ad ad

राजनीति


कञ्चनपुरमा कांग्रेस संस्थापनकै दुई गुट, लेखक र साउदको समूहबीच प्रतिस्पर्धा!

कञ्चनपुरमा कांग्रेस संस्थापनकै दुई गुट, लेखक र साउदको समूहबीच प्रतिस्पर्धा!

गोकुल जोशी
असोज ५, २०७८ मंगलबार २१:३०, महेन्द्रनगर

नेपाली कांग्रेसमा व्याप्त गुटगत राजनीति आसन्न १४ औँ महाधिवेशनको रापले छताछुल्ल भएको छ। कञ्चनपुरमा नेपाली कांग्रेसको संस्थापन पक्ष (देउवा समूह) दुई भागमा विभाजन भएको छ। 

गाउँ/नगरपालिकाको अधिवेशनमा संस्थापन (देउवा समूह) दुई चिरामा विभाजन भएको स्पष्ट देखाएको परेको छ। संस्थापन पक्ष निकट कांग्रेस केन्द्रीय सदस्य रमेश लेखक र एनपी साउदका कञ्चनपुरमा छुट्टा–छुट्टै उपगुट छन्। 

कञ्चनपुरबाट कांग्रेसको केन्द्रीय राजनीतिमा छवि बनाएका लेखक र साउद निकटबीच अधिवेशनमा कडा प्रतिस्पर्धा हुने देखिन्छ। गाउँ/नगर पालिकाको अधिवेशनमा साउद र लेखकले गठबन्धन बनाएका छन्। 

जिल्लाको सबैभन्दा ठूलो नगरपालिका भीमदत्त नगरपालिकाको कांग्रेसको नेतृत्व हत्याउन लेखक र साउद नै सक्रिय भएका छन्।

कांग्रेस भीमदत्त नगरपालिका नगर कार्य समितिको नेतृत्वको लागि युवा नेता आशिष खत्री र अच्युत कलौनीले दाबी प्रस्तुत गरेका छन्।

नगर सभापतिका उम्मेदवार कलौनी रमेश लेखक निकट हुन्। यस्तै खत्री कांग्रेसको कोइराला समूहका हुन। यद्यपि अहिले उनलाई एनपी साउदले सघाइरहेको स्रोतको दाबी छ। 

लेखक निकट महेन्द्र खड्काले पनि भीमदत्त नगर सभापतिमा दाबी प्रस्तुत गरे पनि अहिले उनी पछाडि हटेका छन्। लेखक समूहको कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा वर्चश्व छ भने साउद समूहको निर्वाचन क्षेत्र नम्बर २ मा दबदबा छ।

पूर्वमन्त्री लेखकको निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत पर्ने कञ्चनपुर सदरमुकामस्थित भीमदत्त नगरपालिकाको नेतृत्व हत्याएर उनलाई कमजोर देखाउन पूर्वमन्त्री साउद सक्रिय भएका छन्। 

‘दुवै नेताहरु (एनपी र रमेश) एकअर्कालाई कमजोर पारेर आफू अगाडि बढ्ने  खेलमा हुनुहुन्छ। यस किसिमको गुटगत गतिविधिले पार्टी संगठनलाई कमजोर बनाउँछ’ कांग्रेसका एक नेताले भने, ‘त्यसैले कांग्रेसलाई बलियो बनाउन गुटगत राजनीति रोक्न आवश्यक छ।’

लेखक र साउद महाधिवेशनका लागि गृहजिल्ला कञ्चनपुरमा छन्। उनीहरुले आफ्नो पक्षमा माहोल बनाउन जिल्लाका नेता/कार्यकर्तासँगको छलफललाई तिव्रता दिएका छन्।

कांग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत कञ्चनपुरमा वडा अधिवेशन सम्पन्न भइसकेको छ। असोज ९ गते नगर–गाउँ अधिवेशन गर्ने कार्यतालिका छ। 

महाधिवेशन नजिकिदै गर्दा केन्द्रदेखि गाउँ–गाउँसम्मको चहलपहल बाक्लिएको छ। भीमदत्त नगरपालिका नगर कार्य समितिका लागि युवा नेता आशिष खत्री नेतृत्वको प्यानल घोषणा गरिएको छ।

उनको प्यानलबाट उपसभापतिमा राजेन्द्र चन्द र सुशिल साउदलाई खडा गरिएको छ। यस्तै सचिवमा गगन सिंह धामी र पुष्करनाथ जोशीलाई अगाडि सारिएको छ। खत्रीकै प्यानलबाट सहसचिवमा दीपकराज विष्ट र हिरादेवी दमाईलाई उम्मेदवार बनाइएको छ। 

कांग्रेसलाई गुट, उपगुट रहित बनाएर बलियो र सुदृढ बनाउन नगर सभापतिमा उम्मेदवारी दिएको नेता खत्रीले बताए। ‘गुट, उपगुटरहित कांग्रेस हुनु पर्छ भन्ने हाम्रो मूल मन्त्र हो’ उनले भने।
यस्तै बलियो र सुदृढ कांग्रेस बनाउनका लागि आफूले नगर सभापतिमा उम्मेदवारी दिएको अच्युत कलौनी बताउँछन्। 

‘स्वच्छ, इमान्दार, चलायमान र गुटरहित कांग्रेस बनाउनका लागि मैले उम्मेदवारी दिएको हो’ उनले भने, ‘भीनपाको कांग्रेस नगर कार्यसमितिलाई देशमै नमूना बनाउने मेरो अठोट छ।’

सभापतिका दाबेदार खत्री र कलौनी दुवै जना विद्यार्थी राजनीतिबाट कांग्रेसको सक्रिय राजनीतिमा होमिएका थिए। खत्री वि.सं. २०५१ सालमा सिद्धनाथ विज्ञान क्याम्पसको नेपाल विद्यार्थी संघको इकाई सभापति पनि बनेका थिए। त्यहीँबाट उनले सक्रिय राजनीति सुरु गरेका हुन्। 

वि.सं. २०६२/०६३ को आन्दोलनमा उनी सक्रिय रुपमा लागेका थिए। त्यहीँ क्रममा केही दिन उनी कारागार पनि बसेका थिए। नेविसंघको विद्यार्थी राजनीतिबाट पाइला टेकेका खत्री अहिले पनि कांग्रेसको राजनीतिमा सक्रिय छन्।

सभापतिका अर्का दाबेदार कलौनीले वि.स. २०५७ सालमा नेविसंघबाट सक्रिय राजनीति थालेका थिए। उनले कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको सह–महामन्त्रीको जिम्मेवारी समेत सम्हालिसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .