राजनीति


सदरखोरमा महराः बिहान घाम ताप्छन्, दिउँसो पढ्छन् नेपोलियन बोनापार्ट

सदरखोरमा महराः बिहान घाम ताप्छन्, दिउँसो पढ्छन् नेपोलियन बोनापार्ट

दीपक खरेल
कात्तिक २०, २०७६ बुधबार १३:४१,

सदरखोर डिल्लीबजारको ब्लक ‘क’ बाट बुधबार सवा तीनबजे निवर्तमान सभामुख कृष्णबहादुर महरा बाहिर कम्पाउन्डमा निस्किए। निलो कोट, निलै पाइन्ट र सेतो कमिज लगाएका महरा दाह्री काटेर सफा देखिन्थे।

निलो रंगकै प्लाष्टिकको चप्पल लगाएका उनी सदरखोरका ब्लक ‘क’ र ‘ख’ को बिचमा रहेको खाली जग्गामा बनेको सानो छानो सहितको प्रतिक्षालयको कुर्सीमा टुक्रुक्क बसे। टेबलमा छरिएका पत्रिकाहरु ओल्टाईपल्टाई पढे। यसैबीच कारागार भित्रका एकजना नाईके दुबै हात बाँधेर उनी सामु उभिए। पत्रिका पढिरहेका महरालाई उनी सोध्दै थिए, ‘केही खानु–पिउनु हुन्छ सर?’

महराले मुन्टो हल्लाएर अस्विकार गरे। उनको सङ्केत थियो– अहिले केही नखाने। ती नाईके त्यहाँबाट हात बाँधेरै पछि हटे। त्यसपछि प्रहरीका एकजना कनिष्ठ अधिकारी उनी सामु पुगे। उनको अघिल्लतिर रहेको कुर्सीमा बसे। केही समय कुराकानी गरे र फर्किए। त्यसपछि दुईजना जेलभित्रकै कैदीबन्दीसँग नजिकिएर महरा गफ गर्न थाले।

उनी गफिरहेका बेला बल्क ‘ख’ मा रहेका ज्यान मुद्दाका कैदी सांसद रेशम चौधरी टेनिस खेल्न थाले। निकै जोशमा अर्का एकजना बन्दीसँग टेनिस खेल्दै थिए चौधरी। उनले एक सेट खेलेपछि सदरखोरका जेलर उपसचिव अरुण पोखरेल तल आए। अब रेशम र अरुणबीच टेबल–टेनिस खेल मच्चिन थाल्यो। महरा केहि परबाट नियालिरहेका थिए।

mahara jail 2

‘दाई सभामुखसँग भेट भयो?,’ टेनिस खेलिरहेका रेशमलाई एकजनाले सोधे।

‘हिजो भेटेँ,’ चौधरीले छोटो जवाफ फर्काए।

उनै चौधरीलाई गतवर्ष पुसमा सदरखोर जेलबाट सुरक्षाकर्मीद्वारा संसदमा लगी महराले नै संघीय संसद सदस्यको सपथ खुवाएका थिए। टिकापुर हत्याकान्डमा अदालतले दोषी ठहर गरेका चौधरीलाई सपथपछि सिधै जेलमै ल्याइएको थियो। संयोगले अहिले दुवैजना एउटै कारागारमा छन्।

दृश्य हेर्दा लाग्दथ्यो, महरासँगै बसेका दुईजना गफिन चाहन्थे। महरा आवश्यक जवाफमात्र फर्काएर बसिरहेका थिए।

पूर्वसभामुख महराको बुधबार सदरखोर डिल्लीबजारमा तेस्रो दिन हो।

संसद् सचिवालयमा काम गर्ने कर्मचारीमाथि जबर्जस्ती करणी प्रयासको अभियोग लागेका महरा काठमाडौं जिल्ला अदालतको आदेशले सोमबार रातीदेखि सदरखोर डिल्लीबजारमा बन्दी बनेका छन्।

जिल्ला अदालतका न्यायाधीश सुदर्शनराज पाण्डेले पछि ठहरेबमोजिम हुने गरी महरालाई पुर्पक्षका लागि डिल्लीबजार कारागार पठाएका थिए।

पूर्वसभामुख कृष्णबहादुर महरा सदरखोरको उत्तरतर्फ रहेको ब्लक ‘क’ मा ४६६ कैदी–बन्दीका माझ बसेका छन्। यस्तै सदरखोरकै ‘ख’ ब्लकमा १४० जना कैदीबन्दी राखिएको छ। सदरखोर डिल्लीबजारमा बुधबार साँझसम्म कैदीको कूल सख्या ६०६ छ। जसमध्ये एक महरा हुन्।

mahara jail 3
सदरखाेर गेट

जर्बजस्ती करणी मुद्दामा कारागारमा सबैभन्दा बढी कैदीबन्दी छन्। सो मुद्दामा कैदी ५६ र पूर्पक्षका लागि राखिएका बन्दी ४४ जना थिए। महरा थपिएपछि बन्दीको संख्या ४५ पुगेको छ। जसमा दुई विदेशी नागरिक समेत छन्।

पूर्वसभामुख महरा बिहानको खाना कारागारको मेसमै खान्छन्। साँझ रोटी खान्छन्। उनी कालो चिया पिउँछन्। कारागार प्रशासनले उच्चरक्तचाप र मधुमेहका बिरामीका लागि सोहिअनुसारको खाना मेसमा पस्कने गर्छ। सोमबार महरा कारागार प्रवेश गरेपछि त्यहाँको प्रशासनले उनको रक्तचाप जाँच गरेको थियो। रक्तचाप उच्च पाएपछि उनको खानामा विशेष ध्यान राखिएको छ।

कारागारको ब्लक ‘क’ मा रहेको ठूलो कोठामा महराले आफ्नो ओच्छयान लगाएका छन्। रक्तचापका रोगी भएकाले महराको स्वास्थ्यमा जेल प्रशासन आफै सचेत रहेको कर्मचारीहरुले बताए। यसबाहेक महरालाई थप सेवासुविधाका लागि कसैले फोन गरेर वा भेटेर भनसुन गरेको छैन।

sir3

महराका दुई छोरा एटम र राहुल मंगलबार बन्दी बुवा भेट्न सदरखोर पुगेका थिए। बुधबार महराका एकजना आफन्त उनलाई भेट्न गए। त्यसबाहेक उनलाई भेट्न कोही गएको छैन् जेलमा।

महरा प्रायः कारागारभित्र ब्लकमै बसेका छन्। उनले मंगलबार सदरखोरभित्र रहेको पुस्तकालयबाट ६ थान किताब लिएका छन्। उनले रोजेका किताबमा फ्रान्सेली शासक नेपोलियन बोनापार्टदेखि नेपाली मिडिया उद्यमी तथा वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठको कलमसम्म परेका छन्।

महराले पुस्तकालयबाट यीबाहेक विश्वप्रसिद्ध व्यक्तित्व, आन्तरिक द्वन्द्वमा मिडिया राजनीति, नेपालमा माओवादी सशस्त्र द्वन्द्व र नेपालको कुटनीतिक अभ्यास नामक किताब पनि लिएका छन्।

कारागार स्रोतका अनुसार महरा अधिकांश समय पुस्तकमैं घोत्लिन्छन्। बिहान र अपरान्ह केही समय कोठाबाहिर निस्किन्छन्। त्यसबाहेक उनी ब्लकभित्रै बस्छन्।

mahara jail 4

उनी बसेभन्दा केही पर पूर्व प्रहरी महानिरीक्षक रमेशचन्द ठकुरी र सशस्त्र प्रहरीका डिआईजी रञ्जन कोइराला छन्। ठकुरी सुडान घोटालामा भ्रष्टाचार आरोपमा दोषी ठहरिएका हुन् भने कोइराला आफ्नै श्रीमतीको हत्याका दोषी हुन्।

महरा २०७६ असोज १२ गते सात बजेसम्म राष्ट्रकै बरियतामा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश पछिको पाँचौ स्थानमा थिए।

जिल्ला अदालतले उनलाई पूर्पक्षका लागि सदरखोर पठाएपछि सोमबारपछि उनको ‘स्टाटस्’ हो, ६०६औं बन्दी।

सशस्त्र द्वन्द्वमा तत्कालीन विद्रोही नेपाल कम्युनिष्ट पार्टी माओवादीको सार्वजनिक अनुहार बनेका महरालाई बुधबार चारैतर्फ सुरक्षा घेरा र तारबार घेरिएको स्थानमा रहेको मक्किएको सदरखोरमा देख्दा लाग्थ्यो– शक्ति भनेको सम्मान, अनुशासन र कर्तव्यपालन हो। यसबाट चुकेमा त्यो शक्ति क्षणभरमै क्षय हुन्छ।

महरा रोल्पाका लोकप्रिय शिक्षक थिए। तत्कालीन जनमोर्चाबाट राजनीति सुरु गरेका उनी शैक्षिक आन्दोलन हुँदै विद्रोही माओवादीका शीर्ष १० नेताको सूचीमा अटाएका थिए।

विद्रोहकालदेखि सँधै पार्टी नेतृत्वको विश्वासपात्र रहन सफल महरा असोज १२ को घटनाअघि राजनीतिकबाहेक चारित्रिक बिचलनमा परेका थिएनन्। तर रोशनी शाहीको घटनामा महरा गम्भिर चारित्रिक बिचलन मात्र होइन, फौजदारी अभियोगका अभियुक्त बनेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .