ad ad

राजनीति


ओली समूहकी सांसद माया तामाङ पनि एकीकृत समाजवादीमा, सांसद संख्या १४ पुग्यो

ओली समूहकी सांसद माया तामाङ पनि एकीकृत समाजवादीमा, सांसद संख्या १४ पुग्यो

गोकुल जोशी
भदौ २१, २०७८ सोमबार १५:१७, महेन्द्रनगर

सुदूरपश्चिममा नेकपा (एमाले) प्रदेश सांसद माया तामाङ बोहराले नवगठित नेकपा (एकीकृत समाजवादी) रोजेकी छन्। 

ओली पक्षीय सांसद बोहराले सोमबार निर्वाचन आयोगको धनगढीस्थित कार्यालयमा पुगेर एकीकृत समाजवादीमा सनाखत गरेकी हुन्।

उनीसहित एमालेका १४ जना प्रदेश सांसदले एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका छन्। सुदूरपश्चिम प्रदेश सभामा माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सबैभन्दा ठूलो पार्टी बनेको छ। 

एकीकृत समाजवादीमा सनाखत गर्ने बोहरा ओली समूहकी सांसद हुन्। एमालेभित्रको गुटबन्दीमा बोहरा ओली समूहमा खुलेकी थिइन्। 

गत चैतमा मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत नदिने ओली समूहका ७ सांसदमध्ये एक उनी पनि थिइन्। तर एमालेको विभाजनमा बोहराले ओली समूह छोडेर नेपालको एकीकृत समाजवादी पार्टी रोजेकी छन्।

यसअघि माधव समूहका १३ सांसदले एकीकृत समाजवादीमा सनाखत गरेका थिए।


यो सँगै १४ सांसद सहित सुदूरपश्चिम प्रदेश सभामा एकीकृत समाजवादी पार्टी सबैभन्दा ठूलो बनेको केन्द्रीय सदस्य समेत रहेकी आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले बताइन्। 

‘प्रदेश सभामा एकीकृत समाजवादीको संसदीय दल सबैभन्दा ठूलो भएको छ’ उनले भनिन्, ‘अझै हाम्रोतिर सांसद आउने क्रम जारी छ।’

५२ प्रदेश सभा रहेको सुदूरपश्चिममा माओवादी केन्द्रका १३ जना, नेपाली कांग्रेसका १२ र जनता समाजवादी पार्टीका दुई सांसद छन्।

सभामुख सहित एमालेका २५ सांसदमध्ये १४ जना एकीकृत समाजवादीमा गए पछि एमालेमा अब ११ सांसद मात्रै छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .