लुम्बिनी प्रदेशमा साउन २८ गते सरकार परिवर्तन भएर कुलप्रसाद केसी मुख्यमन्त्री भएपछि भदौ १ गते प्रदेश सभाको नवौं अधिवेशन आह्वान भयो। प्रदेश सभा भित्र एमाले र अन्य दल सांसदहरु बस्ने लहर साटासाट भयो।
नवौं अधिवेशन सुरु भएपनि प्रदेश सभा बैठक अघि बढ्न सकेको छैन। पहिलो र दोस्रो बैठक प्रमुख विपक्षी एमालेले निरन्तर अवरुद्ध गर्यो। बिहीबारको लागि तय भएको तेस्रो बैठक भने सूचना टाँसेर स्थगित भएको छ।
सूर्य चिन्हबाट चुनाव जितेर प्रदेश सभा सदस्य बनेका नवलपरासी पश्चिमका अजय शाही र दाङकी विमला कुमारी खत्री वलीलाई आफ्नो पार्टीले कारवाही गरेको र त्यसको सूचना प्रदेश सभा बैठकलाई जानकारी दिनुपर्ने एमालेले माग गरेको छ। सभामुखले कारवाहीको जानकारी प्रदेश सभा बैठकमा गराएपछि सांसद पदबाट पदमुक्त हुने कानूनी व्यवस्था छ।
नवौं अधिवेशन सुरु हुने दिन मंगलबार एमालेले २ जना सांसदलाई कारवाही गरेको पत्र सभामुख पूर्णबहादुर घर्तीलाई बुझाएको थियो। पहिलो बैठकमा उठेर टेबुल ठोकेर अवरुद्ध गरेको विपक्षी एमाले सांसदले दोस्रो बैठकमा बुधबार रोस्ट्रम घेरेका थिए। बैठकअघि विपक्षी नेताहरुसँग मुख्यमन्त्री कुलप्रसाद केसीले छलफल गरे पनि सहमति हुन सकेको थिएन।
बिहीवार पनि एमालेले बैठक चल्न नदिने भएपछि सूचना टाँस गरेर स्थगित भएको हो। विशेष कारणबस भदौ ७ गतेको लागि बैठक स्थगित भएको प्रदेश सभा सचिवालयद्वारा जारी सूचनामा उल्लेख छ।
प्रदेश सभा सचिव दुर्लभ कुमार पुनले सचिवालयको केही आन्तरिक कारणले बैठक ४ दिन स्थगित गर्नुपरेको बताए।
‘विपक्षीहरूको कारणले मात्र स्थगित भएको होइन, सचिवालयको आफ्नै आन्तरिक काम थियो। दाङमा बन्दै गरेको प्रदेश सभा सभाहलका प्राविधिकहरूसँग छलफल पनि गर्नु थियो। साइट भिजिट पनि गर्नु छ’ उनले भने ‘बिचमा सार्वजनिक विदा पनि छ। त्यसैले स्थगित भएको हो।’
दुई सांसदलाई कारवाही गरेको एमालेले बुझाएको जानकारीबारे सभामुखबाट अध्ययन भइरहेको सचिव पुनले बताए।
‘सभामुखले अध्ययन गर्ने क्रममा प्रदेश सभाको कानून महाशाखाले केही कागजपत्र पुगेको छैन भनेर रिपोर्ट गरेकाले बुझ्न खोज्नुभएको हो’ उनले भने।
सभामुखले विपक्षी दलसँग एमालेको संसदीय दलको सदस्य हुन पाउँ भनेर २ जनाले दिएको निवेदन र दलको बैठकमा बसेको प्रमाण मागेका छन्। तर त्यो प्रमाण एमालेले दिन नसकेको माओवादी केन्द्रका सांसदको आरोप छ।
नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीमगरले एमालेले संसद अवरुद्ध गरेर गर्नै नहुने काम गरेको उल्लेख गरे।
‘वैशाखदेखि नै माओवादी केन्द्रको संसदीय दलको सदस्यमा बसेका (विमला कुमारी खत्री)लाई उहाँले कारवाही गर्न कसरी पाउनुहुन्छ। कि त उत्तिखेरै भित्र पस्न नदिएको भए हुन्थ्यो’ उनले भने ‘४ महिना यता छोडिदिनुभयो। अहिले आएर कारवाही गर्न त कहीँ कतैको कानूनले दिँदैन।’
अजय शाहीको हकमा सूर्य चुनाव चिन्ह मात्र लिएको र स्वतन्त्र पहिचानका साथ क्रियाशील हुन पाउने भनेर सहमतिमै उल्लेख भएकाले एमालेले कारवाही गर्न नसक्ने घर्तीको भनाई छ।
नेकपा एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले आफ्नो संसदीय दलले भनेपछि सभामुखले दुई जना सांसद पदमुक्त भएको जानकारी दिनुपर्ने र अरु प्रमाण खोज्न आवश्यक नभएको बताए।
‘यो विषयमा सभामुखले कागज माग्ने अधिकार छैन। यो विषयको अन्तिम फैसलाकर्ता पनि सभामुख होइन’ उनले भने ‘जुनसुकै दलबाट टिकट लिएर सांसद भएका माननीयलाई दलको केन्द्रीय नेतृत्वले हटाउने चिठी पठाउँछ। त्यो चिठी नै सभामुखको ठूलो प्रमाण हो।’
ढकालले फागुनदेखि वैशाखसम्म विमला कुमारी खत्री वली एमाले कै संसदीय दलमा क्रियाशील रहेको र वैशाखदेखि मात्र माओवादी केन्द्रमा गएकाले कारवाही गरेको बताए। विमलालाई प्रदेश सभामा माओवादी केन्द्रको लहरमा राखेदेखिनै आफूहरुले असहमति जाहेर गरेको उनले बताए।
ढकालले २ जना सांसदलाई पदमुक्त भएको सूचना नदिएसम्म कुनै हालतमा बैठक चल्न नदिने बताए।
Shares

प्रतिक्रिया