राजनीति


विवादले प्रदेश २ मा कांग्रेसको अधिवेशन अनिश्चित

प्रदेश सभापतिमा तीनजना आकांक्षी
विवादले प्रदेश २ मा कांग्रेसको अधिवेशन अनिश्चित

फाइल तस्बिर


शैलेन्द्र महतो
मंसिर १९, २०७८ आइतबार १२:५१, जनकपुरधाम

पार्टीभित्रको विवादले प्रदेश २ मा नेपाली कांग्रेसको प्रदेश कार्य समिति अधिवेशन अन्योल बनेको छ। 

६ वटा प्रदेशमा कांग्रेसको अधिवेशन जारी छ। तर, प्रदेश २ मा ६ वटा निर्वाचन क्षेत्रमा अझै प्रतिनिधि छनोट हुन सकेको छैन। 

सर्लाहीको चारवटै निर्वाचन क्षेत्र लगायत १० वटा वडाको वडा अधिवेशन समेत विवादको कारण अन्योलमा छ। 

यस्तै बाराका प्रदेश निर्वाचन क्षेत्र २ (ख), सप्तरीको निर्वाचन क्षेत्र नम्बर ४, र रौतहटको निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधि छनोट हुन सकेको छैन। 

महोत्तरी क्षेत्र नं. ३ पनि विवाद छ। त्यहाँ एकपक्षले अधिवेशशन सम्पन्न भएको दावी गरेका छन्।

तर शनिबार एकपक्षले आफुलाई अपहरण गराएर प्रमाणपत्रमा हस्ताक्षर गराएको भन्दै धिरेन्द्र मण्डलले राजिनामा दिएका छन्।

त्यस क्षेत्रमा अधिवेशनको क्रममा गत बुधबार झडपसमेत भएको थियो।  ग्रेसका उपसभापति विमलेन्द्र निधि र बरिष्ठ नेता रामचन्द्र पौडेल प्यानलबीच भएको विवाद र अडानले झडप भएको थियो।

सर्लाहीमा संस्थापन पक्ष र संस्थापन इतर पक्षको व्यापक विवादले अधिवेशन स्थगित भएको छ। 

सबै क्षेत्रीय तथा बाँकी १० वटै वडाको अधिवेशन गर्ने विषयमा शुक्रबार नै दुवै पक्षकौ बैठक बसेको थियो।

 वार्तामार्फत विवाद समाधान गर्ने प्रयास गरेपनि बिनानिष्कर्ष बैठक सकिएकाले अधिवेशनको टुंगो लाग्न नसकेको कांग्रेस सर्लाहीका जिल्ला सभापति नागेन्द्र राय यादवले बताए। 

'आज पनि दुवै पक्षको बैठक बस्दै छ। सकेसम्म भोलिसम्म सबै अधिवेशन सम्पन्न गर्ने विषयमा छलफल वार्ता हुन्छ', उनले नेपालखबरसँग भने, 'छलफलबाट सहमति भएपछि भोलिसम्म अधिवेशन हुन्छ। भएन भने भन्न सकिन्न ' 

बाँकी ७ वटा निर्वाचन क्षेत्र मध्ये सप्तरी ४ मा आज अधिवेशन हुन लागेको काँग्रेस प्रदेश २ का अधिवेशन संयोजक रमेश रिजालले जानकारी दिए। 

'बाराका प्रदेश निर्वाचन क्षेत्र २ (ख), र रौतहटको निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधि छनोट भइसकेको जानकारीमा आएको छ', उनले नेपालखबरसँग भने। 

प्रदेश २ मा कांग्रेस अधिवेशनको उद्घाटन सत्र जनकपुरमा शुक्रबार सम्पन्न भइसकेको छ। शनिबार मनोनयन दर्ताको समय निर्धारण गरेपनि विवादको कारण स्थगित गरिएको छ। 

'सर्लाहीको सबै क्षेत्रमा आज अधिवेशन गर्ने तयारी छ। त्यहाँको अवस्था हेरेर भोलि मनोनयन दर्ता गर्ने हामी तयारी गर्दैछौं। ९० प्रतिशत आज त्यहाँ अधिवेशन सम्पन्न हुने सम्भावना छ ',उनले भने 'यदि भएन भने के गर्ने विषयमा हामी छलफल गर्छौं।'

प्रदेश सभापतिमा तीनजना आकांक्षी

प्रदेश २ मा कांग्रेस सभापतिका लागि हालसम्म ३ जनाले उम्मेदवारी घोषणा गरेका छन्। 

पार्टी सभापति शेरबहादुर देउवा पक्षीय रौतहटका जिल्ला सभापति कृष्ण यादव दाबेदार छन्। 

देउवा पक्षबाटै केन्द्रीय सभपतिका दावेदार उपसभापति विमलेन्द्र निधिनिकट प्रदेश २ कांग्रेस संसदीय दलका नेता एवम् भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव पनि मैदानमा छन्।

हालसम्म वरिष्ठ नेता रामचन्द्र पौडेल र शशांक कोइराला पक्षबाट कसैले उम्मेदवारी घोषणा गरेका छैनन्। 

अर्का नेता रञ्जीत कार्णले प्रदेश सभापतिमा उम्मेदवारी घोषणा गरेका छन्। कर्णले आफू स्वतन्त्रबाट उम्मेदवारी दिए पनि रामचन्द्र पौडेल र शशांक कोइराला समूहको समर्थन रहने बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .