राजनीति


आज महराविरुद्ध मुद्दा दर्ता भए पनि थुनछेक बहस हुँदैन : अदालत

आज महराविरुद्ध मुद्दा दर्ता भए पनि थुनछेक बहस हुँदैन : अदालत

नेपालखबर
कात्तिक १४, २०७६ बिहिबार ५:२०,

संसद् सचिवालयकै कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई आज (बिहीबार) अदालत उपस्थित गराउने तयारी छ।

काठमाडौं जिल्ला अदालतको आदेशअनुसार उनलाई आज (कात्तिक १४ गते) सरकारी वकिल कार्यालयमार्फत प्रहरीले अदालतमा उपस्थित गराउनुपर्ने हो।

तर अहिले बिहान पौने ११ बजेसम्म सरकारी वकिलको कार्यालयबाट महरालाई अदालत उपस्थित गराउनेबारे कुनै आदेश नआएको काठमाडौं महानगरीय प्रहरी परिसरका डीएसपी होबिन्द्र बोगटीले बताए।

‘आज उहाँलाई अदालत पेस गर्ने कुरा छ, हामीले त सरकारी वकिल कार्यालयमार्फत उहाँलाई अदालत लाने हो,’ नेपालखबरसँग डीएसपी बोगटीले भने, ‘तर अहिलेसम्म कुनै जानकारी आएको छैन, कतिबेला लगिन्छ हामीलाई थाहा हुँदैन।’

यता काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले पनि महराविरुद्ध मुद्दा दर्ताका लागि सरकारी वकिल बिहान साढे १० बजेसम्म नआएको बताएका छन्।

अब आए पनि मुद्दा दर्ता मात्रै हुने अरू प्रक्रिया आजलाई अघि बढाउन नसकिने उनको भनाइ छ।

‘आजलाई अदालतमा बहसका लागि मुद्दा गोला भइसकेको छ,’ नेपालखबरसँग उनले भने, ‘आजलाई अब मुद्दा दर्ता मात्रै हुन्छ, अरू केही हुँदैन।’

उनका अनुसार हरेक दिन अदालतमा बहसका लागि गोला प्रथाद्वारा मुद्दा छनोट गरिन्छ। जुन आजका लागि गरिसकिएको छ।

तसर्थ महराविरुद्धको मुद्दा आज दर्ता भए पनि बहसका लागि छनोट नहुने अदालतका सूचना अधिकारी कार्कीको भनाइ छ।

उनका अनुसार महरालाई अदालत उपस्थित गराई उनीविरुद्ध सरकारी वकिलले मुद्दा दर्ता गरेपछि अदालतका तर्फबाट पनि उनको बयान लिइन्छ र त्यसपछि मात्रै थुनछेक बहस सुरु हुन्छ।

यस्तो मुद्दामा २६ दिनभित्र अदालतमा मुद्दा दायर गरिसक्नुपर्ने हुन्छ। महरा पक्राउ परेको आज २५ दिन हुन्छ। गत असोज १९ गते प्रहरीले महरालाई बालुवाटारस्थित सरकारी निवासबाटै पक्राउ गरेको थियो।

मुलुकी अपराध संहिता, २०७४ को करणीसम्बन्धी कसुरअनुसार मुद्दा चलाउन प्रहरीले मागदाबी गरेको छ। जसमा १८ वर्षमाथि धेरै उमेरको महिलालाई बलात्कार प्रयास गरेमा साढे ३ देखि ५ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ।

साथै सार्वजनिक ओहोदाको व्यक्ति भएकाले उनीविरुद्ध त्यसमा थप ५० प्रतिशत सजाय मागदाबी लिन राय दिइएको काठमाडौं महानगरीय प्रहरी परिसरले जनाएको छ।

गत असोज १२ गते साँझ आफू बसेको डेरामै आएर आफूलाई बलात्कार प्रयास गरेको भन्दै असोज १८ गते पीडित रोशनी शाहीले महराविरुद्ध उजुरी दिएकी थिइन्।

त्यसपछि १३ असोजमा प्रहरीले महरालाई पक्राउ गरेको थियो। महरा बिरामी भएपछि उनलाई असोज २३ देखि नर्भिक अस्पतालमा राखिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad