राजनीति


कांग्रेसको प्रदेश अधिवेशन : प्रतिनिधि भन्छन्, ‘पार्टीले संघीयताको औचित्य पुष्टि गर्न सकोस्’

कांग्रेसको प्रदेश अधिवेशन : प्रतिनिधि भन्छन्, ‘पार्टीले संघीयताको औचित्य पुष्टि गर्न सकोस्’

भैरहवामा जारी कांग्रेसको लुम्बिनी प्रदेश अधिवेशन। तस्बिर : सुदीप भण्डारी/नेपालखबर


सुदीप भण्डारी
मंसिर १८, २०७८ शनिबार २१:३२, रुपन्देही

रुपन्देहीको सीमावर्ति शहर भैरहवा दुई केही दिनयता कांग्रेसमय भएको छ। बुद्ध चोकदेखि अधिवेशनस्थल गणतान्त्रिक सभा हलसम्म सडकको बीचमा चार तारा र रुख अंकित झण्डा सजाइएको छ। 

आकासेपुलमा समेत प्यानलगत उमेदवारका ब्यानर राखिएका छन्। अधिवेशन अन्तर्गत मतदानको दिन सडकका दुवैतर्फ पार्किङ गरेर राखिएका निजी सवारीसाधनका लामो लाइन छ। 

मतदानस्थल आसपासमा ब्यानर र पम्प्लेटले भित्ता ढाकिएका थिए। बिहानैदेखि कांग्रेस कार्यकर्ताहरु मतदानस्थल अगाडि झुम्मिएका थिए। 

कांग्रेस लुम्बिनीको नयाँ नेतृत्वको लागि विहान ११ बजेबाट मतदान सुरु भएको थियो। १२ जिल्लाबाट आएका महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधिहरू लाइनमा थिए। 

उमेद्वारहरु हात जोडेर मत माग्न व्यस्त थिए। मतदान गर्न जिल्ला जिल्लाबाट आएका प्रतिनिधिहरुले अब कांग्रेसले संघीयताको औचित्य पुष्टि गर्नुपर्ने बताए। 

दाङ क्षेत्र नम्बर १ क का क्षेत्रीय सभापति श्रीपत चौधरीले यो चुनावले कांग्रेसमा नयाँ ऊर्जा प्रदान गरेको बताए। ‘यो संघीय संरचनाको पहिलो अधिवेशन हो’, उनले भने, ‘हामी कार्यकर्तामा उत्साहित बनाएको छ। एउटा नयाँ ऊर्जा थपिएको छ।’

बर्दियाका महासमिति सदस्य जगबहादुर मल्लले ढिलै भए पनि कांग्रेसले संघीयताको अनुभूति दिएको भन्दै अबको नेतृत्वले सही तरिकाले काम गर्नुपर्ने उल्लेख गरे। 

‘कांग्रेसले अरु पार्टीभन्दा फरक तरिकाले संघीय अभ्यासमा जाँदैछ,’ उनले भने, ‘आउने दिनमा प्रदेश संरचनालाई त्यसैअनुसार कार्यान्वयन पनि गरेको देख्न पाइयोस्।’
कांग्रेसको १३ औं महाधिवेशन कार्यकालमा पार्टी अस्तव्यस्त थियो। भ्रातृ संस्थाहरु लथालिङ्ग छन्। 

स्थानीयदेखि संसदीय चुनावमा पनि कांग्रेस धेरै ठाउँमा पराजित भयो। बाँकेबाट कांग्रेसको प्रदेश नेतृत्व छान्न आएकी निर्मला रोकायाले अब पार्टीको केन्द्रीय समितिले काम गर्न नसके पनि प्रदेश नेतृत्वले सशक्त भूमिका निर्वाह गर्नुपर्ने धारणा राखिन्।

‘पहिलो पटक हामी प्रदेश अधिवेशनमा आएका छौं। अबको प्रदेश नेतृत्वले पार्टीका गतिविधिलाई जनताको तल्लो तहसम्म पुर्याउने भूमिका निर्वाह गर्नुपर्छ’, उनले भनिन् ‘पार्टीको केन्द्रीय नेतृत्व कमजोर भए पनि प्रदेश नेतृत्वले कांग्रेस बलियो छ भन्ने अनुभूति दिलाउनुपर्छ।’ रोकायाले आफूहरुले त्यसैलाई ख्याल गरेर मतदान गरेको बताइन्। 

नवलपरासी पश्चिमबाट अधिवेशनमा सहभागी हुन आएकी बिजुला श्रेष्ठले पनि अब प्रदेशको भूमिका शसक्त हुनुपर्ने बताइन्। 

‘पार्टीमा तल्लो तहदेखि केन्द्रसम्म नै सशक्त नेतृत्व आउनुपर्छ। युवाहरुलाई अवसर दियो भने मात्रै कांग्रेस आफ्नो लक्ष्यमा पुग्न सक्छ,’ उनले भनिन्, ‘पार्टीले पनि प्रदेशलाई धेरै भूमिका र अधिकार दिनुपर्छ।’

कांग्रेस लुम्बिनी सभापतिका लागि संघीय सांसद भरतकुमार शाह र रोल्पाका निवर्तमान सभापति अमर पुन प्यानलसहित प्रतिस्पर्धा गर्दै छन्। शाह संस्थापन र पुन इतर पक्षका हुन्। 

लुम्बिनी प्रदेशमा कांग्रेसका जम्मा १६७० मतदाता थिए। जसमा १६३१ मत खसेको छ। अब राति साढे १० बजेदेखि मतगणना सुरु हुने निर्वाचन समिति सदस्य जीवनारायण अधिकारीले बताएका छन्।

जम्मा १ हजार ६ सय ४८ मतदाता मध्ये अपरान्हसम्म १३ सय जति मत खसेको निर्वाचन समितिले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .