इस्लामिक स्टेट इराक र सिरिया(आईएसआईएस)का प्रमुख अबु बकर अल बग्दादी अमेरिकी सैनिक कारबाहीमा मारिएको दाबी गरिएको छ।
फक्स न्युजले अमेरिकी सेनाका उच्च स्रोत उद्धृत गर्दै दिएको समाचारमा सिरियाको इब्लिदमा आईएसआईएसका ठूलो नेताविरुद्ध कारबाही गरिएको र त्यो प्रमुख बग्दादी हुन सक्ने उल्लेख छ।
अमेरिकाकाे अर्को सञ्चारमाध्यम न्युजविकले अमेरिका राष्ट्रपति ट्रम्पले कारबाहीको एक साताअघि बग्दादीविरुद्ध गोप्य कारबाहीका लागि अनुमति दिएको जनाएको छ। अमेरिकी सेनाले सिरियामा बग्दादीलाई लक्ष्य गरी आक्रमण गरेको समाचारमा उल्लेख छ।
अमेरिकी राष्ट्रपति ट्रम्पले पनि ट्विट गर्दै ठूलो समाचारको चाँडै घोषणा हुने बताएका छन्।
न्युजविकका अनुसार सिरियाका उत्तर-पश्चिमस्थित इब्लिद राज्यको आकाशमा शनिबार अमेरिकी हेलिकप्टरहरू देखिएका थिए।
इराकमा अमेरिकाले सद्दाम हुसेनविरुद्ध आक्रमण गरेपछि कट्टर रूढिवादी धर्मगुरु बग्दादी सक्रिय भएका थिए। अमेरिकी सेनाले पक्राउ गरेका बग्दादी पछि अल कायदा नेताका रूपमा उदाएका थिए।
इराकबाट अमेरिकी सैनिक फर्किएपछि उनले इस्लामिक स्टेट स्थापना गरेका थिए। सिरियामा गृहयुद्ध सुरु भएपछि राष्ट्रपति बसार अल असदलाई अपदस्थ गरेर उनी धार्मिक राज्य स्थापना गर्न चाहन्थे।
विभिन्न देशमा गरेका आक्रमण तथा आफूले नियन्त्रण गरेका क्षेत्रमा गरेका अत्याचारी कारबाहीका कारण उनी विश्वभर चर्चामा थिए। इस्लामिक लडाकुहरूका लागि उनी आकषर्णको केन्द्र थिए।

प्रतिक्रिया