नेपाल कम्युनिष्ट पार्टी (मसाल)ले पार्टीको तत्कालिन मुखपत्र ‘हाँक साप्ताहिक’ कब्जा गरेको आरोपमा १९ जना पार्टी सदस्यहरुमाथि कारबाही गरेको छ।
पार्टी प्रवक्ता रामप्रकाश पुरीले मंगलबार एक वक्तव्य प्रकासित गरी पार्टीको सम्पत्तिको रुपमा रहेको ‘हाँक साप्ताहिक’ अनधिकृत ढंगले कब्जा गर्ने कार्यमा सहयोग गर्नेहरुमाथि कारबाही गरिएको जनाएका छन्। प्रवक्ता पुरीद्वारा प्रेसित वक्तव्यमा पार्टी अनुशासन उल्लंघन गर्ने १९ जना पार्टी सदस्यहरुलाई कारबाही गरिएको जनाइएको छ। कारबाहीमा परेका मध्ये २ जनालाई पार्टी सदस्यताबाट अनिश्चितकालका लागि निस्काशन गरिएको र बाँकी १७ जनालाई विभिन्न स्तरको कारबाही गरिएको नेकपा (मसाल) ले जनाएको छ। कारबाही भएका पार्टी सदस्यहरुकाे नाम भने खुलाइएकाे छैन।
यस्तै, वक्तव्यमा कतिपय सञ्चारमाध्यमले पार्टीमा फरकमत राखेका आधारमा ३०० कार्यकर्तालाई कारबाही गरेको भन्ने जस्ता भ्रमपुर्ण समाचार सम्प्रेसित गरेको भन्दै भ्रममा नपर्न आग्रह पनि गरिएको छ। पार्टीमा फरक मत राखेकै आधारमा कुनै पनि पार्टी सदस्यलाई कारबाही गर्ने नीति नरहेको पनि प्रवक्ता पुरीद्वारा जारी वक्तब्यमा उल्लेख छ।
विगत ३६ वर्षदेखि पार्टीको मुखपत्रका रुपमा प्रकाशित हाँक साप्ताहिकलाई प्रधान सम्पादक गोविन्दसिंह थापाले ‘कब्जा’ गरेको भन्दै मसालले थापालाई अनिश्चितकालका लागि पार्टीबाट निश्काशन गरिसकेको छ। पार्टीबाट निश्काशित थापालाई सघाउ गरेको आरोपमा अन्य पार्टी सदस्यहरुलाई समेत मसालले कारबाही गरेको हो।
हाँक साप्ताहिकको ठाउँमा मसालले अहिले ‘युगदर्शन’को प्रकाशन सुरु गरेको छ।
प्रतिक्रिया