राजनीति


कांग्रेस अधिवेशन : अमरेश सिंह नेतृत्वको समूहबाट निर्वाचन अधिकृत कुटिए

कांग्रेस अधिवेशन : अमरेश सिंह नेतृत्वको समूहबाट निर्वाचन अधिकृत कुटिए

फाइल तस्बिर


नेपालखबर
मंसिर २, २०७८ बिहिबार १२:३०, काठमाडौँ

नेपाली कांग्रेसको संस्थापन इतर समूहले सर्लाही जिल्ला अधिवेशनका लागि खटिएका निर्वाचन अधिकृताथि कुटपिट गरेको छ। 

सांसद डा. अमरेशकुमार सिंहको नेतृत्वको इतर समूहको टोलीले पार्टी कार्यालयमा जिल्ला निर्वाचन अधिकृत दिवाकर पाण्डेयलाई कुटपिट गरेको हो। 

सांसद सिंह, पूर्वसभापति लक्ष्मण राय यादव र सचिव नवीन अधिकारीको टोलीले निर्वाचन अधिकृत पाण्डेयमाथि पार्टी कार्यालयमै कुटपिट गरेको सर्लाही कांग्रेसका सभापति नागेन्द्रकुमार रायले जानकारी दिए।
 
‘अधिवेशनका लागि मतदान अधिकृत खटाउन समझदारी गर्न पार्टी कार्यालयमा छलफल चलिरहेको थियो,’ उनले नेपालखबरसँग भने, ‘अमरेशकुमार सिंह, लक्ष्मण राय र नवीन अधिकारीसहितको एकडेढ सय जनाको समूह आएर निर्वाचन अधिकृतमाथि कुटपिट गरियो।’

जिल्ला सभापति रायले निर्वाचन अधिकृतमाथि नै कुटपिट हुँदा पनि स्थानीय प्रहरी–प्रशासन मुकदर्शक बनेको आरोप लगाए। 

‘प्रहरीले असक्षमता देखायो। कुनै सहयोग गर्न सकेन,’ उनले भने, ‘मन्त्री विरेन्द्रकुमार सिंह र निर्वाचन अधिकृत भित्रै हुनुहुन्छ। सीडीओ र एसपीले कुटपिट गर्नेलाई नसमात्न लगाए न हामीलाई सहयोग गरे।’

सभापति रायले कुटपिट गरिएका निर्वाचन अधिकृतको स्वास्थ्य अवस्थाका बारेमा भने विस्तृत जानकारी दिएनन्। 

पाण्डेय सर्लाही जानु अघि केन्द्रीय निर्वाचन समितिले महाधिवेशन प्रक्रिया सुरु गर्न खटाएका जिल्ला निर्वाचन अधिकृत विनोद कार्कीले राजीनामा दिएका थिए। 

कात्तिक २६ गते उनले राजीनामा दिएपछि सर्लाहीमा अधिवेशन गर्ने जिम्मेवारी पाण्डेलाई दिइएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad