ad ad

राजनीति


तालिबानको सन्त्रासमा समलिंगीः ‘हामीलाई देख्नेबित्तिकै गोली हान्नेछन्!’

तालिबानको सन्त्रासमा समलिंगीः ‘हामीलाई देख्नेबित्तिकै गोली हान्नेछन्!’

नेपालखबर
भदौ ४, २०७८ शुक्रबार १९:१५, काठमाडौँ

तालिबानले अफगानिस्तान कब्जा गर्नुअघि पनि समलिंगी अब्दुल (नाम परिवर्तन) को जीवन खतरामै थियो। किनकि उनी समलिंगी भएको जानकारी दिइएको भए अफगानिस्तानको कानुनबमोजिम उनी जेल जानुपर्ने हुन सक्थ्यो। 

अहिले तालिबानले अफगानिस्तान कब्जा गरेपछि त झन् उनी समलिंगी हो भनेर थाहा भयो भने उनलाई तत्काल मारिनेछ। 

बीबीसी न्युजबिटसँग कुरा गर्दै अब्दुलले भने, ‘अब मेरो ज्यान खतरामा छ।’

तालिबान एक कट्टरपन्थी सैन्य समूह हो, जसले अफगानिस्तान मुलुक आफ्नो नियन्त्रणमा लिएको छ। उसले इस्लामी रूढिवादलाई अझ प्रोत्साहन गर्नेछ। 

यसअघि नब्बेको दसकमा तालिबानले अफगानिस्तानको सत्ता कब्जा गर्दा अहिले २१ वर्षका अब्दुल जन्मेका पनि थिएनन्। 

उनी भन्छन्, ‘मैले आफ्नो परिवार र अग्रज व्यक्तिले तालिबानबारे कुरा गरेको सुनेको थिएँ। मैले तालिबानबारे केही फिल्म पनि हेरेको छु। तर अहिले यस्तो लाग्दै छ– आज म आफैं त्यो फिल्मको एक पात्र हुँदै छु।’

यसै हप्ता अब्दुलले विश्वविद्यालयमा अन्तिम वर्षको परीक्षा दिनुथियो। जुन समय उनी साथीसँग खाना खान गइरहेका हुन्थे वा आफ्ना ब्वाइफ्रेन्डसँग भेट गरिरहेका हुन्थे। ब्याइफ्रेन्डसँग उनको भेट ३ वर्षअघि एक स्विमिङ पुलमा भएको थियो। 

तर अहिले उनी लगातार ४ दिनदेखि घरमै कैद छन्। अब उनको मुख्य ढोकाबाहिर तालिबानका लडाकु खडा छन्।

तालिबानको डर किन?
उनी भन्छन्, ‘जब म झ्यालबाट तालिबानलाई हेर्छु, तब धेरै डर लाग्छ। उनीहरूलाई देखेर मेरो शरीर काँप्छ।’

उनी थप्छन्, ‘सर्वधारण मारिइरहेका छन्, तर म उनीहरूलाई केही भन्न सक्दिनँ।’

अब्दुलले आफू समलिंगी भएको कुरा समाजलाई मात्र होइन, आफ्ना परिवारमा समेत कसैलाई भन्न सकेका छैनन्। 

उनी भन्छन्, ‘अफगानिस्तानमा कुनै समलिंगीले आफ्ना परिवारसँग यसबारे केही भन्न सक्दैनन्। यहाँसम्म कि आफ्ना मिल्ने साथीसँग पनि आफू समलिंगी भएको कुरा गर्न सक्दैनन्। यदि मैले आफ्नो परिवारलाई यो कुरा भनेँ भने मलाई पिट्न सक्छन्, मारी नै दिन्छन्।’ 

तर उनले आफ्नो लंगिक पहिचान लुकाइरहे र काबुलमा सहज जीवन बाँचिरहे। 

उनी भन्छन्, ‘मेरो पढाइ चलिरहेको थियो। यो एक जीवन्त सहर थियो, यहाँ जीवनको आफ्नै रमाइलो थियो।’

तर एक हप्तायता उनले आफ्नो जीवन आफ्नै अगाडि खस्दै गएको अनुभूति गरिरहेका छन्।

अब्दुललाई डर छ, ‘अब लाग्दैन कि मैले मेरो पढाइ पूरा गर्न पाउँछु। साथीसँग सम्पर्क टुटेको छ। थाहा छैन– उनीहरू कस्तो अवस्थामा छन्?’

