ad ad

राजनीति


फैसलाको पूर्णपाठ पल्टाएर माधव नेपालले बोले ओलीमाथि धावा

फैसलाको पूर्णपाठ पल्टाएर माधव नेपालले बोले ओलीमाथि धावा

वाशुदेव मिश्र
असोज ३, २०७८ आइतबार २०:४४, काठमाडौँ

एमाले छाडेर नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका माधव नेपालले आइतबार पोखरामा पार्टी कार्यालयको उद्घाटन गरे।

गण्डकी प्रदेश, कास्की जिल्ला तथा पोखरा नगर कमिटीको कार्यालय उद्घाटन गरेलगत्तै उनी संविधान दिवसको अवसरमा पार्टीले नै आयोजना गरेको ‘लोकतन्त्र एवं संविधान रक्षाको निम्ति पार्टीको भूमिका’विषयक कार्यक्रममा पुगे।

एउटा पार्टी प्यालेसमा आयोजित कार्यक्रममा एमालेका प्रतिबद्ध कार्यकर्ताको बाक्लो उपस्थिति थियो। बुढापाकादेखि युवासम्म भएको हलमा उनले पिपल्स भोलेन्टियर्सका युवाहरुलाई स्वागत गरे। मुस्लिम समुदायका पुरुष र महिला समेटिएको जनवर्गीय संगठनको घोषणा गरे। पार्टीका कास्की उपसचिव पूर्ण लामाले स्वागत मन्तव्यकै क्रममा अध्यक्ष नेपाललाई ‘संविधानको रक्षक’को उपमा दिए।

पोखराको कार्यक्रममा देखिएको बाक्लो उपस्थितिले प्रफुल्ल बनेका नेपालले बोल्ने क्रमको सुरुमै केपी ओलीले संविधान मिचेको आरोप लगाए। सर्वोच्च अदालतको पूर्ण इजलासबाट भएको संसद् पुनःस्थापनाको फैसलाको पूर्णपाठ बोकेर पोडियममा आएका उनले प्रधानमन्त्रीको पद खोसिन्छ कि, आफूलाई हटाउँछन् कि भनेर पहिलो पटक ओलीले संसद् भंग गरेको जिकिर गरे।  

‘पहिलो पटक प्रतिनिधि सभा विघटन गरियो। प्रधानमन्त्रीको पद खोसिन्छ कि मलाई हटाउँछन् कि भन्ने ठानेर प्रतिनिधि सभा भंग गरे। के कुनै एक व्यक्तिले मनपरी ढंगले प्रतिनिधि सभा भंग गर्न पाउँछ?’ उनले सर्वोच्चको फैसलाको पाना पल्टाए र भने, ‘सर्वोच्चको फैसलाले सिधै लेखिदिएको छ, यस्तो गर्न पाइँदैन। सिधै लेखिदिएको छ, संविधानउपर कुनै पनि प्रकारको थिचोमिचो गर्ने र संविधानलाई छल्ले कामलाई वैधानिकता दिन सकिँदैन भनिदिएको छ।’

उनी त्यत्तिमै रोकिएनन्। कार्यकर्तालाई सर्वोच्चको फैसलाको पानापाना पल्टाएर हेर्न आग्रह गर्दै ओलीले प्रतिनिधि सभाको हत्या गरेको आरोप लगाए। 

‘मलाई नमान्ने, मेरो आदेश नमान्ने भनेर प्रतिनिधि सभाको हत्या भयो, प्रतिनिधि सभाको हत्याको अर्थ के हो? सबै सांसदको हत्या हो। जनताले चुनेर पठाएको प्रतिनिधिको, जनताको अपमान गर्न हुँदैनथ्यो,’ उनले भने, ‘पहिलो पटक पनि गर्न हुँदैनथ्यो, दोस्रो पटक त झन् गर्नै पाइँदैनथ्यो।’ 

उनले संविधान उलंघन गर्नेलाई सजाय दिनुपर्ने बताउँदै ओलीलाई जनताले कारबाही गर्ने उद्घोष पनि गरे। उनले केपी ओलीले पटक–पटक अल्पमतमा परेको अवस्थामा पनि बहुमत दाबी गर्नु संवैधानिक मर्यादा विपरीत भएको तर्क गर्दै केपी ओलीले सर्वोच्चको पहिलो फैसलापछि नै राजीनामा गर्नुपर्ने बताए। 

‘यो फैसलाको शब्द हेर्ने हो भने हाम्रा श्रीमान् केपी शर्मा ओलीजीले तुरुन्तै राजीनामा दिएर आउनुपर्ने थियो र जनतामा जान सक्ने आँट गर्नुपथ्र्यो,’ उनले थपे। 

एकीकृत समाजवादी पार्टीले नयाँ सुरुवात गर्न गइरहेकोले अर्काको विरुद्धमा धेरै नबोल्ने बताइरहँदा पनि नेता नेपालले ओलीले गणतन्त्रमाथि धावा बोलेको बताउन छुटाएनन्।

‘म केही भन्न गइरहेको छैन। किन यस्ता कुरामा समय बर्बाद पार्ने? हामी नयाँ यात्रा सुरु गर्न गइरहेका छौँ। हामीलाई कसैको बदख्वाइँ र निन्दा–भर्त्सना गर्नुपर्ने छैन। हामीलाई फुर्सद पनि छैन। हामी कुरा काटेर बस्ने मान्छे पनि हैन। रमाइलो गफ गर्नेवाला पनि हैन। अरुको मानमर्दन पनि हामी गर्दैनौँ। अपमान पनि गर्दैनौँ,’ उनले भने, ‘किनकि हामीलाई अपमान गर्ने कुरा हाम्रा बुबाले सिकाएका छैनन्।’

भ्रष्टाचार छानबिन होस् 
अध्यक्ष नेपालले ओली नेतृत्वको सरकारले गरेका भ्रष्टाचारहरु छानबिन गर्नुपर्ने माग पनि गरे।

वर्तमान सरकारका सहयात्रीसमेत रहेका उनले यती कम्पनीलाई भाडामा दिइएको जग्गा, कोभिडविरुद्धको औषधि खरिद र वाइडबडी प्रकरणभित्र केही न केही लुकेको जिकिर पनि गरे। 

‘हाम्रोभन्दा अगाडिको सरकार, कस्तो भन्न पनि अप्ठेरो, एमालेको सरकार। हाम्रै पार्टीको सरकार। त्यो एयरलाइन्स यतीलाई बेच्न खोजिराथ्यो,’ नेता नेपालले भने, ‘यती कम्पनीलाई कति काखी च्यापेको होला! केही त होला, दालमे कुछ काला है। केही न केही त पक्कै छ।’ 

उनले कोभिडको औषधि र भ्याक्सिन किन्दा पनि भ्रष्टाचार भएको अनुमान लगाए। उनले यतिी समूहलाई नेपाल ट्रष्टको जग्गा भाडामा दिँदा र झापामा रहेको गिरीबन्धु टी स्टेटको जग्गाको बिक्री फुकुवामा पनि ओली सरकारले भ्रष्टाचार गरेको जिकिर गरे।

‘कोभिड १९ को त्यत्रो भ्याक्सिन ल्याउनुपर्ने बेलामा फेरि त्यसैमा कमिसनको चक्कर किन? अनि जग्गाहरु ४७ अर्बको, झापामा त्यस्तै अर्बौंको भ्रष्टाचार सुन्दै हुनुहुन्छ, अनि वाइडबडी जहाजको कुरा सुन्दै हुनुहुन्छ, किन छानबिन हुँदैन?’ उनले प्रश्न गरे, ‘कोही कसैको संलग्नता छैन भने किन छानबिन नगरेको? यदि आफू कोही त्यसमा संलग्न छैन भने कुरा उठिसकेपछि छानबिन गर्नुपर्दैन? त्यसैले म सरकारसँग भन्न चाहन्छु प्रत्येक यस्ता भ्रष्टाचारको घटनाबारे केसको बारेमा छानबिन गर्ने काम गरोस् देशलाई लुट्न पाइँदैन।’

उनले वाइडबडी काण्डमा भएको भ्रष्टाचारबारे त आफैँ जानकार भएको जिकिर पनि गर्न भ्याए। वाइडबडी काण्डमा मुछिएका र हाल दिवंगत एमालेका तर्फबाट तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको गृहजिल्लामा आएर उनले भने, ‘मैले आफैँ देखेको छु वाइडबडीमा एउटा भाउ दिएको छ, त्यसभन्दा बढी पैसा तिरेको छ।’ 

उनले कारबाहीको लागि सिफारिस गरिएको फाइल नै ओली सरकारले दराजमा थन्क्याएको आरोप लगाए।

‘हामीले फाइल पठाएका छौँ। सरकारले दराजमा थन्काएको छ। कराउँछौँ, चिच्याउँछौँ सुन्दै सुन्दैन। न पार्टी भित्र सुनुवाइ छ न सरकारमा,’ उनले भने, ‘निरकुंश प्रवृत्ति हाबी हुन्छ भने, सर्वसत्तावादी, व्यक्तिवादी प्रवृृत्ति हाबी हुन्छ भने त्यस्तोले कसैलाई टेर्दैन।’ 

‘फर्केर नजानुस्, हामी नियुक्तिमा न्याय गर्छौं’
नेपालले अन्तिम अवस्थामा आफूलाई छाडेर हिँडेकाहरुमाथि टिप्पणी त गरेनन् तर भएका कार्यकर्तालाई एमाले नफर्कन आग्रह भने गरे। 

‘कमरेडहरु हिजोको कुरा सम्झेर हुँदैन। त्यहाँ त जम्मै ढोका बन्द भइसक्यो, त्यहाँ त फासीको सजायँ दिइएको हुनाले महाराजाधिराजले आममाफी पनि दिइसके। भोलिपल्ट फेरि सजाय दिए, फेरि मृत्युदण्डको सजाय दिएका छन्,’ उनले भने, ‘त्यहाँ फर्केर जाने कुरा नसोच्नुहोस्। यो पार्टीलाई अगाडि बढाऊँ।’ 

उनले अहिले बाहिर प्रचार भएजस्तो माओवादी पार्टीसँग एकता नहुने पनि थपे, ‘एक्लै, आफ्नै शक्तिको आधारमा अगाडि बढ्नेवाला छौँ।’ 

कार्यकर्ता व्यवस्थापनबारे कमै बोल्ने अध्यक्ष नेपालले यसपटक सरकार एवं नियुक्तिहरुमा भाग लिने र योग्य कार्यकर्तालाई अवसर दिने उद्घोष पनि गरे।

‘कसैले केही प्रचार गरोस्, अनेक नियुक्ति छन्। ती नियुक्तिमा जसरी आसेपासेलाई पठाइएको थियो, योग्यता क्षमता नभएकालाई पनि पठाइएको थियो, अनुचित काम गर्नेहरुलाई पनि पठाइएको थियो, स्याल हुइँया गर्नेलाई पठाइएको थियो, जथाभावी गर्नेलाई पठाइएको थियो,’ उनले भने, ‘तीबाट मुक्त भएर हामीले त्यसमा पनि समुचित ढंगले व्यवस्थापन गर्न गइरहेका छौँ।’ 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .