नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले महाकाली नदीको बाढीले क्षति पु¥याएको क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्।
महाकाली नदीमा पानीको बहाब बढेपछि डुबानमा परेका भीमदत्त नगरपालिका–१२ मा पर्ने भुजेला, ऐरी, महाकाली पक्की पुलको पहुँच मार्गलगायत क्षेत्रको उनले निरीक्षण गरेका हुन्।
निरीक्षणका क्रममा नेता साउदले पीडितलाई राहत, क्षतिपूर्ति दिलाउन सरकारसँग पहल गर्ने बताए। उनले स्थानीय, प्रदेश र केन्द्र सरकारसँगै प्रशासन र सरोकारवालाहरुलाई तत्काल उद्धार र राहतमा खटिनसमेत आग्रह गरेका छन्।
‘बेमौसमी वर्षाका कारण आएको बाढीले किसानहरुको धानबाली नष्ट गरेको छ । एकातर्फ जीवन कसरी जोगाउने भन्ने चिन्ता बढेको छ भने अर्कोतर्फ जीवन जोगाउन सफल भएमा वर्षभरी के खाने भन्ने चिन्ता बढेको छ’ नेता साउदले भने, ‘तत्काल सरकारले यसको लगत संकलन गर्दै क्षतिपूर्ति दिनुपर्छ। यसका लागि म पहल गर्छु।’
आफू सिँचाईमन्त्री भएको समयमा भुजेलाको बस्ती जोगाउनका लागि बनाइएको पाँच किलोमिटरको तटबन्धको पनि उनले निरीक्षण गरेका छन्। त्यस क्रममा कांग्रेस नेता साउदले बाढी पीडीतसँग साक्षात्कार पनि गरेका थिए।
अबिरल वर्षापछि महाकाली नदीमा आएको बाढीले तटीय क्षेत्र अन्तर्गत पर्ने भीमदत्त नगरपालिका र दोधारा–चाँदनी नगरपालिकाका बस्ती डुबानमा परेका छन्। बाढीले महाकाली नदीमाथि निर्माणाधीन चार लेनको पक्की पुलको पहुँच मार्ग कटान गरेको छ।
महाकाली नदीमा पछिल्लो सात दशकयताकै सबैभन्दा बढी पानीको बहाव आएको छ। महाकाली नदीमा मंगलबार पानीको बहाव पाँच लाख ३१ हजार क्युसेक पुगेको छ।
Shares

प्रतिक्रिया