पाँच दलीय गठबन्धनमा मन्त्रालय बाँडफाँटलाई लिएर सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) ले असन्तुष्टि जनाएको छ।
गठबन्धनबाट आफ्नो भागमा चारवटा मात्रै मन्त्रालय छुट्याइएपछि समाजवादीले असन्तुष्टि जनाएको हो।
त्यहीकारण समाजवादीले सरकारमा पठाउने अनुहारबारे अहिलेसम्म कुनै निर्णय गरिसकेको छैन।
बैठकले मन्त्रीको टुंगो लगाउने जिम्मेवारी अध्यक्ष माधवकुमार नेपाललाई दिएको छ।
एमाले नेता भानुभक्त जोशीलाई पार्टीमा स्वागत गरेसँगै सुरु भएको बैठकमा केही बेर बसेपछि अध्यक्ष नेपाल बाहिरिएका छन्। उनी अहिले बालुवाटार पुगेका छन्।
नेपाल बाहिरिएपछि पार्टी बैठक फेरि आजै बस्ने भएको समाजवादीका सांसद एवम् स्थायी कमिटी सदस्य विरोध खतिवडाले बताए।
समाजवादीको भाग ५ वटा मन्त्री र एकवटा राज्यमन्त्री परेको छ। तर पार्टीमा २० जना बढी आकांक्षी भएपछि मन्त्री बनाउने अनुहार छान्न कठिन भएको छ।
बिहीबार बसिरहेको स्थायी कमिटी बैठकका क्रममा नेता खतिवडाले पत्रकारहरुसँग कुरा गर्दै ठूलो असन्तुष्टि नरहे पनि केही बढी मन्त्रालयको अपेक्षा गरेको बताए।
'हामी हाम्रो भागमा परेका मन्त्रालयमा पठाउने अनुहारको आजै टुंगो लगाउँछौँ। २ बजेपछिको बैठकले टुंगो लगाउँछ', उनले भने, 'यसअघि नै हाम्रा नाम तय भएका छन्। केही परिमार्जनसहित टुंगो लगाउँछौँ।'
खतिवडाले मन्त्रालय भागवगण्डालाई लिएर आफ्नो पार्टी र सत्ता गठबन्धनमा ठूलो विवाद नभएको तर्क गरे। 'हामी नयाँ पार्टी हौँ। त्यसैले अलिक बढी मन्त्रालय भए हुन्थ्यो भन्ने कुरा बैठकमा उठेको छ', उनले भने,'तर यसबारेमा कुरा भइरहेको छ। सरकारमा नजाने भन्ने प्रश्न छैन।'
समाजवादीले अझै केही मन्त्रालय आफ्नो पक्षमा थप्ने लविङ गरिरहेको छ। 'अझै केही मन्त्रालय थप्न पाए हुन्थ्यो भन्ने हो। हामीलाई छुट्याएकाभन्दा अरू र राम्रा मन्त्रालय भए राम्रो हुन्थ्यो', उनले भने, 'तर पनि ठूलो असन्तुष्टि छैन। हामी सरकारमा त जान्छौँ।'
उनले यो बैठकबाट केन्द्रीय कमिटी संख्या टुंगिने बताए। त्यसैगरी ७५ जिल्लाकै इन्चार्ज पनि टुंग्याउने एजेण्डा रहेको खतिवडाले बताएका छन्।
Shares

प्रतिक्रिया