राजनीति


२२ सिटमा उपनिर्वाचन : कांग्रेसलाई चिठ्ठा, एमालेको परीक्षा

२२ सिटमा उपनिर्वाचन : कांग्रेसलाई चिठ्ठा, एमालेको परीक्षा

केशव सावद
कात्तिक २४, २०७८ बुधबार २१:३६, काठमाडौँ

निर्वाचन आयोगले सरकारलाई स्थानीय तह र राष्ट्रिय सभा निर्वाचनको मिति तोक्न आग्रह गरेसँगै सत्तारुढ दलहरुले गठबन्धनलाई निरन्तरता दिने मनस्थिति बनाएका छन्। 

आयोगले निर्वाचन र उपनिर्वाचनको मिति तोक्न आग्रह गरेको दुई सातापछि कात्तिक २२ मा बसेको पाँच दलीय गठबन्धनले आगामी निर्वाचनसम्म गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ। प्रतिनिधि सभामा ४ र प्रदेश सभामा १८ सिट रिक्त छन्।

बैठकले राष्ट्रियसभा निर्वाचन र प्रतिनिधि सभा तथा प्रदेश सभाको उपनिर्वाचनका लागि तालमेलको सहजीकरणका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा ११ सदस्यीय राजनीतिक संयन्त्र नै गठन गरेको छ। 

संयन्त्रलाई चुनावी तालमेलसँगै सरकारका काम कारबाहीमा समन्वय गर्ने, गठबन्धनबीच अन्तर्विरोध भए निवारण गर्ने जिम्मेवारी समेत बैठकले दिएको छ।

तर, गठबन्धनका दलहरुबीच आगामी उपनिर्वाचनमा कसरी जाने भन्नेबारे छलफल भइसकेको छैन। प्रधानमन्त्री शेरबहादुर देउवानिकट एक केन्द्रीय सदस्यले आगामी उपनिर्वाचनमा गरिने तालमेलका बारेमा सत्तारुढ दलहरुबीच छलफल नै नभएको जानकारी दिए। 

यद्यपि, उनले राष्ट्रिय सभा निर्वाचनमा भने गठबन्धन दलहरुबीच तालमेल हुने बताए।

‘नेपाली कांग्रेसको सिंगल स्ट्रेन्थले राष्ट्रिय सभामा जित्ने अवस्था छैन,’ उनले नेपालखबरसँग भने, ‘दलीय भागबण्डा, गठबन्धनको मर्म र भावनाअनुसार तालमेल हुन्छ।’

सत्ता साझेदार राष्ट्रिय जनमोर्चाले पनि आगामी उपनिर्वाचनमा गरिने भागबण्डाका बारेमा सत्तारुढ दलहरुबीच छलफल नभएको जनाएको छ। 

‘समन्वय समिति संविधानको रक्षा र कार्यान्वयनका लागि हो। अहिले पनि प्रतिगमनको खतरा कायम हुनाले गठबन्धनको औचित्य छ। त्यसैलाई औपचारिकता दिन यो बनाइएको हो,’ कांग्रेसका एक नेताले भने, ‘यो गठबन्धन राष्ट्रिय सभाको चुनाव र उपचुनावसम्म लैजाने सझदारी भएको छ। कसरी जाने भन्नेबारे छलफल हुन बाँकी छ।’

सत्तारुढ दलहरुले गठबन्धन गर्ने भएपछि उपनिर्वाचनमा प्रमुख प्रतिपक्षी नेकपा एमालेको शक्ति जाँच हुने देखिन्छ। प्रतिनिधि सभाका चारवटै सिटमा यसअघि माओवादीबाट विजयी सांसदहरु अहिले एमालेमा छन्। 

उपनिर्वाचनमा एमालेले उनीहरुलाई नै प्रतिस्पर्धामा उतार्ने निश्चितप्रायः छ। गठबन्धन कायम रहे चारै निर्वाचन क्षेत्रमा एमाले हार्ने सम्भावना देखिन्छ।

आगामी उपनिर्वाचन कांग्रेसका लागि चिठ्ठा जस्तै देखिन्छ। उपनिर्वाचन हुने प्रतिनिधि सभा र प्रदेश सभामा कांग्रेसले एउटा सिट पनि गुमाउनुपर्ने देखिँदैन। किनकि उपनिर्वाचन हुन लागेका प्रतिनिधि सभाका ४ र प्रदेश सभाका २२ सिटमध्ये कांग्रेसले कुनै पनि सिट जितेको थिएन।

प्रतिनिधि सभा उपनिर्वाचन हुने स्थान
प्रतिनिधि सभा सदस्य चयनका लागि निर्वाचन आयोगले कैलाली–३, कैलाली–४, रौतहट–४ र अर्घाखाँचीमा उपनिर्वाचनको तयारी गरिरहेको छ।

यी चार वटै निर्वाचन क्षेत्रमा नेकपा माओवादी केन्द्रका नेताहरु विजयी भएका थिए। तर, सर्वोच्च अदालतले गत फागुन २३ गते तत्कालीन सत्तारुढ नेकपा नामक दल विघटन गरेर नेकपा एमाले र माओवादी ब्युँताइदिएपछि विजयी उम्मेदवारहरुले पुरानो दल त्यागेका थिए।  

माओवादी परित्याग गरी एमाले प्रवेश गर्नेमा कैलाली–३ का गौरीशंकर चौधरी, कैलाली–४ का लेखराज भट्ट, रौतहट–४ का प्रभु साह र अर्घाखाँचीका टोपबहादुर रायमाझी छन्। 

प्रदेश सभा उपनिर्वाचन हुने स्थान
आयोगले विभिन्न प्रदेशमा रिक्त रहेका प्रदेश सभा सदस्यहरुको पद पूर्तिका लागि पनि उपनिर्वाचनको तयारी गरिरहेको छ। आयोगका अनुसार प्रदेश सभामा १८ सिट रिक्त छन्। 
अछाम १ (ख) 
सल्यान १ (ख) 
डोल्पा १ (क) 
कालिकोट १ (क) 
दैलेख १ (ख) 
दैलेख १ (क) 
बाँके २ (क)
रुपन्देही ३ (क) 
दाङ २ (ख) 
कपिलवस्तु २ (क) 
गल्मी २ (ख)
रुपन्देही १ (ख) 
बाग्लुङ १ (ख) 
दोलखा १ (ख) 
बारा ३ (क) 
धनुषा १ (ख) 
रौतहट ३ (ख) 
ताप्लेजुङ (ख) 

एमालेले गुमाएका प्रदेश सभाका सिट
लुम्बिनीमा एमाले प्रदेश सभा सदस्य दृगनारायण पाण्डेयले वैशाख १९ र अमरबहादुर डाँगीले वैशाख २२ मा राजीनामा दिएपछि सो पद पनि रिक्त भयो।

कपिलवस्तु २ (क) बाट विजयी पाण्डेय र दाङ २ (ख) बाट विजयी डाँगी एमालेबाट राजीनामा दिएर नेपाली कांग्रेस प्रवेश गरेका थिए। उनीहरुले पार्टी परित्याग गरेपछि एमालेले कारबाही गरेको थियो। 

२०७८ वैशाख ३ गते एमालेका प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही र अमरबहादुर थापाले पार्टी ह्विपको उल्लंघन गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएपछि कारबाहीमा परे र पद गुमाए। 

ज्वाला सल्यान १ (ख), बुढा डोल्पा १ (क), शाही कालिकोट १ (क) र थापा दैलेख १ (ख) मा एमालेका तर्फबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए। 

वैशाख २८ गते बागमती प्रदेशमा एमाले प्रदेश सभा सदस्य पशुपति चौलागाईंको मृत्यु भएपछि पद रिक्त छ। उनी दोलखा १ (ख) बाट निर्वाचित प्रदेश सभा सदस्य थिए। 

माओवादीले गुमाएका प्रदेश सभा सिट
कर्णाली प्रदेशमा माओवादी केन्द्रका प्रदेश सभा सदस्य धर्मराज रेग्मी २०७७ चैत ३० गते एमाले प्रवेश गरेपछि सांसद पद गुमाए। रेग्मी दैलेख १ (क) मा माओवादीका तर्फबाट प्रदेश सभा सदस्यमा विजयी भएका थिए। 

लुम्बिनी प्रदेशमा माओवादी केन्द्रका प्रदेश सभा सदस्य दिनेश पन्थी र दधिराम न्यौपाने २०७७ चैत २४ गते एमाले प्रवेश गरेपछि पदमुक्त भएका थिए। पन्थी गुल्मी २ (ख) र न्यौपाने रुपन्देही १ (ख) बाट विजयी भएका थिए। 

२०७७ चैत ३० मा प्रदेश २ मा माओवादीबाट एमाले प्रवेश गर्ने रामचन्द्र मण्डल, कुन्दनप्रसाद कुसवाहा र ज्वालाकुमारी साह कारबाहीमा परेर निलम्बित भए।

ज्वालाकुमारी साह बारा ३ (क), रामचन्द्र मण्डल धनुषा १ (ख) र कुन्दनकुमार कुशवाह रौतहट ३ (ख) मा माओवादीका तर्फबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए। 

प्रदेश १ मा २०७७ चैत २६ गते माओवादीका सांसद टंक आङ्बुहाङ लिम्बु एमाले प्रवेश गरेपछि कारबाहीमा परी पद गुमाए। उनी ताप्लेजुङ (ख) बाट प्रदेश सभा सदस्यमा विजयी भएका थिए। 

वैशाख ६ गते माओवादीकै सुदूरपश्चिम सांसद झपटबहादुर बोहरा एमाले प्रवेश गरे र कारबाहीमा परी पद गुमाए। उनी अछाम १ (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए।   

जसपाले गुमाएका प्रदेश सभा सिट
जनता समाजवादी पार्टी (जसपा) ले प्रदेश सभा सदस्यहरु सन्तोषकुमार पाण्डेय र विजयबहादुर यादव कारबाही गरेपछि पद रिक्त छ।

बाँके २ (क) बाट यादव र रुपन्देही ३ (क) पाण्डेय जसपाका तर्फबाट लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए। 

पार्टी निर्णय र निर्देशनविपरीत लुम्बिनीमा एमालेका मुख्यमन्त्री शंकर पोखरेलको सरकारमा सहभागी भएको भन्दै जसपाले उनीहरुलाई कारबाही गरेको थियो। 

राजमोका प्रदेश सभा सदस्य पनि कारबाहीमा
यस्तै राष्ट्रिय जनमोर्चाबाट बाग्लुङ निर्वाचन क्षेत्र नम्बर १ (ख) बाट निर्वाचित प्रदेश सभा सदस्य कृष्ण थापा गत जेठमा कारबाहीमा परेपछि स्थान रिक्त छ। 

गण्डकी प्रदेशको मुख्यमन्त्री चयनका लागि भएको प्रक्रियामा पार्टी ह्वीप उल्लंघन गरेपछि जनमोर्चाले उनलाई कारबाही गरेको थियो।  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .