नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटाउनकै लागि घरघरबाट नेता-सांसदलाई तानेर रिसोर्टमा थुनेर राखिएको आरोप लगाएका छन्।
बुधबार ललितपुरको च्यासलमा आयोजित पत्रकार सम्मेलनका क्रममा ओलीले नयाँ पार्टी खोल्न लागेका नेता माधवकुमार नेपालप्रति लक्षित गर्दै यसो भनेका हुन्।
ओलीले आफूलाई नभइ पार्टी फुटाउन हिँड्नेलाई कालोदाग लाग्ने पनि बताए। 'हन्डी बोकेर बाक्लो दाल खान जानेलाई कालो दाग लाग्छ', उनले भने, 'हाँडी बोकेर भाग घोप्ट्याउन किन जानु? म पार्टी बचाउनै लागेको हो तर सकिनँ। केही मानिसलाई सच्याउन खोजेँ सकिनँ।'
एमालेका नेता कार्यकर्तालाई घर घरबाट उठाएर तीन दिनसम्म रिसोर्टमा थुनेर राखिएको पनि ओलीले बताए।
'घर घरबाछ मान्छे उठाएर टाकुरामा तीन दिनसम्म थुनेर राखे। अहिले ढोक्सेमा हालेर निर्वाचन आयोगमा ल्याएर खन्याइयो', उनले भने, 'तीन दिन थुनेर ढोक्सेमा हालेर निर्वाचन आयोगमा घोप्ट्याउने काम लोकतान्त्रिक हुन्छ? यो बलजफ्ती अपहरणकारी ज्यादतीपूर्ण काम हो।'
ओलिले बैठकका नाममा ललाइफकाइ लगेर घेराबन्दी गरेर नेताहरुलाई राखिएको पनि बताए। 'घरघरबाट तानियो, ललाइफकाइ लगेर, मीठा गुलिया वचन बोलेर सुनको पिँजडामा थुनियो', उनले भने, 'मीठै खान दिइयो, राम्रै ठाउँमा सुताइयो ।'
एमालेबाहेकको वृहत् कम्युनिष्ट एकता हुनै नसक्ने ओलीको जिकिर थियो। 'माधव नेपालले गरेको बृहत् कम्युनिष्ट एकताको कुरा चटक मात्रै हो। यी सब चटकी कुरा हुन्, घर जलाउने अनि खरानी बेच्ने?', उनले भने, 'ती फाल्तु कुरा हुन्, बृहत् एकता भनेको के हो? एमाले बृहत कम्युनिष्ट एकता हो, जसका लाखौँ कार्यकर्ता छन्, १० लाख सदस्य छन्, नेपाल मात्रै होइन, जहाँ नेपाली छन् त्यहाँ एमाले छ।'
माधव नेपालले बृहत् कम्युनिष्ट एकता भन्नै नसुहाउने पनि उनले बताए। 'कसलाई बृहत् बनाउने? टुक्रा जम्मा गरेर सय पनि पुग्दैन', ओलीले कटाक्ष गर्दै भने।
ओलीले हिजोको अवस्थामा आफूलाई कामै गर्न नदिएको पनि बताए। 'हिजो मलाई काम गर्नै दिएनन्। अहिलेको सकरार न काम गर्छ, न अरुलाई गर्न दिन्छ', उनले भने, 'अहिले त यो सरकार भत्काउने काम गर्छ, बिगार्ने काम गर्छ। दीर्घकालीन आयोजना रोक्नु भनेर पत्राचार गरेको छ।'
Shares
प्रतिक्रिया