उनी थप्छन्, ‘मेरा साथी अर्कै सहरमा परिवारसहित फसेका छन्। ऊ यहाँ आउन सक्दैन, म उहाँ जान सक्दिनँ।’

‘उनीहरूले समलिंगी देख्नासाथ गोली हान्नेछन्’
उनका बुबा अफगान सरकारसँग मिलेर काम गर्थे र अहिले लुकेर बसेका छन्। 

अब्दुलले चिनेका धेरैजसो महिला डरले घरबाट निस्किरहेका छैनन्। केही महिला जोखिम मोलेर घर बाहिर निस्कने गरेका छन्, तर उनीहरू पनि पुरुषका साथमा मात्र बाहिर निस्किन्छन्। 

पछिल्लो एक हप्तादेखि अब्दुलको मन–मस्तिष्कमा अन्धकार छाएको छ। 

उनी भन्छन्, ‘म खतरनाक डिप्रेसनमा छु। मैले धेरैपटक यो सबको अन्त्य गर्दिऊँ भन्ने सोचेको छु। म यस्तो किसिमको जीवन बाँच्न चाहन्नँ।’ 

उनी थप्छन्, ‘म यस्तो भविष्य चाहन्छु– जहाँ स्वतन्त्रतापूर्वक बाँच्न पाइयोस्। म चाहन्न– मलाई कसैले तिमी समलिंगी रहेछौ, यहाँ बस्न सक्दैनौ भनोस् भन्ने।’

तालिबानले यसपटक भन्न त भनेको छ– हाम्रो शासनमा महिलालाई अधिकार दिइन्छ र अल्पसंख्यकको सुरक्षा गरिन्छ। तर अब्दुललाई तालिबानप्रति विश्वास छैन। 

उनी भन्छन्, ‘भलै, तालिबान सरकारले महिलालाई स्वीकार गर्ला, स्कुल पनि जान देला, तर उसले कुनै हालतमा समलिंगी व्यक्तिलाई स्वीकार गर्नेवाला छैन। हामीलाई देख्नासाथ मार्नेछ।’  

विमानमा झुन्डेर देश छाड्ने प्रयास गरिरहेका अफगान नागरिकबारे अब्दुल भन्छन्, ‘उनीहरू पागल होइनन्।’

उनी थप्छन्, ‘यहाँ उनीहरूको व्यवसाय छ, जागिर छ, राम्रो जीवन छ। तर पनि उनीहरू भागिरहेका छन्। उनीहरू पागल होइनन्, जो विमान चढ्न भागदौड गरिरहेका छन्। उनीहरूलाई थाहा छ– अब अफगानिस्तान सुरक्षित छैन।’ 

‘म पनि स्वतन्त्र र सुरक्षित भएर बाँच्न चाहन्छु’
अब्दुल पनि देशबाट बाहिरिने मौकाको खोजी गरिरहेका छन्। अफगानिस्तानमा यस्ता धेरै संगठन छन्, जसले अब्दुलजस्ता मानिसलाई मद्दत गरिरहेका छन्। 

उनलाई बेलायतले २० हजार अफगान नागरिकलाई शरण दिएको कुरा थाहा छ। तर यसका लागि कहाँ कसलाई कसरी सम्पर्क गर्ने भन्ने कुरा उनलाई थाहा छैन। 

बेलायतमा समलिंगीका लागि काम गर्ने संगठन ‘स्टोनवाल’ले बेलायत सरकारलाई समलिंगी समुदायका शरणार्थीलाई मद्दत गर्न भनेको छ, जसले गर्दा बेलायत आएर उनीहरूले फेरि आफ्नो जीवन सुरु गर्न पाउन्। 

अब्दुलले भने, ‘म यति मात्र चाहन्छु– यदि कसैले मेरो पीडा सुनिरहनुभएको छ भने, एक युवाले झैं म पनि स्वतन्त्र र सुरक्षित जीवन जिउन चाहन्छु।’

उनी अगाडि भन्छन्, ‘म २१ वर्षको भएँ। मैले अहिलेसम्मको उमेर युद्धमै बिताएँ। बम विस्फोट देखेँ, साथी गुमाएँ, आफन्त मारिएको देखेँ।’

उनी आग्रह गर्छन्, ‘हाम्रा लागि प्रार्थना गर्नुहोस्, हामी सबैका लागि प्रार्थना गर्नुहोस्।’ बीबीसीबाट अनुवाद

यी पनि–

तालिबानले घरघर गएर खोज्न थाल्यो आफ्ना विरोधी, ‘धेरै जनाको हत्या गर्ने सम्भावना’

ताला तोडेर भारतीय दूतावासभित्र पसे तालिबानका लडाकु

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .