राजनीति


देउवामा अधिनायकवादी प्रवृत्ति हावी भयाे : पाैडेल

देउवामा अधिनायकवादी प्रवृत्ति हावी भयाे : पाैडेल

नेपालखबर
असोज १५, २०७८ शुक्रबार १६:५०, काठमाडौँ

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवामा अधिनायकवादी प्रवृत्ति हावी हुँदै गएको आरोप लगाएका छन्। 

गृहजिल्ला तनहुँको आँबुखैरेनीमा शुक्रवार आयोजित नवनिर्वाचित गाउँ कार्यसमितिका पदाधिकारीको पदस्थापन कार्यक्रममा उनले सभापति देउवामा अधिनायकवादी प्रवृत्ति हावी हुँदै गएको आरोप लगाएका हुन्। 

‘पार्टीभित्र कताकता अधिनायकवादी प्रवृत्ति हावी हुँदै गैरहेको छ,’  नेता पौडेलले देउवाको नाम उच्चारण नै नगरेर भने, ‘हाटहुट-लाटलुटले कब्जा गर्न खोजेको छ।’ 

उनले आफूहरु कांग्रेसमा आन्तरिक लोकतन्त्र संस्थागत हुनुपर्छ भनेर लड्नु परेको जिकिर गरे। 

‘नेपाली कांग्रेसभित्र पनि हामी लोकतन्त्रका लागि लडिरहेका छौँ। आन्तरिक लोकतन्त्र संस्थागत हुनुपर्छ भनेर  लडाइँ लड्नु परेको छ। यस्तो कहिल्यै भएको थिएन,' नेता पौडेलले भने। 

उनले १३ औं महाधिवेशनमा आफ्नो पक्षमा उभिएका जिल्ला सभापतिहरूको जिल्लामा क्रियाशील सदस्यता वितरणमा कुनै समस्या नदेखिएको दावी गरे। 

‘१३ औं महाधिवेशनमा म ११ मतले हारिसकेको थिएँ। ४१ जिल्लाका सभापतिले रामचन्द्र पौडेल नै सभापति हुनुपर्छ भनेर विज्ञप्ति नै जारी गरे,’ पौडेलले भने, ‘ती जिल्ला कुनैमा पनि क्रियाशीलको लफडा देखिएन।’ 

१३ औं महाधिवेशनमा देउवाको पक्षमा उभिएका सभापतिहरूले नै जिल्लामा क्रियाशील सदस्यतामा धाँधली गरेको पौडेलले आरोप लगाए। 

अल्पमतमा रहेकाहरुले आफूलाई जबरजस्ती बहुमतमा लैजान खोज्दा पार्टीमा द्वन्द्व सिर्जना भएको नेता पौडेलको भनाइ थियो। 

कांग्रेसमा पुस्तान्तरण नभएर रुपान्तरणको खाँचो रहेको उनको जिकिर थियो। 

नेता पौडेलले सभापति देउवाले प्रधानमन्त्रीको हैसियतमा सरकार सञ्चालनका लागि अवलम्बन गरेको तरिकाप्रति पनि असन्तोष व्यक्त गरे। 

‘राज्य सञ्चालनको तौरतरिका मलाई चित्त बुझेको छैन’, नेता पौडेलले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad