ad ad

राजनीति


ओली सरकारले गरेका भ्रष्टाचार छानबिन होस् : माधव नेपाल

ओली सरकारले गरेका भ्रष्टाचार छानबिन होस् : माधव नेपाल

वाशुदेव मिश्र
असोज ३, २०७८ आइतबार १६:४६, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले केपी ओली नेतृत्व सरकारले गरेका भ्रष्टाचारहरु छानबिन गर्नुपर्ने माग गरेका छन्। 

वर्तमान सरकारका सहयात्रीसमेत रहेका उनले यति कम्पनी जग्गा भाडामा, कोभिडविरुद्धको औषधि खरिद र वाइडबडी प्रकरणभित्र केही न केही लुकेको जिकिर पनि गरे। 

‘हाम्रोभन्दा अगाडिको सरकार, कस्तो भन्न पनि अप्ठेरो, एमालेको सरकार। हाम्रै पार्टीको सरकार। त्यो एयरलाइन्स यतिलाई बेच्न खोजिराथ्यो’, आइतबार पोखरामा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा नेता नेपालले भने, ‘यति कम्पनीलाई कति काखी च्यापेको होला! केही त होला, दालमे केही कालो होला। दालमे कुछ काला है। केही न केही त पक्कै छ।’ 

उनले कोभिडको औषधि र भ्याक्सिन किन्दा पनि भ्रष्टाचार भएको अनुमान लगाए। 

उनले भने, ‘कोभिड १९ को त्यत्रो भ्याक्सिन ल्याउनुपर्ने बेलामा फेरि त्यसैमा कमिसनको चक्कर किन ?’

उनले यति समूहलाई नेपाल ट्रष्टको जग्गा भाडामा दिँदा र झापामा रहेको गिरीबन्धु टि स्टेटको जग्गाको बिक्री फुकुवामा पनि ओली सरकारले भ्रष्टाचार गरेको जिकिर गरे।

‘अनि जग्गाहरु ४७ अर्बको, भाडामा त्यस्तै अर्बौंको भ्रष्टाचार सुन्दै हुनुहुन्छ, अनि वाइडबडी जहाजको कुरा सुन्दै हुनुहुन्छ, किन छानबिन हुँदैन?’ ,उनले प्रश्न गर्दै भने,  ‘केही कसैको संलग्नता छैन भने किन छानबिन नगरेको? यदि आफू कोही त्यसमा संलग्न छैन भने, कुरा उठिसकेपछि छानबिन गर्नुपर्ने हुँदैन। त्यसैले म सरकारसँग भन्न चाहन्छु प्रत्येक यस्ता भ्रष्टाचारको घटनाबारेमा केसको बारेमा छानबिन गर्ने काम गरोस् देशलाई लुट्न पाइँदैन। मुलुकलाई लुट्न पाइँदैन। ’

उनले वाइडबडी काण्डमा भएको भ्रष्टाचारबारे त आफै जानकार भएको जिकिर पनि गर्न भ्याए। वाइडबडी काण्डमा मुछिएका र एमालेको तर्फबाट तत्कालीन पर्यटनमन्त्री (हाल दिवंगत) रवीन्द्र अधिकारीको गृहजिल्लामा आएर उनले भने, ‘मैले आफैँ देखेको छु। वाइडबडीमा एउटा भाउ दिएको छ, त्यसभन्दा बढी पैसा तिरेको छ।’ 

उनले कार बाहीको लागि सिफारिस गरिएको फाइल नै ओली सरकारले दराजमा थन्क्याएको आरोप लगाए।

‘हामीले फाइल पठाएका छौँ। सरकारले दराजमा थन्काएको छ। कराउँछौँ, चिच्याउँछौँ सुन्दै सुन्दैन। न पार्टी भित्र सुनुवाइ छ न सरकारमा’, उनले भने,‘ निरंकुश प्रवृत्ति हावी हुन्छ भने, सर्वसत्तावादी, व्यक्तिवादी प्रवृत्ति हावी हुन्छ भने त्यस्तोले कसैलाई टेर्दैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .