ad ad

राजनीति


माधव नेपालको पार्टी ‘पानीको फोका’ : विष्णु पौडेल

माधव नेपालको पार्टी ‘पानीको फोका’ : विष्णु पौडेल

सुदीप भण्डारी
भदौ २३, २०७८ बुधबार १२:३, काठमाडौँ

नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले माधव नेपालको नेकपा (एकीकृत समाजवादी) पार्टीले आउँदो चुनावमा वडामा समेत जित्न नसक्ने दाबी गरेका छन्। 
साथै उनले माधव नेपाललाई एक्लै चुनाव लडेर देखाउन चुनौती पनि दिएका छन्। 

प्रेस चौतारी नेपालले बुधबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा पौडेलले माधव नेपालको प्रयास (नयाँ पार्टीबाट संघर्ष गर्ने) निरर्थक हुने दाबी गरेका हुन्। 

‘तपाईंहरूले आउने चुनावमा एक्लै लडेर देशका कुनै पनि क्षेत्रमा जमानतसमेत जोगाइदिनुस्, प्रतिनिधि सभा वा प्रदेश सभामा सक्नुहुन्न भने कुनै वडामा जमानत जोगाउनुहोस्, त्यसपछि हामी मान्छौं’, उनले भने, ‘देशभर कहीँ पनि उहाँले एक्लै चुनाव लडेर जमानत जोगाउने आँट छैन। अरू कसैले साथ दिनेवाला पनि छैन।’

उनले पार्टी विभाजनलाई सर्पले काँचुली फेरेको र एकीकृत समाजवादी पार्टीलाई पानीको फोकाको संज्ञा दिए।

‘पार्टीले अहिले काँचुली छोडेको हो। काँचुली छाड्दा सर्पको जीवनमा कुनै परिवर्तन आउँदैन, त्यसैले पार्टीलाई फरक पर्दैन’, पौडेलले भने।

नेता पौडेलले एमालेको हैसियतलाई कसैले खुम्च्याउन नसक्ने दाबी गर्दै लुम्बिनी प्रदेशमा एमाले विभाजित हुन्छ भनेर कसैलाई नसोच्न चेतावनी दिए। ।

पत्रकार सम्मेलनमा पौडेलले अदालतले शक्ति पृथकीकरणको सिद्धान्तलाई आत्मसात् नगरेको र परमादेशबाट प्रधानमन्त्री बनाएर संसदको सर्वोच्चता कुल्चेको आरोप लगाए। 

पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेलले एमसीसीको सन्दर्भमा सरकारले संसदमा टेबुल गरेपछि मात्र आफ्नो पार्टीले निर्णय गर्ने सुनाए।

‘सबैभन्दा पहिले सरकारले एमसीसीको बारेमा के गर्छ हेरौं। एमालेले राष्ट्रको हितलाई निर्णय गर्छ’, उनले भने, ‘एमसीसीको बारेमा निर्णय गर्न कुनै कठिन छैन। अग्रिम निर्णय गर्न आवश्यक छैन।’

नेकपा एमालेले आगामी भदौ ३० गतेसम्म प्रदेशका १२ वटै जिल्लामा जिल्ला भेला आयोजना गर्ने, असोज मसान्तसम्म सदस्यता नवीकरण गर्ने, ९ सय ८३ वडामा कार्तिक ६ गते वडा अधिवेशन गर्ने, त्यसपछि पालिका स्तरको अधिवेशन गर्ने उपमहासचिव पौडेलले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .