राजनीति


पौडेलको गृहप्रदेश गण्डकीमा आफ्नो प्रभाव बढाउँदै देउवा

पौडेलको गृहप्रदेश गण्डकीमा आफ्नो प्रभाव बढाउँदै देउवा

वाशुदेव मिश्र
मंसिर ८, २०७८ बुधबार ९:५, काठमाडौँ

गण्डकीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा कमजोर छन्। आफ्नो गृहप्रदेश गण्डकीमा वरिष्ठ नेता रामचन्द्र पौडेलको राम्रै प्रभाव छ। पोखरामा बसेर पढेका पौडेललाई यहाँका धेरै पुराना कांग्रेसीको नाम कण्ठ छ। 

तर उनको यो क्षेत्रमा बिस्तारै सभापति शेरबहादुर देउवाले प्रभाव बढाउन खोजेका छन्। स्याङ्जाका गोपालमान श्रेष्ठलाई उपसभापति बनाएर तत्कालीन नेपाली कांग्रेस प्रजातान्त्रिक गठन गर्दा उनलाई कास्कीबाट पुराना नेता खेमराज पौडेल, सोभियतबहादुर अधिकारी, वीरेन्द्रनारायण बिजुक्छे, प्रकाशबहादुर गुरुङलगायतका नेताले मात्रै साथ दिए। 

प्रजातान्त्रिक कांग्रेसको कास्कीमा उपस्थिति कमजोर भए पनि निष्ठावान् नेताहरूले पार्टीलाई जोगाइराखे। तर सिंगो कांग्रेसको सभापति बनेदेखि भने उनको प्रभाव यहाँ बढ्न थालेको छ। पर्वतमा उनको पक्षमा त्यहाँका शक्तिकेन्द्र अर्जुन जोशी छन् भने कास्कीको पछिल्ला महाधिवेशन प्रतिनिधिमा पनि उल्लेख्य संख्या देउवा पक्षधर छ। 

कास्की क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधि बनेका पूर्वसभामुख तारानाथ रानाभाटले १३ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवालाई सघाए। तर यसपटक उनी संस्थापन निकट नै देखिएका छन्। कांग्रेसमा फरक धार हुँ भन्न रुचाउने उनले महाधिवेशनमा कसलाई सघाउँछन् भन्ने स्पष्ट छैन, तर आफू केन्द्रीय पदाधिकारीको आकांक्षी रहेको खुलेरै बताइरहेका छन्। 

पूर्वसभापति सुशील कोइरालाभन्दा पहिल्यै महामन्त्री भइसकेका उनको आँखा उपसभापतिमा छ। उपसभापति पद जसले दिन्छ, उनी त्यही समूहमा लाग्नसक्ने सम्भावना उत्तिकै छ। प्रतिनिधि छनोटअघि कुन समूह भन्नेमा खासै नखुलेका नेताहरू यताउता हुने सम्भावनाकै बीच कास्की क्षेत्र नम्बर १ बाट देउवा पक्षधर किशोरदत्त बराल र होमबहादुर बस्याल‘विमल’ तथा सुरजजंग राणाले अधिवेशन चुनाव जितेका छन्। 

महिलातर्फ सरस्वती गुरुङ देउवानिकट हुन्, तर यो पटकको चुनावमा उनलाई वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पनि सघाएको थियो। तिलक रानाभाट, विकास गुरुङ पनि देउवा पक्षमा खुल्ने सम्भावना छ। बाँकी महाधिवेशन प्रतिनिधि भने रामचन्द्र पक्षधर नै छन्। पछिल्लो समय यहाँ रामचन्द्र समूहकै केही व्यक्ति शशांक कोइराला र  देउवाका केही समर्थक विमलेन्द्र निधितर्फ लागेका छन् भने कृष्ण सिटौलाको प्रभाव पनि यहाँ थोरै छ। 

क्षेत्र नम्बर २ बाट  देउवापक्षीय सोभियतबहादुर अधिकारी र वीरेन्द्रनारायण बिजुक्छेले चुनाव जितेका छन्। मन्त्रीद्वय विन्दुकुमार थापा र कुमार खड्का पनि महाधिवेशन प्रतिनिधिमा निर्वाचित भइसकेका छन्। तर उनीहरू चुनावसम्म कुन समूहमा लाग्छन् भन्ने टुंगो छैन।

युवा किरण केसीले पनि देउवालाई साथ दिने सम्भावना छ भने सुनयना पालिखे पनि देउवापक्षीय हुन्। मिलन थापाले पनि देउवालाई सघाउने निश्चित छ। 

क्षेत्र नम्बर ३ बाट महाधिवेशन प्रतिनिधिका उम्मेदवार बनेकाहरूको अन्तिम परिणाम यो खबर तयार पार्दासम्म सार्वजनिक भएको छैन। तर क्षेत्र नम्बरबाट चिनिएका खेमराज पौडेलसहितका नेताहरू देउवा समूहमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .