ad ad

राजनीति


कांग्रेस केन्द्रीय कार्यालयमा प्रदेशमन्त्री–वडाध्यक्ष ‘भिडन्त’ भएको भिडिओ भाइरल

कांग्रेस केन्द्रीय कार्यालयमा प्रदेशमन्त्री–वडाध्यक्ष ‘भिडन्त’ भएको भिडिओ भाइरल

शैलेन्द्र महतो
असोज ६, २०७८ बुधबार १०:५३, काठमाडौँ

नेपाली कांग्रेसबाट निर्वाचित प्रदेश २ का एक मन्त्रीले पदीय मार्यादाविपरीत अभद्र व्यवहार देखाएका छन्। 

प्रदेशका महिला तथा बाल विकासमन्त्री वीरेन्द्रसिंहले गालीगलौज गर्दै आफ्नै पार्टीका कार्यकर्तासँग घम्साघम्सी गरेका हुन्। 

मंगलबार अपराह्न ललितपुरको सानेपास्थित कांग्रेसको केन्द्रीय पार्टी कार्यालयमै मन्त्री सिंह र सर्लाहीको बरहथवा नगरपालिका वडा नं. ४ हजरियाका वडाध्यक्ष लखिन्द्र महतोबीच भनाभन र धकेलाधकेल भएको हो।  

दुवै पक्षबाट अभद्र व्यवहार भइरहेकाे त्यसकाे भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। 

भिडिओमा केही व्यक्तिले मन्त्री सिंहलाई मन्त्री भएर यस्तो नबोल्न, नगर्न आग्रह गरिरहेका छन् भने मन्त्रीले उल्टै तिनलाई नसिकाउन भन्दै झपारिरहेका छन्। र, गालीगलौज गरिरहेका छन्। 

सुरुमा मन्त्री सिंहले वडाध्यक्ष महतोलाई हातपात गर्ने प्रयास पनि गरेको देखिन्छ, तर एक प्रहरीसहित त्यहाँ उपस्थित व्यक्तिहरूले उनलाई रोक्छन्। 

मन्त्रीजस्तो व्यक्तिले पदीय मर्यादा बिर्सेर पार्टी कार्यालयभित्रै गालीगलौज र हानाहानमा उत्रिनु अशोभनीय कुरा भएको भन्दै उनको चर्को आलोचना भइरहेको छ।

सर्लाही क्षेत्र नम्बर ४ क बाट निर्वाचित प्रदेश सांसद सिंह २ महिनाअघि प्रदेश सरकारमा कांग्रेसबाट मन्त्री बनेका हुन्। 

मन्त्री सिंहले भने आफ्नो बदनाम गर्न पार्टीकै नेता अमरेश सिंहले यस्तो षडयन्त्र गरेको दाबी गरेका छन्। आफू खाजा खाएर पार्टी कार्यालयमा फर्किरहेका बेला उनीहरू आएर एक्कासि निहुँ खोजी गालीगलौज गरेपछि आफू बाध्य भएर प्रतिवादमा उत्रेको उनको दाबी छ। 

कानुन छँदाछँदै मन्त्री भएर पदीय मर्यादाविपरीत गालीगलौज र घम्साघम्सीमा उत्रिन मिल्छ  भन्ने नेपालखबरसको प्रश्नमा मन्त्री सिंहले भने, ‘म खाजा खाएर फर्किरहेको थिएँ। पार्टीको क्रियाशील सदस्यता विवाद सुल्झिसकेको छ। नेता अमरेश सिंह त्यहाँबाट निस्किसक्नुभएको थियो। उहाँले नै खटाउनुभएका वडाध्यक्षसहितका तीन व्यक्तिमसँग निहुँ खोजेर गाली गलौजमा उत्रिए। म पनि मानव हुँ त्यसैले आवेशमा आएर केही शब्द भनेँ। तर गाली अमरेश सिंहलाई गरेको छु।’

प्रदेश २ का मन्त्री घम्साघम्सी र गालीगलोजमा उत्रेको यो घटना पहिलो भने होइन। यसअघि तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले पनि मन्त्रालयमै उद्योग वन पर्यटन तथा वातावरण मन्त्रालयका सचिव विद्यानन्द झालाई झापड हानेका थिए।

यस्तै एक अन्तर्वार्ताका क्रममा मुख्यमन्त्री लालबाबु राउतले अपशब्द बोलेका थिए भने सामाजिक विकासमन्त्री नवलकिशोर साह मन्त्रालयको कुर्सीमा बसेर गालीगलौज गरिरहेका भिडिओ नै सार्वजनिक भएको थियो। उनले एक/दुई ठाउँमा सम्बोधनकै क्रममासमेत अपाच्य शब्द प्रयोग गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .