प्रदेश २ को नामाकरणको लागि नेकपा (एकीकृत समाजवादी)ले प्रदेश सभामा पेश गरेको ‘जानकी’ प्रदेशको प्रस्तावलाई नेकपा (एमाले)ले समर्थन गरेको छ।
शुक्रबार बसेको प्रदेशसभा बैठकमा एमालेकी सांसद शारदा थापाले एकीकृत समाजवादीले प्रस्ताव गरेको ‘जानकी’ प्रदेश नाममा आफ्नो दलको समर्थन रहेको घोषणा गरिन्।
बिहीबार प्रदेश सभामा जनता समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रले ‘मधेश प्रदेश’, नेपाली कांग्रेसले ‘मिथिला भोजपुरा’, एकीकृत समाजवादीले ‘जानकी प्रदेश’ र कांग्रेसकै प्रदेशसभा सदस्य राजेश्वरप्रसाद साहले ‘मध्य मधेस’ प्रदेश नामको प्रस्ताव पेस गरेका थिए।
बिहीबार एमालेका एकजना पनि सांसद बैठकमा सहभागी थिएनन्।
शुक्रबारको बैठकमा सहभागी सांसद थापाले ‘जानकी’ प्रदेश भन्दा उपयुक्त अरु कुनै नाम हुनै नसक्ने जिकिर गर्दै सो नाममा एमालेको पनि समर्थन रहेको बताइन्।
पार्टी विभाजन अघि नेकपा एमालेको तर्फबाट प्रमोद कुमार यादवले ‘जानकी’ र शारदा देवी थापाले ‘जनक’ नाम दर्ता गराएकी थिए।
‘सुरुमा हामीले जानकी प्रदेश नै दर्ता गराएका थियौँ। पछि नेकपा एकीकृत समाजवादीले ‘जानकी प्रदेश’ मै अडेर बस्यो। हामीले ‘जनक प्रदेश’ दर्ता गरायौँ। नेकपा एमालेले पनि जानकी प्रदेशलाई नै समर्थन गर्छ’ उनले भनिन्।
थापाले जनककै नाममा जनकपुर नाम पर्न गएकाले जनकनन्दनी जानकीको नाममा प्रदेशको नाम हुँदा आफूहरुका लागि त्यो भन्दा बढी सौभाग्यको कुरा केही नहुने बताइन्।
अन्तर्राष्ट्रिय स्तरमा पनि चिनिने सबैभन्दा ठूलो संरचना माता जानकी कै मन्दिर रहेको र पर्यटकहरु पनि यसैका लागि यहाँ आउने गरेकाले जानकी प्रदेश उचित नाम हुने उनले दावी गरिन्।
प्रदेशसभा सदस्य थापाले मुख्यमन्त्री राउतले समेत प्रदेशमा छोरीहरुका लागि विभिन्न अभियान सञ्चालन गरेको तथा यो प्रदेश महिलामैत्री प्रदेश हुनुपर्ने बताइन्।
छोरीहरुको अधिकारका कुरा गर्ने गरेकाले पनि ‘जानकी’ नाम सबैभन्दा उत्तम हुने उनको दावी छ।
Shares
प्रतिक्रिया