प्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लो समय प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग संवाद बढाएका छन्।
संसदमा देखिएको गतिरोधबीच ओलीले प्रतिपक्षी दलसँग संवाद बढाएका हुन्। आफू प्रधानमन्त्री बनेको दुई महिना बित्दा पनि सरकार विस्तार गर्न नसकेका देउवाले केही समययता प्रतिपक्षीसँग वार्ता बढाएका हुन्।
देउवाले आफ्नो दूतका रुपमा ओलीलाई भेट्न कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई दुई पटकसम्म बालकोट पठाइसकेका छन्।
कार्कीले बालकोट पुगेर ओलीसँग संसदमा रहेको गतिरोध हटाउन आग्रह गरेको बताउँदै आइरहेका छन्।
सत्तारुढ गठबन्धनबीच खटपट र विवाद बढिरहेका बेला देउवाले प्रमुख प्रतिपक्षीसँग बढाएको संवादलाई अर्थपूर्ण मानिएको छ।
कानुन मन्त्री कार्की बिहीबार दिउँसो पनि बालकोट पुगेर ओलीसँग संवाद गरे। उक्त संवादबारे उनले शुक्रबार विराटनगर पुगेर पत्रकारहरुसँग बोलेका छन्।
'संसदमा देखिएको गतिरोध राजनीतिक सहमतिका आधारमा समाधान भएर बजेट कार्यान्वयन हुन्छ', विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीसँगको भेटघाटमा उनले भने, 'त्यसका लागि विपक्षी दलसँग पनि हामीले संवाद थालेका छौँ।'
मन्त्री कार्कीले यही असोज ४ गते बस्ने संसद्को बैठक सञ्चालनका लागि प्रमुख प्रतिपक्ष दलका नेता ओलीसँग बिहीबारै बालकोटमा छलफल भएको बताए।
संसद अवरुद्ध भएपछि सरकारले बजेटको प्रतिस्थापन विधेयक पारित गर्न सकेन। भदौ ३० सम्म प्रतिस्थापन विधेयक पास गर्न नसक्दा बिहीबारदेखि नै सरकारी खर्च बन्द भएको छ।
सरकारी खर्च बन्द भएर देश 'गभर्मेन्ट सट्डाउन' तर्फ गइसकेको अवस्थामा देउवाले प्रतिपक्षी नेता ओलीलाई फकाउन दूत पठाएका हुन्।
'विपक्षी दलसँग पनि छलफल भइरहेको छ', कार्कीले अगाडि भने, 'चालु आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेट रोकिँदैन।'
उनल भेटका क्रममा अत्यावश्यक अध्यादेश पारित गर्न सहयोग गर्न ओलीलाई भनिएको पनि जानकारी कार्कीले दिएका छन्।
एमसीसी पास हुन्छ
उनले मुलुकमा दीगो शान्ति र समृद्धिका निम्ति सहमति र सहकार्य आवश्यक रहेको पनि बताएका छन्।
एक प्रश्नको जवाफमा एमसीसी विकास परियोजना भएकाले यसलाई राजनीतिकरण गर्न नहुने पनि कार्कीले बताए।
नेपालको इतिहासमा पहिलो पटक आएको ठूलो अनुदान फर्केर जानसक्ने भएकाले त्यसबाट पर्नसक्ने असरबारे बुझ्नुपर्नेमा उनले जोड दिएका छन्।
Shares

प्रतिक्रिया