राष्ट्रिय प्रजातन्त्र पार्टीले मंसिर १४ गते प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त स्थानमा हुने उपनिर्वाचनका लागि उम्मेद्वारहरुको टुंगो लगाएको छ। अध्यक्ष कमल थापाको अध्यक्षतामा आइतबार बसेको पार्टीको बैठकले उम्मेद्वार छनौट गरेको हो।
राप्रपाले प्रतिनिधिसभा अन्तर्गत कास्की क्षेत्र नं. २ मा पार्टीका केन्द्रीय सदस्य रोम बहादुर भण्डारीलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ। यसैगरी प्रदेशसभा अन्तर्गत दाङ ३ (ख) मा भूपाल रावत र वागलुङ २ (ख) मा गणेश कुँवरलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ। भक्तपुर १ (क) को हकमा भने यथाशिघ्र उम्मेद्वारको टुंगो लगाइने भएको छ।
यस्तै, रिक्त स्थानीय तहहरु अन्तर्गत नगरपालिकाको मेयर/उपमेयर पदको उम्मेद्वार छनोट गर्न सम्बन्धित प्रदेश कार्य समितिलाई र नगरपालिकाको वडा अध्यक्ष, गाउँपालिकाको अध्यक्ष÷उपाध्यक्ष र वडा अध्यक्षको उम्मेद्वार छनोट गर्न सम्बन्धित जिल्ला कार्य समितिलाई अधिकार प्रत्यायोजन गरिएको छ।
उम्मेद्वार छनौटसँगै राप्रपाले मनोनयन दर्ताका लागि पनि विभिन्न जिल्लामा केन्द्रीय नेताहरुलाइृ खटाएको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिएका छन्।
प्रतिक्रिया