सरकारले राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेललाई बर्खास्त गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले ढुंगेललाई बर्खास्त गरेको एक मन्त्रीले जानकारी दिए।
यस्तै, युवा तथा साना व्यवसाय स्वरोजगार कोषका कार्यकारी उपाध्यक्षमा डा. कल्याण रोकालाई पनि मन्त्रिपरिषदले बर्खास्त गरेको छ।
केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले नियुक्त गरेका दुवैजनालाई सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले हटाउने निर्णय गरेको ती मन्त्रीले नेपालखबरलाई जानकारी दिए।
२०७७ जेष्ठमा राष्ट्रिय युवा परिषदको कार्यकारी उपाध्यक्षमा ओली सरकारले पुन: ढुंगेललाई नियुक्त गरेको थियो। यस्तै २०७७ भदौमा युवा तथा साना ब्यवसाय स्वरोजगार कोषको कार्यकारी उपाध्यक्षमा रोकालाई नियुक्ति दिएको थियो।
'उहाँहरुको काम चित्तबुझ्दो नभएपछि सरकारले हटाउने निर्णय गरेको हो,' ती मन्त्रीले नेपालखबरसँग भने।
उनीहरुबाहेक सरकारले राष्ट्रिय खेलकुद परिषद्(राखेप)का सदस्यसचिव रमेशकुमार सिलवाललाई बर्खास्त गरेको छ।
तत्कालिन प्रधानमन्त्री ओलीका विश्वासपात्र सिलवाल २०७६ असारमा पहिलोपल्ट राखेप सदस्यसचिव नियुक्त थिए। तर राष्ट्रिय खेलकुद ऐन २०७७ लागु भएपछि एक वर्षमै उनी पदमुक्त भए।
लगत्तै नयाँ ऐन अनुसार भएको पदपूर्तिमा पुन: सिलवाललाई ओली नेतृत्वको सरकारले २०७७ साउनमा दोस्रोपल्ट सदस्यसचिवमा नियुक्त गरेको थियो।
Shares

प्रतिक्रिया