नेपाली कांग्रेस जिल्ला कार्य समिति भोजपुरको सभापतिमा विनोद बान्तावा निर्वाचित भएका छन्।
कांग्रेसको चौधौँ महाधिवेशन अन्तर्गत सोमबार भएको पहिलो चरणको मतदानमा सर्वाधिक मत ल्याएका बान्तावा सभापति बन्न सफल भएका हुन्।
सभापतिका लागि पुराना नेताहरु नन्दमणि राई र बालकृष्ण थापा पनि प्रतिस्पर्धी थिए। राई निवर्तमान सभापति हुन् भने थापा पूर्वसभापति हुन्।
पहिलो चरणको मतदानमा बाान्तावाले ४१५ मत, राईले ३९२ मत र थापाले ३६० मत ल्याउन सफल भएका थिए।
यस्तोमा पहिलो र दोस्रो मत ल्याएका राई र बान्तावाबीच प्रतिस्पर्धा हुने तयारी थियो। तर दोस्रो र तेस्रो मत ल्याएका नेताहरु बान्तावालाई सहमतिबाटै सभापति बनाउन तयार भएका हुन्।
यो सहमतिसँगै भोजपुर कांग्रेसमा लामो समयदेखि कायम राई र थापाको बर्चस्व पनि तोडिएको छ। वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका बान्तावा सभापति बनेसँगै भोजपुर कांग्रेसको नेतृत्व पनि नयाँ पुस्तामा पुगेको छ।
Shares

प्रतिक्रिया