राजनीति


कांग्रेस अधिवेशनः लुम्बिनीमा एक दर्जन केन्द्रीय नेता सहभागी हुँदै

कांग्रेस अधिवेशनः लुम्बिनीमा एक दर्जन केन्द्रीय नेता सहभागी हुँदै

सुदीप भण्डारी
मंसिर १८, २०७८ शनिबार ९:४०, काठमाडौँ

नेपाली कांग्रेसको प्रदेश अधिवेशनअन्तर्गत आज मतदान हुँदै छ । भैरहवामा सुरु भएको लुम्बिनी प्रदेश अधिवेशनअन्तर्गत बिहान १० बजेबाट मतदान सुरु हुने प्रदेशका निर्वाचन प्रमुख डा. बुद्धबहादुर थापाले जानकारी दिए ।

क्षेत्रीय अधिवेशनबाट चुनिएका महाधिवेशन प्रतिनिधि, प्रदेश अधिवेशन प्रतिनिधि र प्रदेशका शुभेक्षुक संघ संस्थाका प्रमुखहरु गरी १ हजार ६४८ जनाले कांग्रेस लुम्बिनीको नेतृत्व छान्न मतदान गर्ने छन्। प्रदेशका १२ वटै जिल्लाबाट प्रतिनिधि मतदातामध्ये कतिपय उद्‍घाटनकै दिन आएका थिए भने कतिपय मतदानको अघिल्लो दिन शुक्रबार आएका थिए ।

केन्द्रीय सदस्य तथा वरिष्ठ नेताहरुलाई भैरहवाको रेडसन होटलमा राखिएको छ । अन्यलाई विभिन्न होटलमा आवास र खानाको व्यवस्था गरिएको छ । कांग्रेसका एक दर्जन जति केन्द्रीय सदस्यले पनि प्रदेश अधिवेशनमा मतदान गर्न पाउनेछन् ।

गृहमन्त्री समेत रहेका केन्द्रीय सदस्य बालकृष्ण खाँण प्रदेश अधिवेशन संयोजक नै हुन्। उनी पछिल्लो एक सातायता रुपन्देहीमा नै छन् ।

त्यस्तै अर्का केन्द्रीय सदस्य चन्द्र भण्डारी पनि प्रदेश अधिवेशनको क्रममा यतै छन् । कांग्रेसमा संस्थापन तर्फका उम्मेदवार छनोटदेखि चुनावी परिचालनको नेतृत्व खाँणले गरेका छन् । संस्थापन इतरको लागि भण्डारी खटिएका छन्। 

यी दुईबाहेक केन्द्रीय सदस्यहरु देवेन्द्रराज कँडेल, दीपक गिरी, पुष्पा भुसाल, मानबहादुर विश्वकर्मा, पुष्पा भुसाल, किशोरसिंह राठोर, पार्वती डिसी चौधरी, हरिप्रसाद नेपाल, अतहर कमाल मुसलमान, शिला शर्मा खड्का, मंगल प्रसाद थारु, योगेन्द्र चौधरी, अभिषेकप्रताप शाह लगायतका नेता लुम्बिनी प्रदेश अधिवेशनका मतदाता हुन्। 

कांग्रेस लुम्बिनीको पहिलो नेतृत्व हात पार्न संघीय सांसद भरतकुमार शाह र रोल्पा कांग्रेसका निवर्तमान सभापति अमर पुन आ–आफ्नो प्यानलसहित मैदानमा छन् । अधिवेशनबाट पदाधिकारी र सदस्य गरी ७९ जना निर्वाचित हुनेछन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .