राजनीति


भरतकुमार शाह : संसदीय निर्वाचन जितिरहँदा आन्तरिक प्रतिस्पर्धामा किन हार्छन्?

भरतकुमार शाह : संसदीय निर्वाचन जितिरहँदा आन्तरिक प्रतिस्पर्धामा किन हार्छन्?

सुदीप भण्डारी
मंसिर २०, २०७८ सोमबार १५:११, काठमाडौँ

नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सभापतिमा पराजित भरतकुमार शाहलाई पार्टीको चुनाव खासै फापेको छैन। तर संसदीय चुनावमा भने बाजी मारिरहन्छन्। 

२०७४ सालको संसदीय चुनावमा एमाले र माओवादी केन्द्र मिलेर चुनाव लडेका बेलासमेत रुपन्देही क्षेत्र नम्बर ५ मा वामघटकका उम्मेदवारलाई १२ हजार भन्दा बढी मतान्तरले पराजित गरेका थिए। त्यो निर्वाचनमा शाह सम्भवतः निकटतम प्रतिस्पर्धीलाई सबैभन्दा बढी मतान्तरले पराजित गर्ने कांग्रेस सांसद थिए। 

सल्यानमा जन्मेर लामो समय दाङमा बसेका शाह अध्ययन सकिएपछि रुपन्देहीमै आएर सक्रिय राजनीति थालेका हुन्। २०४९ र ०५४ मा भएको दुवै स्थानीय तहको निर्वाचन पछि उनी जिल्ला विकास समिति रुपन्देहीको सदस्य भएका थिए। 

२०५६ सालको आम चुनावमा रुपन्देही क्षेत्र नम्बर ५ बाट विजयी भएर संसदीय यात्रा सुरु गरेका थिए। २०६४ सालको पहिलो संविधान सभाको चुनावमा पराजित भए पनि २०७० साल यता लगातार २ वटा चुनाव जितेर संसदमा पुगेका छन्। अहिले संघीय संसदको सार्वजनिक लेखा समितिको सभापति पनि छन्। 

उनलाई कांग्रेसको लुम्बिनी प्रदेश सभापतिको बलियो उम्मेदवार मानिएको थियो। केन्द्रमा देउवा गुट भए पनि रुपन्देहीमा बालकृष्ण खाँण र भरतकुमार शाहका आ–आफ्नै समूह थिए।

रुपन्देहीमा कांग्रेसको सहमतिबाट नेतृत्व चयन गर्दा बालकृष्ण खाँणले संस्थापन इतरसँगै भरतकुमार शाहसँग पनि सम्झौता गरेका थिए। बालकृष्णका भाइ रामकृष्णलाई जिल्ला सभापति बनाउन सहयोग गर्ने र प्रदेशमा खाँणले प्रदेश सभापतिमा शाहलाई अघि बढाउने एक खालको समझदारी भएको थियो। 

जिल्ला अधिवेशन अगाडिदेखि गृहमन्त्री खाँण रुपन्देहीमा रहेर शाहको चुनावी परिचालनमा खटिएका थिए। प्रदेश अधिवेशनमा अन्ततः शाह रोल्पाका अमर पुनसँँग सभापतिमा ८५ मतले पराजित भए।

जिल्ला अधिवेशनको नतिजालाई हेर्दा लुम्बिनी प्रदेशमा पौडेल पक्ष नै बलियो देखिएको थियो। प्रदेशका १२ जिल्ला मध्ये ९ जिल्लामा पौडेल पक्ष नै नेतृत्वमा आएको थियोे। तर रुपन्देही, बाँकेका धेरै कार्यकर्ता रहेको जिल्लाको मतले जितिन्छ भन्ने संस्थापनको आशा थियो। कांग्रेस रुपन्देहीका पूर्वजिल्ला उपसभापति फणिन्द्र शर्माले अधिवेशनमा कडा प्रतिस्पर्धा भए पनि राजनीतिक व्यक्तित्वको कारण शाहले चुनाव जित्ने अनुमान गरेको बताए।

‘यस अघिका जिल्ला र क्षेत्रका अधिवेशनलाई हेर्दा कडा प्रतिस्पर्धा हुने देखिएको थियो। तर लेखा समितिको सभापति, पश्चिमतिरका जिल्लामा पनि राम्रै व्यक्तिगत सम्पर्क भएकाले जित्नुहुन्छ भन्ने आशा गरेका थियौँ’ उनले भने, ‘तर सम्मानजनक मत मात्र आयो।’ 

रुपन्देहीका अष्टभुजा पाठक संस्थापन इतर अर्थात पुन प्यानलको भए पनि प्रदेश उपसभापतिमा पराजित भएका छन्। प्रदेशको ८ सदस्यीय पदाधिकारीमा सबैभन्दा बढी कार्यकर्ता र जनसंख्या भएको रुपन्देहीले ठाउँ पाएको छैन।

रुपन्देहीमै अधिवेशन हुँदा व्यवस्थापनमा केही कमजोरीको कारणले पनि जिल्ला बाहिरका कार्यकर्ताले यहाँका उम्मेदवारलाई मत नदिएको हुन सक्ने शर्माले बताए। 

‘त्यो समूहबाट सबै पदाधिकारीले राम्रो मत ल्याउँदा अष्टभुजा पराजित हुनुभयो। अधिवेशन आयोजक भएकाले रुपन्देहीप्रति असन्तुष्टि भएर यहाँका दुवै उम्मेदवार पराजित हुनुभएको पो हो कि?’ पूर्वजिल्ला उपसभापति शर्माले भने। 

पार्टीको आन्तरिक चुनावमा नेता शाहको पहिलो हार भने होइन। यसअघि दुवै महाधिवेशनमा उनी कांग्रेसको केन्द्रीय सदस्यमा पराजित भएका थिए। गत १३ औं महाधिवेशनमा शाह देउवा पक्षबाटै लुम्बिनी प्रदेशको तर्फबाट केन्द्रीय सदस्यको उम्मेदवार बनेका थिए। तर देउवा सभापतिमा विजयी हुँदा पनि प्रदेशको भुगोलबाट शाह पराजित भए। खुमबहादुर खड्का समूहका देवेन्द्रराज कँडेल र पौडेल पक्षका दीपक गिरि विजयी भएका थिए। 

भरतकुमार शाह आफ्नो निर्वाचन क्षेत्रमा लोकप्रिय छन्। आफ्नो क्षेत्रमा कांग्रेसको क्षेत्रीय अधिवेशन पनि सर्वसम्मत गराए। प्रदेश क्षेत्रमध्ये एउटामा सर्वसम्मत गराए भने अर्कोमा शाह इतर प्यानल फराकिलो अन्तरले पराजित भएको थियो।

संगठनको क्षमता, गुटगत प्रवृति कम, सकेसम्म सबैलाई मिलाउन खोज्ने, आफ्ना क्षेत्रका जनतासँग राम्रै सम्पर्क शाहका राम्रा पक्ष हुन्। उनको भाषणबाट भने कार्यकर्ता खासै आकर्षित हुँदैनन्। यो शाहको कमजोरी हो। 

महाधिवेशन प्रतिनिधि भएको हिसाबले यस पटक पनि उनी केन्द्रीय सदस्यको उम्मेदवार हुने बाटो खुल्ला छ। तर शाह उम्मेदवार हुन्छन् या हुँदैनन्। भएमा जित्छन् या जित्दैनन् त्यो केही दिनपछि थाह हुने छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .