राजनीति


'माधव नेपाललाई एक एक अक्षर सुनाएर भएको थियो १० बुँदे सहमति'

योगेश भन्छन् : अहिले सहमति छैन भन्नेसँग केही गर्न सकिन्न
'माधव नेपाललाई एक एक अक्षर सुनाएर भएको थियो १० बुँदे सहमति'

नेपालखबर
भदौ ९, २०७८ बुधबार १३:४८, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा एमालेका सचिव योगेश भट्टराईले गत असार २७ गते राति भएको १० बुँदे सहमति माधव नेपालकै सल्लाह र अनुमतिमा भएको बताएका छन्। 

बुधबार तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा भएको पत्रकार सम्मेलनको अन्तिममा आफ्ना कुरा राख्ने क्रममा नेता भट्टराईले नेपाललाई छलेर १० बुँदे सहमति नगरिएको पनि उल्लख गरे। 

पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्ना कुरा राखिसकेपछि बोलेका भट्टराईले यस्तो प्रष्टीकरण दिएका हुन्। 

१० बुँदेसहमतिबारे जेठ २ मा गठित कार्यदल सदस्यहरु र 'तेस्रो धार' बताइने १० जना नेताको तर्फबाट आफ्ना कुरा राख्दै भट्टराईले नेपाललाई १० बुँदे सहमतिबारे सबै कुरा पहिल्यै जानकारी रहेको फनि उल्लेख गरे।

एमाले एकताका लागि नेता नेपालले गत वैशाख २७ गते ६ बुँदे प्रस्ताव तयार पारेको पनि खुलासा गरे। नेपालको त्यही ६ बुँदे सहमतिको ड्राफ्टकै आधारमा जेठ २ मा कार्यदल बनेर असार २७ मा उक्त सहमति जुट्न सम्भव भएको भट्टराईले बताए। 

'एमालेमा देखिएका विवाद मिलाउन एकताका ६ बुँदा माधव नेपालले वैशाख २७ गते नै तयार गर्नु भएको थियो', उनले भने, 'माधव कमरेडले तयार गरेको ६ बुँदे ड्राफ्टलाई नै टेक्दै कार्यदल बनेको थियो। माधव कमरेडकै ६ बुँदाका आधारमा १० बुँदे सहमति भएको थियो, उक्त सहमतिमा पनि उहाँले समर्थन जनाउनु भएको थियो।'

उनले १० बुँदेमा माधव तयार नहुँदा नहुँदै सहमति गरिएको टिप्पणीप्रति आपत्ति प्रकट गरे। '१० बुँदेमा माधव नेपालको सहमति नभएको भनेर टिकाटिप्पणी सुनिएको छ', उनले भने, 'माधव नेपालले १० बुँदेमा केही शब्द फेर्न लगाएपछि सहमति तयार भएको हो।'

नेता भट्टराईले १० बुँदे ड्राफ्टका क्रममा पनि एक एक अक्षर नेता नेपाललाई सुनाइएको बताए। 

'सहमतिको निष्कर्षसहित माधव नेपाललाई १० बुँदेबारे जानकारी दिएका थियौं। भीम रावल कमरेडले फोन 'लाउड स्पिकर' मा लगाएर माधव नेपाललाई १० बुँदेबारे जानकारी दिनुभएको थियो', उनले भने, 'माधव कमरेडले केही शब्द फेर्न लगाउनु भएको थियो। घनश्याम भुसाल कमरेडले १० बुँदेको फाइनल ड्राफ्ट माधव नेपाललाई उहाँको कोटेश्वरस्थित घरमै लगेर पनि बुझाउनु भएको थियो।'

नेता भट्टराईले १० बुँदेमा माधव नेपालको सहमति भएकैले आफूहरु एकताका लागि अघि बढेको बताए। अहिले आएर नेता नेपालले १० बुँदेमा सहमति नभएको टिप्पणी गर्नुलाई थप केही भन्न नसकिने पनि उनले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad