकैबाट नियालिरहेका छन्। 

यसअघि वाईसीएल, अखिल क्रान्तिकारी, लुम्बिनी, गण्डकी र कर्णालीमा प्रदेशमा जस्तै पहिले कार्यसमिति मात्र र त्यसले पछि अध्यक्षलगायत पदाधिकारी चुन्ने अभ्यास गरेका प्रचण्डले पार्टीमा पनि त्यही विधि अपनाउने अनुमान केहीको छ। यो अनुमान किन पनि भने भने प्रचण्ड जब पार्टीमा आफूलाई ‘थ्रेट’ महसुस गर्छन्, तब क्रमभंग गर्ने नेता हुन्। 

उनले शनिबार त्यस्तै संकेत दिन खोजेका छन्। पाँच नेतालाई प्रचण्डले दायाँबायाँ राख्दा जनार्दन शर्मा, शक्ति बस्नेत, लीलामणि पोखरेललगायत नेता त्यहाँ थिएनन्। वर्षमान पुन यतिबेला चीनमा उपचारत छन्। मञ्चमा भएकामध्ये गजुरेल र भुसाल, महरा सिनियर हुन्। एकता प्रक्रियाबाट २०६५ मा माओवादीमा सामेल नारायणकाजी श्रेष्ठ प्रचण्डको दाहिनेपट्टि कुम जोडेरै बसेका थिए। राष्ट्रिय सम्मेलनबाट नयाँ कार्यक्रम, कार्यदिशा ल्याउन लागेका प्रचण्डले अन्य नेता नबोलाई किन पाँच जना मात्र लगे?
वर्तमान अन्तरिम विधानमा माओवादी केन्द्रमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष गरी ५ जना पदाधिकारी रहने प्रस्ताव गरिएको छ। त्यही कुरा संकेत गर्न खोजेका हुन् त प्रचण्डले? 

उनीनिकट स्रोतका अनुसार प्रचण्डले शनिबार राष्ट्रिय सम्मेलनको सम्भावित कुरा देखाएका हुन्। तर उनको सचिवालयले उपलब्ध स्थायी समिति सदस्यलाई सहभागी गराएको दाबी गर्‍यो।

‘उपलब्ध हुनुभएका नेताहरू सम्पादकसँगको अन्तक्रियामा बस्नुभएको हो’, सचिवालयका एक सदस्यले नेपालखबरसँग भने, ‘त्यसमा अर्को कुनै कारण छैन।’

शनिबार दिउँसो १ बजे माओवादी केन्द्रको स्थायी समिति बैठक बसेको थियो। त्यसलगत्तै सम्पादकसँग अन्तरक्रिया गर्न होटल हिमालयनमा प्रचण्डका साथमा ६ नेता मात्र किन पुगे त? अरु नेता जान किन चाहेनन्? 

यस विषयमा प्रचण्डको सचिवालय भने राष्ट्रिय सम्मेलन प्रतिनिधिको संख्या टुंगो लगाउन केही नेता छलफलमा बसेको दाबी गर्छ। माओवादी केन्द्रको हाल १९ जना स्थायी समिती सदस्य छन्। तर नेताहरू भने प्रचण्डले पुराना नेताका साथ सम्पादकसँग अन्तरक्रिया गरेर माओवादी केन्द्रमा सबै नेता नेतृत्व गर्न सक्षम रहेको सन्देश दिन चाहेको जिकिर गर्छन्। 

सम्पादकसँगको अन्तरक्रियामा प्रचण्डले ३२ वर्षदेखि आफूहरू एउटै कमिटीमा रहेको बताउँदै सबै जना माओवादी केन्द्र हाँक्न सक्षम रहेको धारणा राखे। 

‘अहिले यहाँ रहेका ६ जना नै नभए पनि माओवादी चल्छ, अर्कोले पार्टी चलाउँछ’, प्रचण्डले भने, ‘कसैलाई मन नपर्दैमा यो पार्टी सकिँदैन। शताब्दीसम्म रहन्छ। माओवादीले मुख्य रूपमा गणतन्त्र ल्याउन, व्यवस्था परिवर्तन गर्न खेलेको भूमिका वर्षौंसम्म रहन्छ। हामीले छोडे पनि अर्कोले उठाउँछ।’

तर एक नेता प्रचण्डले राष्ट्रिय सम्मेलनबाट केन्द्रीय समिति र अध्यक्ष मात्र चुन्ने संकेत दिएको अनुमान गर्छन्। 

‘प्रचण्डले सम्मेलनबाट केन्द्रीय समिति चुन्ने र त्यसैले अध्यक्ष मात्र चुन्न सक्ने संकेत देखाउनुभएको हुन सक्छ’, ती नेताले भने, ‘विभिन्न पदाधिकारीमा आकांक्षी बढिसकेका छन्, उनीहरूको ध्यान विचार निर्माणमा भन्दा नेतृत्वमा भइसक्यो, त्यो रोक्न अध्यक्ष प्रचण्डले त्यस्तो स्टेप चाल्न सक्नुहुन्छ।’ 

पदाधिकारी भने पछि बनाउने चाहना रहेको हुनसक्ने ती नेताको अनुमान छ।

यसैबीच शनिबार साँझ  बसेको माओवादी स्थायी कमिटी बैठकले राष्ट्रिय सम्मेलनलाई आठौं महाधिवेशनमा परिणत गर्ने प्रस्ताव गरेको छ। 

यो प्रस्ताव भोलि आइतबार बिहान ८ बजे बस्ने केन्द्रीय समितिमा पेस गरिनेछ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .