बृहत नागरिक आन्दोलनले संविधान संशोधनमार्फत राज्य व्यवस्थामा नागरिक सर्वोच्चता कायम गर्न माग गरेको छ।
यही असोज ३ गते संविधान दिवसका अव सरमा बृहत नागरिक आन्दोलनले संविधान संशोधनका लागि दबाब दिन ‘संविधान संशोधन मार्च’ को आयोजना गर्ने जनाएको छ।
सो मार्च माइतीघर मण्डलादेखि नयाँ बानेश्वरस्थित संसद भवनसम्म हुने छ।
नागरिक आन्दोलनले नेपालको संविधान २०७२ लाई ‘जनआन्दोलन र जनसंघर्षबाट स्थापित देशका ज्वलन्त राजनीतिक मुद्दालाई अधकल्चो पार्दै, जनतासँग परामर्श नगरी, द्रूतमार्गको प्रक्रियाबाट बलात् जारी गरिएको आरोप लगाएको छ।
‘जात, रंग, धर्म, भाषा, भूगोल र वर्गका आधारमा हुने विभेद हटाउने नीतिहरूको अभाववशः हाम्रो लोकतान्त्रिक परिपाटी बलियो हुन सकेको छैन’ बृहत नागरिक आन्दोलनले विज्ञप्ति प्रकाशित गरी भनेको छ, ‘नेपाललाई सधैँ पछि पार्ने जात व्यवस्था, पुरुष व्यवस्था, पुँजीको बेरोकटोक हालीमुहालीबाट पुँजीविहीनहरू झन् किनार पर्दै जाने अवस्थाको उपचार खोजिएको छैन।’
जनताका नैसर्गिक हक अधिकार संविधानमार्फत हासिल गर्न असोज ३ गते संविधान संशोधनको आवाज बुलन्द गर्न आह्वान गर्दै नागरिक आन्दोलनले जनदबाबबाट मात्र जनाकांक्षाहरू सुनुवाई गराउन सकिने बताएको छ।
Shares

प्रतिक्रिया