नेपाली कांग्रेसको अधिवेशनअन्तर्गत रुपन्देही क्षेत्र नम्बर ३ (क) मा मतगणना क्रममा विवाद हुँदा झडप भएको छ। सिद्धार्थनगर नगरपालिका भैरहवामा मतगणना भइरहेका बेला अवस्थामा केही युवाले आक्रमण गर्दा एक उम्मेदवारसहित ५ जना घाइते भएका छन्।
मतगणनाका क्रममा रामचन्द्र पौडेलबाट प्यानल बनाएर उठेका पुरण श्रेष्ठले परिणाममा अग्रता लिँदै गरेको अवस्थामा शुक्रबार राति २ बजे आक्रमण भएको हो। झडपबाट क्षेत्रीय सचिवका उम्मेदवार शैलेश पन्त गम्भीर घाइते भएका छन्। अरू ४ जना सामान्य घाइते भएका छन्।
घाइते शैलेश पन्त
आफ्नो समूहले अग्रता लिइरहेको अवस्थामा आक्रमण भएको प्रदेश सभा क्षेत्रीय सभापतिका उमेदवार पुरण श्रेष्ठले बताए।
‘हामीले लिडिङ गरिरहेका थियौं। अर्को उमेदवारको एजेन्ट शौचालय जान्छु भनेर गायब भए। अर्को एजेन्ट पठाए, त्यो पनि भाग्यो’, उनले नेपालखबरसँग भने ‘काउन्टिङ भइरहँदा जेनेटर निभ्यो। त्यसपछि लाठी र मुक्काले हाने।’
तरुण दलका जिल्ला अध्यक्ष सोमबहादुर गुरुङको नेतृत्वमा आएको समूहले आक्रमण गरेको श्रेष्ठले बताए। घाइतेको नाकमा गम्भीर चोट लागेको छ। उपचारका लागि उनलाई बुटवल ल्याइएको छ।
झडपपछि मतगणना स्थगन गरिएको कांग्रेस रुपन्देहीका निर्वाचन अधिकृत भेषराज घिमिरेले जानकारी दिए।
‘केही आपसी विवाद भएछ। एक जना घाइते हुनुभएछ। अस्पतालमा हुनुहुन्छ’, उनले नेपालखबरसँगग भने, ‘अहिले मतगणना रोकेका छौं। यहाँका नेताहरूसँग छलफल गरेर मतगणना अघि बढाऊँ भनेको छु।’
Shares
प्रतिक्रिया