ad ad

राजनीति


कांग्रेस महाधिवेशन : देउवालाई ६ सय ७२ मतको अग्रता

संस्थापनसँग सिटौला मिल्दा पौडेललाई घाटा
कांग्रेस महाधिवेशन : देउवालाई ६ सय ७२ मतको अग्रता

केशव सावद
मंसिर २०, २०७८ सोमबार १४:३२, काठमाडौँ

प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा पार्टीको इतर समूहभन्दा बलियो देखिएका छन्। 

कांग्रेसले पहिलो पटक गरेको प्रदेश कार्यसमिति अधिवेशन परिणामले देउवालाई इतर समूहभन्दा बलियो देखाएको हो। 

सभापतिमा दोहोरिन नदिन प्रयासरत वरिष्ठ नेता रामचन्द्र पौडेलको समूहभन्दा देउवा ६ सय ७२ मतले अगाडि देखिएका छन्।

यद्यपि, यो अग्रतामा उनलाई पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहले पनि सघाएको छ। 

प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा सम्पन्न प्रदेश अधिवेशनको मत परिणामले देउवालाई ६ सय ७२ मतले अगाडि देखाएको छ। 

अधिवेशन सकिएका ६ वटा प्रदेशमा खसेको कूल मतमध्ये ४ हजार ५ सय ३ मत संस्थापन पक्षमा देखिएको छ। 

पौडेल समूहले प्रदेश २ बाहेकका प्रदेशहरूमा ३ हजार ६ सय ६१ मत पाएको छ। ६ वटै प्रदेशमा ८ हजार ३ सय १४ मत खसेको थियो।

सार्वजनिक मत परिणामअनुसार प्रदेश १ मा रहेका कुल १ हजार ८ सय ४ मतदातामध्ये १ हजार ७ सय ५२ जनाले मतदान गरेका थिए। जसमध्ये संस्थापन पक्षीय सभापतिका उम्मेदवार उद्धव थापाले ८ सय ४४ मत पाएका छन्। 

उनी पूर्वमहामन्त्री सिटौलाले नेतृत्व गर्दै आएको ‘तेस्रो धार’ निकट भए पनि प्रदेश १ मा संस्थापनसँगको तालमेलमा चुनावी प्रतिष्पर्धामा उत्रिएका थिए। 

संस्थापन समूहसँगको तालमेलमा चुनावी प्रतिष्पर्धामा उत्रिएका कारण थापाले पाएको मत देउवाको पक्षमा खसेको मान्न सकिन्छ। 

उनले पौडेल समूहका उम्मेदवार गुरुराज घिमिरेलाई मात्र २ मतले पराजित गरेका छन्। कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को नेतृत्व सम्हाल्दै पार्टीको केन्द्रीय सदस्यसमेत रहेका घिमिरेले ८ सय ४२ मत पाएका छन्। 

बागमती प्रदेशको मत परिणामअनुसार २ हजार १ सय ५० मतदातामध्ये २ हजार २५ जना मतदानमा सहभागी भएका थिए। जसमध्ये संस्थापन पक्षीय उम्मेदवार इन्द्रबहादुर बानियाँले १ हजार ८५ मत ल्याएका छन्। 

उनले प्रतिद्वन्द्वी नुवाकोट कांग्रेसका निवर्तमान सभापति जगदीश्वरनरसिंह केसीलाई १ सय ५८ मतले पराजित गरेका छन्। केसीले कूल खसेको मतमध्ये ९ सय २७ मत पाएका छन्। 

बागमतीमा सिटौला समूहबाट सभापतिमा उम्मेदवारी दिएका पूर्व रक्षामन्त्री भीमसेनदास प्रधान पहिलो चरणबाट बाहिरिएका थिए। 

विधानतः दोस्रो चरणको निर्वाचनमा प्रतिस्पर्धा हुन नपाउने भएपछि सहभागी उनले संस्थापन पक्षीय उम्मेदवार बानियाँलाई सघाएका थिए। 

पहिलो चरणको निर्वाचनमा प्रधानले १ सय ९७ मत पाएका थिए। यस्तै बानियाँले ९ सय ९१ र केसीले ८ सय ७२ मत ल्याएका थिए। पहिलो चरणको निर्वाचनमा बागमती प्रदेशमा २ हजार ७१ मत खसेको थियो।    

गण्डकी प्रदेशमा सम्पन्न प्रदेश अधिवेशनको मत परिणामअनुसार संस्थापन पक्षीय उम्मेदवार अर्जुन जोशीले ५ सय २८ पाएका छन्। उनी पौडेल पक्षीय उम्मेदवार शुक्रराज शर्मासँग ८४ मतले पराजित भएका छन्। 

गण्डकी प्रदेशमा रहेका १ हजार १ सय ६० मतदातामध्ये १ हजार १ सय ४६ जना मतदानमा सहभागी भएका थिए। जसमध्ये पौडेल समूहबाट प्रदेश सभापतिमा विजयी उम्मेदवार शर्माले ६ सय १२ मत पाएका थिए। 

वरिष्ठ नेता पौडेलको गृह प्रदेश गण्डकीमा मात्र ८४ मतले सभापतिका उम्मेदवार जोशी पराजित भए पनि संस्थापन पक्षले इतर समूहलाई ठूलो धक्का दिन सफल भएको रुपमा लिएको छ।  

सभापति देउवाका विश्वास पात्र मध्येमा पर्ने गृहमन्त्री बालकृष्ण खाँणको गृह प्रदेश लुम्बिनीमा भने परिणाम संस्थापन इतर अनुकुल आएको छ। लुम्बिनीमा संस्थापन पक्षीय सभापतिका ‘हेभी वेट’ उम्मेदवार भरतबहादुर शाह ८५ मतले पराजित भएका छन्। 

उनलाई पौडेल पक्षीय उम्मेदवार अमरसिंह पुनले प्रदेश कार्यसमितिको सभापतिमा रोकेका छन्। पुन रोल्पा कांग्रेसका निवर्तमान सभापति हुन्। उनले कुल खसेको मध्ये ८ सय ५२ मत पाएका छन्। 

लुम्बिनीमा १ हजार ६ सय ७० मध्ये १ ६ सय ३१ मत खसेको थियो। जसमध्ये संस्थापन पक्षीय उम्मेदवार शाहको पक्षमा ७ सय ६७ मत आएको छ। शाह प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिका सभापति हुन्। 

संस्थापनले कर्णालीमा ७ सय ५४ मध्ये ४ सय २२ मत पाएको छ। तुलनात्मक रुपमा कमजोर अनुमान गरिएको कर्णालीमा प्रदेश अधिवेशनले सभापति देउवाका लागि सुखद परिणाम देखाएको छ। 
कर्णालीमा संस्थापन पक्षीय उम्मेदवार ललितजंग शाही १ सय ५ मतको अन्तरमा विजयी भएका छन्। उनले पौडेल पक्षीय युवा नेता भूपेन्द्रजंग शाहीलाई पराजित गरेका हुन्। नेपाल तरुण दलका महासचिव शाहीले ३ सय १७ मत पाएका छन्।  

गृह प्रदेश सुदूरपश्चिममा प्रधानमन्त्री देउवा झण्डै–झण्डै दोब्बर मतले अगाडि देखिएका छन्। सुदूरपश्चिममा कुल खसेको १ हजार ३ मतमध्ये संस्थापन पक्षीय उम्मेदवार वीरबहादुर बलायरले ६ सय ८८ मत ल्याएका छन्। 

उनका प्रतिद्वन्द्वी नारायणदत्त मिश्रले २ सय ८० मत पाएका छन्। बलायर र मिश्रबीचको मतान्तर ४ सय ८ हो। पौडेल समूह अन्य प्रदेशको तुलनामा सुदूरपश्चिममा धेरै कमजोर देखिएको छ। 

प्रदेशका मतदाता

प्रदेशस्तरीय कार्यसमिति चयनका लागि सुरु प्रदेश अधिवेशनमा प्रदेश सभा निर्वाचन क्षेत्रबाट निर्वाचित प्रदेश अधिवेशन प्रतिनिधि, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनबाट निर्वाचित केन्द्रीय महाधिवेशन प्रतिनिधि, सम्बन्धित प्रदेशभित्रका निवर्तमान केन्द्रीय सभापति, उपसभापति, महामन्त्री, कोषाध्यक्ष, सहमहामन्त्री र केन्द्रीय कार्यसमितिका सदस्य प्रतिनिधि मानिन्छन्।

यस्तै प्रदेशभित्रका पार्टीको जिल्ला कार्यसमितिका सभापति, प्रदेशका भ्रातृ/शुभेच्छुक संघ–संस्थाका प्रमुखहरु पनि प्रदेश अधिवेशनमा प्रतिनिधिका रुपमा सहभागी हुन पाउने कांग्रेसको विधानले व्यवस्था गरेको छ। विधानअनुसार प्रदेश अधिवेशनमा प्रतिनिधिका रुपमा सहभागी हुने प्रदेशका भ्रातृ/शुभेच्छुक संघ–संस्थाका प्रमुखहरुलाई मतदानको अधिकार भए पनि उम्मेदवार बन्न पाउँदैनन्।

प्रदेश २ मा बाँकी

प्रदेश २ मा भने प्रदेश अधिवेशन स्थगित भएको छ। केही जिल्लामा प्रतिनिधि छनोटमा विवाद भएपछि प्रदेश अधिवेशन स्थगित गरिएको हो। प्रदेश २ को सर्लाही र महोत्तरीमा अधिवेशन हुन सकेको छैन। रौतहट निर्वाचन क्षेत्र नम्बर ४ मा पनि विवाद छ।

प्रदेश २ का ३२ मध्ये २६ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन भइसकेको छ। क्षेत्रीय अधिवेशनबाट क्षेत्रीय नेतृत्वसँगै महाधिवेशन प्रतिनिधिहरु चुनिसकिएका छन्। निर्वाचित क्षेत्रीय सभापतिमध्ये १६ देउवानिकट मानिन्छन्। 

अधिवेशन भएका २६ स्थानमा पौडेल समूहका ४ र उपसभापति विमलेन्द्र निधिनिकट २ जना देखिएका स्रोतको दाबी छ। 

स्रोतका अनुसार ४ जना तटस्थ छन्। १३ औँ महाधिवेशनबाट निर्वाचित प्रदेश २ का ८ जिल्ला सभापतिमध्ये ५ जना देउवा समूहमा, २ जना निधि समूहमा र १ जना तटस्थ छन्।

भूलसुधार : यसअघि यही समाचारको शीर्षक र समाचार विवरणमा मतान्तर ६७२ हुनुपर्ने अन्यथा भएकाले सच्याइएको छ। -सम्पादक

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .