राजनीति


कांग्रेस बलियो भएका जिल्लामै देउवा पक्ष कमजोर, फ्याकिँदै सहमतिको कार्ड

कांग्रेस बलियो भएका जिल्लामै देउवा पक्ष कमजोर, फ्याकिँदै सहमतिको कार्ड

फाइल फोटो


कृष्ण बहाब
मंसिर ६, २०७८ सोमबार १९:३५, इटहरी

नेपाली कांग्रेसको जारी १४ औँ महाधिवेशनमा धरान उपमहानगरपालिका पनि रहेको सुनसरी-१ का दुई प्रदेशसभा निर्वाचन क्षेत्रमा शेरबहादुर देउवा समूह क्लिन स्विप भयो। 

सुनसरी १ मासहित समग्र जिल्लाको प्रदेशसभा निर्वाचन क्षेत्रमा देउवा पक्ष अत्यन्त कमजोर देखिएको हो। त्यहीकारण देउवाले आइतवार सुनसरी पुगेर सर्वसम्मतिको विकल्पमा जान अपिल गरे। 

मोरङमा पनि संस्थापन समूह कमजोर देखिएको छ। जिल्लाका १२ प्रदेश निर्वाचन क्षेत्रमा देउवानिकट २ जना मात्रै प्रदेश निर्वाचन क्षेत्र सभापति बन्न सफल भए। सुनसरी र मोरङ मात्र नभइ झापामासमेत देउवा समूह कमजोर देखिएको छ।

ठूला र प्रभावशाली नेतासमेत रहेका जिल्लाका प्रदेश निर्वाचन क्षेत्रमा कांग्रेसको संस्थापन देउवा पक्ष कमजोर देखिएको हो।

आफ्नो समूह कमजोर देखिएपछि देउवा समूहले त्यसको प्रभाव प्रतिनिधिसभा क्षेत्रीय सभापति र महाधिवेशन प्रतिनिधिमा नदेखियोस् भनेर सहमतिको प्रयास सुरु गरेको छ।

पालिका अधिवेशनदेखि नै कमजोर देखिएको संस्थापन समूह प्रदेश निर्वाचनसम्म आइपुग्दा समेत झन् कमजोर बनेको छ। देउवा समूह अहिले त्यसको ड्यामेज कन्ट्रोल अभियानमा लागेको छ। 

कांग्रेस राजनीतिको प्रभावशाली तर आफू कमजोर भएका झापा, मोरङ, सुनसरी लगायत जिल्लाहरूमा देउवा समूहले सहमतिको प्रयास अगाडि बढाएको हो। 

आइतबार मात्रै सुनसरीको देवानगन्ज पुगेका प्रधानमन्त्री देउवाले कार्यकर्तालाई पार्टीको महाधिवेशनमा सकेसम्म सहमतिबाट नेतृत्व छान्न आग्रह गरेका थिए। 

देवानगन्ज गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा देउवाले पार्टीको आन्तरिक चुनावमा लडेर नेतृत्व छान्नुभन्दा सहमतिबाटै निकास निकाल्नु पर्ने बताए। 

प्रभावशाली नेतालाई तनाव!

देउवा समूहको पकड रहेको सुनसरीमा पछिल्लो समय इतर पक्ष हाबी भएको छ। देउवा पक्षका प्रभावशाली नेताहरू विजयकुमार गच्छदार, ज्ञानेन्द्र बहादुर कार्की, मीन विश्वकर्मा, सीताराम मेहता र राजीव ढुङ्गाना लगायतको गृहजिल्लामा संस्थापन समूह कमजोर देखिएको हो। 

देउवानिकट नेता विश्वकर्माको आफ्नै निर्वाचन क्षेत्र सुनसरी १ को दुवै प्रदेश क्षेत्रमा संस्थापन समूह क्लिन स्विप भएपछि त्यहाँ थप तनाव बढेको छ। हार्ने भएपछि सुनसरी १ मा त उम्मेदवार नै परिवर्तन गरेर चुनाव लड्न बाध्य भएको छ देउवा समूह।

रामचन्द्र पौडेल तथा शशांक-शेखर कोइरालानिकट तिलक राई देउवा समूहबाट क्षेत्रीय सभापतिमा उम्मेदवारी दिने पूर्व तयारीमा थिए। तर देउवा समूह कमजोर देखिएपछि लक्ष्मी खतिवडालाई अघि सारिएको छ। 

प्रदेशसभा निर्वाचनको मत परिणामपछि हार हुने आँकलनसहित धरानका मेयर समेत रहेका राईलाई 'ब्याक' गराएर देउवा समूहले युवा नेतृ लक्ष्मी खतिवडालाई सभापतिमा उठाउने घोषणा गरेको हो। 

शनिवार सम्पन्न प्रदेश निर्वाचन क्षेत्रको अधिवेशनमा पनि इतर पक्षको पकड बढेपछि क्षेत्रीय समिति र महाधिवेशन प्रतिनिधिमा सहमतिको प्रयास थालिएको हो। तर पनि सहमति हुन् सकेको छैन। 

महाधिवेशन प्रतिनिधि र क्षेत्रीय समितिको लागि सोमबार दुवै पक्षले उम्मेदवारी दर्ता गराएका छन्। गच्छदारको गृह क्षेत्र ३ नम्बर मा सहमतिको लागि भन्दै सोमबार हुने मनोनयनको समय थपेर मंगलबार तोकिएको छ

गच्छदारले यसअघि नै आफ्नो पकड कायमै राख्न सहमति गराउँदै आएका छन्। उनले  दुई सातायता कांग्रेस कार्यकर्तालाई घरैमा बोलाएर सहमतिमा आउन आग्रह गर्दै आएका छन्। 

उनकै आग्रह बमोजिम प्रदेश निर्वाचन क्षेत्र र प्रतिनिधिमा सहमति भएको छ। प्रतिनिधिसभामा क्षेत्रमा समेत सहमति गराउने पहलमा उनी लागिरहेका छन्। 

डा. शेखर कोइरालाको गृहजिल्ला मोरङमा पनि देउवा पक्षले सहमति प्रयास थालेको छ। मोरङमा प्रदेशका ४ वटा निर्वाचन क्षेत्रमा सहमति भए पनि प्रतिनिधिसभामा सहमतिको सम्भावना कमजोर हुँदै गएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .