ग्राण्डी अस्पतालमा प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाको आकस्मिक रुपमा डायलासिस गरिएको छ।
बुधबार बिहान नियमित स्वाथ्य परीक्षणका लागि भन्दै ग्राण्डी अस्पताल पुर्याइएका प्रधानमन्त्री ओलीको साँझ आकस्मिक रुपमा डायलासिस गरिएको उपचार टोलीका एक चिकित्सकले बताएका छन्।
‘प्रधानमन्त्रीको स्वास्थ्य जाँच गर्दा फोक्सोमा पानी जमेको र पिसाव फेर्न अप्ठेरो भएको पाइएको थियो’, ती चिकित्सकले भने, ‘रिपोर्टहरू अलि ढिलो आए, त्यसपछि तत्कालै मिर्गौलाको डायलासिस गरिएको छ।’
बुधबार दिनभर प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे औपचारिक जानकारी नदिइएपनि साँझ सामान्य रहेको र चाँडै डिस्चार्ज हुने बताइएको थियो।
साँझ प्रेस विज्ञप्ती जारी गरी प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षण गर्दै आएकी डा. दिव्या सिंह शाह र ग्राण्डी अस्पतालका मेडिकल निर्देशक डा. चक्रराज पाण्डेले ‘प्रधानमन्त्रीको स्वास्थ्य सामान्य रहेको र आवश्यक परीक्षणहरू पूरा भएपछि आज राती वा भोलीसम्म डिस्चार्ज हुने’ बताएका थिए।
प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थितिबारे यथार्थ जानकारी दिने भन्दा पनि सचिवालयको सल्लाहअनुसार नै ग्राण्डीका चिकित्सकहरूको विज्ञप्ती आएको बुझिएको छ। सचिवालयका सदस्यहरू प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे चिकित्सकहरूले नै ब्रिफिङ गर्ने भन्दै पन्छिन खोजेका थिए।
चिकित्सकहरूले ब्रिफिङ गर्ने भनेपछि पत्रकारहरू ग्राण्डी अस्पताल पुगेका थिए। तर लामो समय कुराएपछि डा. चक्रराज पाण्डेले विज्ञप्ती मात्रै बाँडे, ब्रिफिङ गर्न दुबै चिकित्सक उपस्थित भएनन्।
‘स्वास्थ्य अवस्थाबारे अस्पतालले किन यथार्थ बताउन चाहेन मलाई थाहा भएन, तर प्रधानमन्त्रीको मिर्गौलाको डायलासिस गरिएको सत्य हो, यो अब लुकाएर लुक्दैन’, नेपालखबरको सम्पर्कमा रहेका चिकित्सक टोलीका सदस्यले भने, ‘मलाई थाहा भएसम्म १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गर्नुअघि पहिलो पटक उहाँको मिर्गौलाको डायलासिस गरिएको थियो, त्यसपछि आज नै गरिएको हो।’
डायलासिस गर्ने क्रममा प्रधानमन्त्री ओली अझै केही दिन अस्पतालमा रहनु पर्ने बताउँदै उनले भने, ‘मिर्गौलाले राम्रोसँग काम गर्न छाडेपछि डायलासिस गर्ने गरिन्छ र फेरि काम गर्न सक्ने बनाइन्छ। मिर्गौलाले पूरै काम गर्न छाडेको अवस्थामा कि त ट्रान्सप्लान्ट गर्नुपर्छ नभए डायलासिस जारी राख्नुपर्छ।’
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री ओलीको १२ वर्षअघि दिल्लीमा मिर्गौला प्रत्यारोपण गरिएको थियो।
त्यसयता नियमित स्वास्थ्य परीक्षणमा रहेका ओलीको पछिल्लो पटक प्रधानमन्त्री भएपछि दुई पटक सिंगापुरमा उपचार भएको छ। पहिलो पटक साउन र दोस्रो पटक भदौमा सिंगापुर गएर ओलीले उपचार गराएका थिए। त्यसअघि र पछि सैनिक अस्पताल छाउनी, त्रिवि शिक्षण अस्पतालमा उनको स्वास्थ्य परीक्षण हुँदै आएको छ।
मंगलबार भाइटीका लगाउँदासम्म सामान्य अवस्थामा देखिएका प्रधानमन्त्री ओलीलाई बुधबार बिहान आकस्मिक रुपमा ग्राण्डी अस्पताल लगिएको थियो।
यो पनिः
प्रधानमन्त्रीको फोक्सो र पिसावमा समस्या, अस्पतालमै राखेर थप परीक्षण
Shares

प्रतिक्रिया