ad ad

राजनीति


‘बदला लिन भीम रावलनिकट नेतालाई महाधिवेशन प्रतिनिधि बन्नबाट रोक्ने प्रयास’

‘बदला लिन भीम रावलनिकट नेतालाई महाधिवेशन प्रतिनिधि बन्नबाट रोक्ने प्रयास’

फाइल तस्बिर : एमाले उपाध्यक्ष भीम रावल र सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट। भट्ट माओवादी केन्द्रबाट आएका नेता हुन्। पार्टी एकीकरण पहिले रावल त्यहाँका एमाले इन्जार्च थिए। १० बुँदे सहमतिबमोजिम आफूलाई पहिलेको जिम्मेवारी नदिइएकामा रावल अध्यक्ष केपी शर्मा ओलीसँग रुष्ट छन्।


गोकुल जोशी
कात्तिक २७, २०७८ शनिबार १३:५७, काठमाडौँ

आफ्नो १०औं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्न कञ्चनपुरमा नेकपा एमालेलाई सकस भइरहेको छ। 

महाधिवेशन प्रतिनिधि बन्न चाहनेहरूको संख्या बढी भएपछि कञ्चनपुुरको एमाले नेतृत्वलाई सहमति जुटाउन कठिन भइरहेको हो।

तीनवटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा १४ जना महाधिवेशन प्रतिनिधि छान्न ४५ जनाको उम्मेदवारी परेको छ। 

महाधिवेशन प्रतिनिधिको दौडमा मेयर, उपमेयर, जिल्ला कमिटीका पदाधिकारीदेखि सांसदसम्म छन्। 

महाधिवेशन प्रतिनिधि छनोटका लागि शनिबार कञ्चनपुर जिल्ला पार्टी कार्यालयमा छलफल गर्दै एमाले नेताहरू।  

चार प्रतिनिधि छनोट हुने निर्वाचन क्षेत्र नम्बर ३ मा संघीय सांसद डा. दीपकप्रकाश भट्ट, जिल्ला समितिका सचिव तथा भीमदत्त नगरका मेयर सुरेन्द्र विष्ट, दोधाराचाँदनी नगरका उपमेयर चिनी गिरीलगायत १२ जनाको उम्मेदवारी परेको छ।

यस्तै ५ जना छानिनुपर्ने निर्वाचन क्षेत्र नं. २ बाट महाधिवेशन प्रतिनिधिका लागि संघीय सांसद नरबहादुर धामी, पूर्वसांसद कृपाराम राना, वेदकोट नगरका मेयर अशोककुमार चन्द, उपमेयर सुशीला सिंह, जिल्ला सहसचिव रणबहादुर महरा, युवा संघ नेपालका निवर्तमान अध्यक्ष वचनबहादुर सिंह र जिल्ला उपाध्यक्ष लक्ष्मी बुढालगायत १९ जनाको उम्मेदवारी परेको छ। 

पाँचै प्रतिनिधिका लागि निर्वाचन क्षेत्र नं. १ मा एमालेका जिल्ला अध्यक्ष वीरबहादुर थापा ‘पातल’, सहसचिव पल्लवराज भट्ट, बेलौरी नगरका उपमेयर चित्रादेवी चौधरी, बेलडाँडी गाउँपालिका उपाध्यक्ष कमला कार्की, भूमिसम्बन्धी समस्या समाधान आयोग (कञ्चनपुर) की पूर्वअध्यक्ष कमला बोहरालगायत १४ जनाले उम्मेदवारी दिएका छन्। 

महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी बढी हुँदा सर्वसम्मत जुटाउन कठिन भएको एमाले (कञ्चनपुर) का कार्यालय सचिव कर्णबहादुर चन्दले बताए। 

‘उम्मेदवारी बढी छ। सर्वसम्मत मिलाउन प्रयास भइरहेको छ’, उनले भने, ‘सर्वसम्मत हुने सम्भावना कम छ। त्यसो नभए निर्वाचन प्रक्रियाबाट प्रतिनिधि छानिन्छन्।’

तत्कालीन एमाले वरिष्ठ नेता माधवकुमार नेपालनिकट नेतालाई महाधिवेशन प्रतिनिधि बन्न रोक्न चलखेल भइरहेको एक नेताको दाबी छ। 

‘केपी ओलीविरुद्ध आन्दोलन गरेका र पार्टी विभाजनमा माधव नेपालको साथ छाडेर एमालेमै रहेका नेतालाई सिध्याउने खेल भइरहेको छ’, ती नेताले भने, ‘विरोध गरेको बदला लिन तत्कालीन अवस्थामा फरक विचार राखेका हामीलाई रोक्ने प्रयासको भइरहेको सुनेका छौं। पार्टी एकलौटी चलाउने गर्ने प्रयास भइरहेकाले यो उचित होइन। हामीलाई मान्य छैन।’ 

ती नेताका अनुसार १० बुँदे सहमतिपछि एमालेमै रहेका तत्कालीन नेपाल समूहका भीम रावलनिकट नेतालाई महाधिवेशनको प्रतिनिधि हुनबाट रोक्न एमाले सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्ट र अध्यक्ष कर्ण थापा सक्रिय भएका छन्।

सुदूरपश्चिममा १० बुँदे सहमति कार्यान्वयन नभएर असन्तुष्ट एमाले उपाध्यक्ष भीम रावल अधिवेशनमा पछिल्लो समय सक्रिय देखिएका छैनन् । यस्तोे अवस्थामा रावललाई कमजोर पार्न भट्ट र थापा रावलनिकट नेतालाई अगाडि बढ्नबाट रोकिरहेको ती नेताको दाबी छ।

तत्कालीन माधव समूहमा रहेका रावलनिकट संघीय सांसद डा. दीपक प्रकाश भट्टलगायत केही नेतालाई प्रतिनिधि बन्नबाट रोक्ने प्रयास भइरहेको छ। 

पार्टीका संगठन विभाग प्रमुखसमेत रहेका एमाले जिल्ला कमिटी सचिव सुरेन्द्र विष्टलाई शनिबार प्रदेश अध्यक्ष कर्ण थापाले धनगढी बोलाएर प्रतिनिधिका विषयमा छलफल गरेको स्रोत बताउँछ। 

‘अगाडि केपी ओलीको विरोध गरेकाले माननीय भट्टसहित केही साथीलाई रोक्ने कुरा भएको सुन्नमा आएको छ’, भट्टनिकट स्रोतले नेपालखबरसँगग भन्यो, ‘यो कदापि स्विकार्य हुँदैन। बदलाको भावनाले पार्टी चल्न सक्दैन।’

यो पनिएमालेले छानिसक्यो सर्वसम्मतीबाट १३७ जना महाधिवेशन प्रतिनिधि (नामावलीसहित)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .