राजनीति


गजेन्द्र हमाल दाइ मन्त्री हुन लायक मान्छे होइनन् र?

प्रधानन्यायाधीशले सेटिङमा काम गरे : पौडेल
गजेन्द्र हमाल दाइ मन्त्री हुन लायक मान्छे होइनन् र?

केशव सावद
कात्तिक ८, २०७८ सोमबार १८:७, काठमाडौँ

लुम्बिनी प्रदेशका वन, वातावरण तथा भू–संरक्षण मन्त्री सुरेन्द्र हमालले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग असन्तुष्टि पोखेका छन्। 

कांग्रेस बाँकेका पूर्वसभापतिसमेत रहेका दाजु गजेन्द्र हमाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योगमन्त्री बनाएपछि पार्टीबाटै भएको विरोधप्रति प्रदेशमन्त्री हमालले असन्तुष्टि जनाएका हुन्। 

नेपालगञ्जस्थित होटल सिग्नेटमा सोमबार बिहान भएको भेटमा भू–संरक्षणमन्त्री हमालले वरिष्ठ नेता पौडेलसँग दाजु मन्त्री हुन लायक मान्छे हो कि होइन भनेर प्रश्न गरेको भेटमा सहभागी एक नेताले बताए। 

‘गजेन्द्र दाइ के मन्त्री हुन लायक मान्छे होइनन र?,’ हमालले पौडेलसँग गरेको  प्रश्न उद्धृत गर्दै पत्रकार वसन्तकुमार उपाध्यायले नेपालखबरसँग भने, ‘अरुले विरोध गर्नु त ठीकै हो, तर हमाल (भाइराजा दाजु) को परिवारको योगदान दाजुले त बुझिदिनु पर्ने हो।’

मन्त्री हमालले भनेका भाइराजा उनका माइला दाजु हुन्। रणेन्द्र हमाल (भाइराजा) ११ वर्षसम्म लगातार बाँके कांग्रेसका सभापति थिए। भाइराजाको २०४४ मा निधन भएको थियो।

भू–संरक्षणमन्त्री हमालको प्रश्नको जवाफमा नेता पौडेलले विरोध गर्नुको कारण सम्झाउने प्रयास गरिरहेका थिए। 

‘सुरेन्द्र कुरा त्यस्तो होइन, प्रधानन्यायाधीशले कतिपय काम केपी ओलीसँग पहिले पनि सेटिङबाट काम गरे। तिमी–हामीले विधि र प्रक्रियाको विरोध गर्ने पो हो,’ पौडेलको भनाइ उद्धृत गर्दै उपाध्यायले भने। 

उनका अनुसार मन्त्री हमालले प्रत्युत्तरमा नेता पौडेलले आफूलाई कम माया गर्ने गरेको गुनासो समेत गरे। ‘रामचन्द्र दाइले यसो भन्दै गर्दा मन्त्रीज्यूले मलाई कम माया गर्नुहुन्छ भन्ने लाग्छ भन्नुभयो,’ उपाध्यायले भने।  

बाँके कांग्रेसका पूर्वसभापति सनत रेग्मीसमेत उपस्थित छलफलमा नेता पौडेलले हमाललाई भू–संरक्षणमन्त्री बनाउन सघाएको समेत दाबी गरे। ‘सुरेन्द्र गलत सुन्यौ, मैले त तिमीलाई मन्त्री बनाउन पनि कुरा गरेको हुँ, नपत्याए वीरेन्द्र कनोडियासँग सोध्नू,’ नेता पौडेलले भने। 

जवाफमा मन्त्री हमालले मनमा लागेको हुन भन्न पाउने हक भएको नेता पौडेललाई स्मरण गराए। 

‘दाइ लागेको कुरा त भन्न पाउने हक छ नि हाम्रो,’ उनले भने। पौडेल बाढी प्रभावित सुदूरपश्चिम प्रदेशका कञ्चनपुर र कैलाली जिल्लाको निरीक्षणपछि नेपालगञ्ज पुगेका बेला उनीहरुबीच छलफल भएको हो। 

वरिष्ठ नेता पौडेल र भू–संरक्षणमन्त्री हमालबीचको छलफलमा बाँके कांग्रेसका पूर्वसभापति रेग्मीसँगै कांग्रेस बाँकेको पूर्वसचिव रवि हमाल पनि थिए। रवि मन्त्री हमालका भतिजा हुन्।   

प्रधानमन्त्री देउवाले हमालका दाइ गजेन्द्र हमाललाई गत असोज २२ गते उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनाएका थिए। उनलाई मन्त्री बनाइएपछि सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग जोडेर चौतर्फी आलोचना भएको थियो। 

आलोचना गर्नेमा कांग्रेस नेता पौडेलको समूह पनि थियो। प्रधानन्यायाधीशसँग जोडेर आलोचना भएपछि गजेन्द्र हमालले असोज २४ गते पदबाट राजीनामा दिएका थिए। उनी प्रधानन्यायाधीश जबराका जेठान हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .