ad ad

राजनीति


महाधिवेशनमा एमाले अध्यक्ष ओली : देउवाप्रति नरम, दाहाल-नेपालप्रति गरम

महाधिवेशनमा एमाले अध्यक्ष ओली : देउवाप्रति नरम, दाहाल-नेपालप्रति गरम

फाइल तस्बिर


ज्ञानेन्द्र खड्का
मंसिर १०, २०७८ शुक्रबार १८:३७, काठमाडौँ

पार्टी विभाजनपछि भएको दसौँ महाधिवेशन उद्घाटन समारोहलाई शुक्रबार नारायणी किनारमा सम्बोधन गर्दा एमाले अध्यक्ष केपी शर्मा ओली कांग्रेसप्रति नरम रुपमा प्रस्तुत भएका छन्। 

झण्डै एक घण्टा लामो सम्बोधनका क्रममा ओली आफ्नो सरकार ढाल्न निर्णायक भूमिका खेलेका पूर्व सहकर्मीहरू पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालप्रति रूखो शैलीमा प्रस्तुत भए।

ओलीले उद्घाटन समारोहमा उपस्थित कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाप्रति नरम रुपमा प्रस्तुत हुँदै बाध्यतामा परेर आफूलाई विस्थापित गर्दै उनी सरकारमा जानुपरेको संकेत गरे। 

सम्बोधनका क्रममा देउवाप्रति नरम देखिएका उनले पाँच दलीय गठबन्धनका नेताहरु दाहाल र नेपालमाथि पटक पटक आक्रमण गरे।

उनले देउवालाई फकाउँदै अहिलेको सरकारबारेमा धेरै टिप्पणी गर्न नचाहेको बताए। असार २८ मा सर्वोच्चको अदालतको फैसलाले सरकारबाट हटेपछि पहिलो पटक आफ्नै मञ्चमा देउवालाई स्वागत गरेका ओलीले सहकार्य हुन सक्ने पनि संकेत गरे।

देउवाबारे उनको सम्बोधनको सार भनेको उनी प्रचण्ड र माधवका कारण बाध्यतामा परे सरकारमा जानुपरेको भन्ने थियो। 

ओलीले आफ्नो सरकार ढाल्नेहरू (माधव-प्रचण्ड) अहिले प्रधानमन्त्री देउवाको खुट्टा समातेर बसेको बताए। 

'अहिलेको सरकारबारे म केही भन्दिनँ। प्रधानमन्त्रीलाई मञ्चमा राखेर मैले सरकारबारे बोल्नु उचित हुँदैन', उनले देउवातिर इसारा गर्दै भने, 'प्रधानमन्त्री त काम गर्न चाहनु हुन्छ जस्तो लाग्छ तर उहाँलाई काम गर्न अफ्ठ्यारो छ कि? आफैंले अतिथि बनाएर बोलाएपछि सरकारबारे यहाँभन्दा धेरै नबोलौँ।'

यति भन्दा भन्दै पनि ओलीले सम्बोधनका क्रममा अलिक अगाडि पुगेपछि देउवा नेतृत्वको सरकारलाई दक्षिणपन्थी भन्न भ्याए। 'कतिसम्म भने आफ्नै सरकार ढालेर, आफ्नै अध्यक्षविरुद्ध लागेकाहरू अहिले दक्षिणपन्थी सरकार बनाएर गएका छन्', उनले माधव-प्रचण्डलाई कटाक्ष गर्ने क्रममा देउवा नेतृत्वको सरकारबारे गरेको यो कडा टिप्पणी थियो। 

‌ओलीले आफ्नो खुट्टा तान्नेहरू अहिले देउवाको खुट्टा समातेर सरकारमा बसेको भन्दै माधव-प्रचण्डमाथि आक्रोश पोखिरहे। 'मलाई अफ्ठ्यारो पार्नेहरू, खुट्टा तान्नेहरू अहिले प्रधानमन्त्री देउवाजीको खुट्टा समातिरहेका छन्', ओलीले भने।

प्रचण्डमाथि चर्को आक्रोश 

आफ्नो गृहजिल्लामा भएको एमालेको महाधिवेशनमा सहभागी हुन प्रचण्डले इच्छा देखाएनन्। बरु आफू काभ्रेको महाभारत र तालढुंगातिर लागेर लीलामणि पोखरेललाई चितवन पठाए। 

ओलीसँग चिसिएको सम्बन्धलाई प्रचण्डले एमालेको मञ्चमा पुगेर सुधार्न चाहेनन्। बरु एमाले महाधिवेशनलाई बेवास्ता गर्दै आफ्नै पार्टीको गाउँपालिका अधिवेशन उद्घाटन गर्न हेलिकोप्टरमा काभ्रेतिर लागे।

एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले बिहीबार प्रचण्डले गृहजिल्लामा आएर एमालेलाई शुभेच्छा दिने विश्वास व्यक्त गरेका थिए। तर प्रचण्डले एमालेसँगको तुष कम गर्न नचाहेपछि ओलीले पनि महाधिवेशनको उद्घाटनमा उनीमाथि कयौँ पटक प्रहार गरिरहे।

ओलीले जनताका छोराछोरीलाई युद्धमा लगाएर आफ्नी छोरीलाई मन्त्री बनाएको भन्दै प्रचण्डमाथि उनकै जिल्लामा कडा प्रहार गरे। 

ओलीले प्रचण्डले शान्ति प्रक्रियालाई टुंग्याउन नचाहेको आरोप पनि लगाएका छन्। तर अहिले देउवा नेतृत्वको सरकारमा प्रचण्ड सत्ता साझेदार मात्रै हुन्। 

उनले आन्दोलनका क्रममा भएको घाइतेहरुको उपचार गर्न र समस्यामा परेकालाई सहयोग गर्न पनि दाहाललाई चुनौती दिए। 

ओलीले महाधिवेशन सकिनेबित्तिकै दशौँ हजार पूर्व लडाकुहरुलाई एमालेमा प्रवेश गराउने तयारी रहेको भनेर प्रचण्डलाई झस्काउन पनि भ्याए। 

ओलीले अहिलेसम्म पनि शान्ति प्रक्रिया नटुंगिएको बताएका छन्। उनले प्रचण्डको नेतृत्वमा पुरानै नाम लिएर एउटा चोइटो गएको पनि बताए। प्रचण्डकै कारण सत्यनिरुपण तथा बेपत्ता खोजबिनको काम अड्किएको जिकिर ओलीले गरे।

'अहिले पनि शान्ति प्रक्रिया किन टुंगो लगाउनुहुन्न उहाँ? किन घाइतेहरुको बन्दोबस्त गर्नुहुन्न? जेलमा रहेका झूटा मुद्दा किन खारेज गर्नुहुन्न ? किन घाइतेको उपचार हुँदैन? किन बहिर्गमित लडाकुहरुको व्यवस्थापन हुँदैन?', ओलीले आफ्नो महाधिवेशनमा नआइ काभ्रे पुगेका प्रचण्डलाई इंगित गर्दै भने, 'अनि मन परेका मान्छेलाई दश, दश हजार बाँड्ने रे! दश, दश हजार मन परेको मान्छेलाई बाँडेर यो समस्याको समाधान हुन्छ? घाइतेलाई उपचार गर्नुस्। समस्यामा परेकालाई हेर्नुस्।'

उनले सरकारमा भएकाले प्रचण्डले यी कुरा सम्बोधन गरेर देखाउन पनि चुनौती दिए। 

'हिजो सरकारले गर्न दिएन भनेर भाषण गर्नुहुन्थ्यो। तर, आज म प्रधानमन्त्री नभए पनि यो सरकार मेरो हातको कठपुतली हो म नचाइदिन्छु, मै शक्तिशाली, मै पावरफुल भन्दै हुनुहुन्छ। किन पावर देखाउनुहुन्न? पावर देखाउनुस्', उनले भने, 'समस्या समाधान गर्नुस् लडाकुका। म भन्न चाहान्छु, अब यो महाधिवेशन सकिनेबित्तिकै हामी पूर्व लडाकुको व्यवस्थापन गर्नेछौँ। पूर्व लडाकुहरु एमालेमा प्रवेश गर्दै हुनुहुन्छ।'

ओलीले प्रचण्डले युद्ध गराएका लडाकुलाई बेवास्ता गरेको भन्दै उनीहरुलाई फकाउने कोसिस गरे। तर त्यो कुराको प्रहार पनि उनै प्रचण्डमाथि थियो।

'हामी पूर्व लडाकुहरुको व्यवस्थापन गर्छौँ। अहिले मिल्ने भए यहाँ दशौँ हजार प्रवेश गर्न तयार थिए', उनले भने, 'जनयुद्ध हाँक्ने पूर्वलडाकु तर मेयर र मन्त्री त अरु नै बनेँ।'

उनले पूर्व लडाकुहरुको अधिकार एमालेले दिने बताउँदै पार्टीमा आउन पनि अपिल गरे।  

ओलीले आफूले निम्ता समेत नपठाएका माधव नेपाल र उनको पार्टीबारे खुलेर बोलेनन्। उनले प्रचण्डसँगै मुछेर माधव नेपाल पनि आफ्नो सरकार ढालेर कांग्रेसको सरकार बनाउन लागेको बताए। 

एमालेले माधव नेपाल र उनको पार्टीको हैसियत नै नभएको भन्दै महाधिवेशनका लागि निम्ता नै पठाएको थिएन। माओवादीबाट पनि प्रचण्ड महाधिवेशन छल्न काभ्रे पुगेका थिए।

माओवादीबाट नेता लीलामणि पोखरेलले सम्बोधन गरे। लिखित मन्तव्य दिएका उनले एक्ला एक्लै हिँडेर कहीँ नपुग्ने बताउँदै फेरि पनि एकताकै बाटो समात्नु जरुरी रहेको उल्लेख गरे। 

देउवाले भने : ओलीजी र म त 'जेल मेट'

ओलीभन्दा अघि शुभकामना सन्देश दिएका देउवाले पञ्चायतकालमा आफू र ओली सँगै जेलमा बसेको स्मरण गराउँदै सम्बन्ध सुधारको प्रयास गरे। 

उनले जेलमा भोगेका दुःख स्मरण गराउँदै आगामी दिनमा नेपालीलाई दुःख नपुगेस् भन्नेमा सचेत रहनुपर्ने बताएका छन्। 

‘एमालेका अध्यक्ष केपी शर्मा ओलीजी लगायत हामी जेलका साथीहरु हौं। जेल मेट पनि हौं। सबै कुरा हामीले भोगेका हौं,’ देउवाले भने, ‘हिजोका दिनमा हामीले भोगेका दुःखलाई ध्यानमा राखेर भोलिका दिनमा कुनै नेपालीलाई दुःख नपरोस् भन्नेमा सचेत हुनुपर्छ। मेरो नेतृत्वको सरकार यही मूल्य र मान्यतालाई संस्थागत गर्न कटिबद्ध छ।’

उनले एमालेलाई जिम्मेवार दलका रुपमा महत्वपूर्ण भूमिका निर्वाह गर्न आग्रह पनि गरेका छन्। संसदमा लामो समयदेखि जारी गतिरोधका सन्दर्भमा देउवाले एमालेलाई यसो भनेका हुन्। 

‘नयाँ संविधान मार्फत् लोकतन्त्रका मूल्य–मान्यतालाई संस्थागत गर्ने अभियानमा जिम्मेदार राजनीतिक दलको रुपमा महत्वपूर्ण भूमिका निर्वाह गर्न नेकपा एमालेलाई आग्रह चाहन्छु,’ प्रधानमन्त्री देउवाले भने।

उनले मत भिन्नता रहेकै कारण आफूहरु फरक–फरक दलमा आवद्ध रहेको भन्दै फरक दलमा भए पनि लोकतान्त्रिक मूल्य र मान्यतालाई जीवन पद्धति बनाउने लक्ष्य सबैको हुनुपर्ने बताए। 

‘हामीबीच मत भिन्नताहरु छन् त्यसैले हामी अलग अलग दलमा आवद्ध छौं,’ प्रधानमन्त्री देउवाले भने, ‘तर, लोकतान्त्रिक मूल्य र मान्यतालाई जीवन पद्धति बनाउन, कानुनी शासन, जनअधिकार स्थापना गर्न, व्यक्तिगत स्वतन्त्रताको रक्षा गर्न, राष्ट्रिय स्वाधीनता र राष्ट्रिय अखण्डता जोगाउँदै देशलाई समृद्ध बनाउन, समृद्धिको पहुँचमा हरेक नागरिकलाई पुर्याउने हामी सबै पार्टीको लक्ष्य हो र हुनुपर्दछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .