ad ad

राजनीति


पाँच दलीय गठबन्धन भत्काउन षड्यन्त्र हुँदैछ : श्रेष्ठ

पाँच दलीय गठबन्धन भत्काउन षड्यन्त्र हुँदैछ : श्रेष्ठ

शैलेन्द्र महतो
असोज ४, २०७८ सोमबार २०:३९, काठमाडौँ

नेकपा (माओवादी केन्द्र)का वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान पाँच दलीय गठबन्धन बिगार्न खोज्ने षड्यन्त्र भइरहेको बताएका छन्।

धनुषाको सहिदनगर नगरपालिका–८ डुमरियामा माओवादी केन्द्रले आयोजना गरको सहिद सूर्यनाथ रान यादवको ३६ औं स्मृतिसभालाई सम्बोधन गर्दै नेता श्रेष्ठले विभिन्न कोणबाट गठबन्धलाई फुटाउने षड्यन्त्र भइरहेको भन्दै आफूहरु सचेत रहेको बताए।  

उनले प्रतिगमन विरुद्ध संघर्षको क्रममा जन्मेको यो गठबन्धन प्रतिगामी खतरा कामय रहँदासम्म त्यसको विरुद्ध जुध्ने गरी कायमै रहने दाबी गरे। 

उनले वर्तमान गठबन्धनको सरकार नै प्रतिनिधिसभाको पूर्ण कार्यकाल पुरा गरी नियमित चुनाव गराउने भन्दै केपी प्रवृतिबाट मुक्त हुनुपर्नेमा जोड दिए। 

‘यो गठबन्धनको सरकार केपी प्रवृतिबाट आफू स्वयम् मुक्त हुनुपर्छ, पाँच पार्टीको गठबन्धन केपी प्रवृति गठबन्धनमा पुनरावृति हुन दिनहुन्न। गल्तीहरु सच्याएर अघि बढ्नु पर्छ’ नेता श्रेष्ठले भने, ‘कुनैपनि राष्ट्रघाती, जनविरोधी, संविधान र लोकतन्त्र विरोध काम गर्नु हुँदैन।’

राष्ट्रहित र राष्ट्रिय स्वाधिनतालाई कमजोर पार्ने कुनै किसिमका काम हुन नदिन गठबन्धन स्पष्ट हुनुपर्ने उनको भनाइ छ।  

अर्को प्रसंगमा उनले एमसीसी यथास्थितिमा पास हुन नसक्ने भन्दै परिमार्जन सहित राष्ट्रिय सहमतिका आधारमा मात्र अगाडि बढाउन सकिने धारणा राखे।

‘राष्ट्रिय स्वाधिनता र हितसँग सम्बन्धित विषयमा राष्ट्रिय सहमति कायम गरेर अगाडि बढ्नुपर्छ। त्यसैले एमसीसीका विषयमा राष्ट्रिय सहमति कायम गर्दै मात्र कुनै निर्णय लिनुपर्छ भन्ने स्पष्ट रुपमा गठबन्धनमा कुरा भएको छ’ नेता श्रेष्ठले भने। 

बुद्धिजीवीहरुले एमसीसीका विरुद्धमा भ्रम फैलाइरहेको उनले आरोप लगाए। 

उनले आफूहरुले पनि देशको विकास चाहेको र निस्वार्थ विकास अमेरिका गर्न चाहेको छ भने स्वागतको लागि तयार समेत रहेको बताए। 

‘देशको विकास गर्नुपर्छ। अमेरिकी सहयोग हामी लिन चाहन्छौं, हामीलाई चाहिन्छ। तर, निस्वार्थ नेपाल र नेपाली जनताको हित हुने छ भने हामी खुला दिलका साथ स्वागत गर्न चाहन्छौं’, उनले भने,  ‘तर, एमसीसी सम्झौतामा नेपाल र नेपाली जनताको आफ्नो राष्ट्रियता र स्वाधिनताको हित विपरीत हुनुभएन।’ 

सहिदनगरका मेयर उदय बरबरिया यादवको अध्यक्षतामा भएको सहिद रानको स्मृतिसभामा माओवादी केन्द्रका केन्द्रीय सदस्यहरु विश्वनाथ साह, महेन्द्र पाशवान, श्रवण बरबरिया यादव, आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुवी कर्ण, जसपा नेता रामरिझन यादव लगायतले सहिद रानको योगदानको विषयमा आ–आफ्ना मन्तव्य राखेका थिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .