प्रदेश २ को सत्तारुढ दल जनता समाजवादी पार्टी प्रदेश समिति आइतबार पुनर्गठन हुँदैछ। पूर्व संघीय समाजवादी फोरम नेपाल र पूर्व राष्ट्रिय जनता पार्टी नेपालबीच भएको एकीकरण अन्तर्गत समायोजन प्रक्रियालाई पूर्णता दिने गरी जसपाको कमिटी पुनर्गठन गर्न लागिएको हो।
कमिटी पुनर्गठनका लागि केन्द्रीय अध्यक्ष उपेन्द्र यादव अहिले जनकपुरमा छन्।
पार्टी पुनर्गठनको लागि जसपा प्रदेश २ का मधेश कमिटी अध्यक्ष विजय यादवले राजीनामा दिएका छन्। उनले पार्टीभित्र एक व्यक्ति एक पदको अवधारणा अन्तर्गत आइतबार जनकपुरमा पार्टी केन्द्रीय अध्यक्ष उपेन्द्र यादवलाई राजीनामा बुझाएको स्रोतले जनाएको छ।
प्रदेश कमिटी अध्यक्षको पदबाट राजीनामा दिएका यादव प्रदेश २ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री समेत छन्। उनी जसपाका केन्द्रीय कार्यकारिणी सदस्य रहेकाले अध्यक्ष पदबाट राजीनामा दिएको स्रोतले बताएको छ।
यादव पूर्व फोरमकै प्रदेश अधिवेशनबाट प्रदेश अध्यक्ष बनेका थिए। उनले जसपाको प्रदेश कमिटीको जिम्मेवारी सम्हाल्दै आएका थिए।
झण्डै दुई साता अघि जनकपुरमा भएको जसपा प्रदेश २ कमिटीको बैठकले एक व्यक्ति एक पदको नीति तथा समायोजन प्रक्रियालाई पूर्णता दिने निर्णय गरेको थियो। सोही निर्णयलाई कार्यान्वयन गर्न कार्यकारिणी सदस्य पदमै रहने गरी प्रदेश कमिटी अध्यक्ष पदबाट राजीनामा दिएका हुन्। उनी पार्टीका आर्थिक विभाग प्रमुख समेत छन्।
यस्तै पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै प्रदेश कमिटीका मुख्य सचिव शम्भु झाले पदसहित पार्टीबाट समेत राजीनामा दिएका छन्।
पूर्व राजपाबाट आएकाहरुलाई समायोजन गर्दै केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले आज साँझसम्म प्रदेश कमिटीको घोषणा गर्ने बुझिएको छ।
Shares
प्रतिक्रिया