नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले न्यायपालिकामा देखिएको झगडाको समाधानका लागि आवश्यक परे कांग्रेस अघि सर्ने बताएका छन्।
कांग्रेस तारकेश्वर नगरसमितिले काठमाडौंको मनमैजुमा गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सिटौलाले न्यायालयको कचिंगल र झगडाले लोकतान्त्रिक व्यवस्था र पद्धतिमाथि प्रहार गर्ने चिन्ता बढेको बताए।
त्यस क्रममा उनले कांग्रेसले मुलुकमा देखिएका जुनसुकै समस्याको पनि समाधान दिन सक्ने भन्दै न्यायालयको झगडामा पनि आवश्यक परे समाधान दिन अघि बढ्ने बताए।
‘न्यायपालिकाको कचिंगल र झगडाले लोकतान्त्रिक व्यवस्था र पद्धतिमाथि नै प्रहार गर्ने चिन्ता बढेको छ, देश हाँक्ने कांग्रेसले नै हो', उनले भने, 'पद्धति ल्याएको पनि हामीले नै हो, देशमा जुनसुकै समस्यामा समाधान दिने हामी नै हो, परिआए न्यायालयको समस्याको समाधानमा कांग्रेस अघि सर्छ। कांग्रेससँग समग्र विषयमा समाधान दिन सक्ने ताकत छ।’
सिटौलाले संविधानले देशको विकासको मोडललाई परिवर्तन गरेको तर विगतमा कम्युनिष्ट पार्टीले सरकारको नेतृत्व गर्दा जनाताले केही उपलव्धि नपाएको भन्दै ‘संविधानले के दियो?’ भन्ने प्रश्न जनताबाट उठ्न थालेकोसमेत बताए।
उनले वर्तमान सरकारले संविधानले दिएका विषय अंगाल्न नसक्दा सरकार परिवर्तन भएको भन्दै वर्तमान सरकारको काम परिवर्तनलाई परिमार्जन गरेर जनतामुखि बनाउनेतर्फ केन्द्रीत हुनु पर्ने बताए।
पार्टी महाधिवेशनको मुखमा रहेको भन्दै सिटौलाले पार्टी महाधिवेशनमा स्वच्छ प्रतिस्पर्धामा उत्रिन नेताकार्यकर्ताहरुलाई आग्रह पनि गरे।
‘हामी महाधिवेशनको क्रममा छौं, पार्टी भित्र स्वच्छ प्रतिस्पर्धा गर्नुस्, कसैको दबाबमा नपर्नुस्, आफ्नो विवेक प्रयोग गर्नुस्, कसैसँग दब्नु पर्दैन, प्रतिस्पर्धाको परिणाम सबैले स्वीकार्नुस, त्यसो हुँदा पार्टी बलियो हुन्छ,’ सिटौलाले सम्बोधनका क्रममा भने।
कार्यक्रममा पूर्व रक्षामन्त्री तथा काठमाडौं क्षेत्र नम्बर ६ का सांसद भीमसेनदास प्रधानले निर्वाचनपछिको परिणाम स्वीकार नगर्दा विगतमा कांग्रेस कमजोर बनेको भन्दै आगामी महाधिवेशनपछि त्यस प्रवृत्तिको अन्त्य गरिनु पर्ने बताए।
Shares

प्रतिक्रिया