राजनीति


'एमाले फुटेको होइन, माधव नेपालहरु चोइटिएर गएका हुन्'

'एमाले फुटेको होइन, माधव नेपालहरु चोइटिएर गएका हुन्'

नेपालखबर
भदौ ३, २०७८ बिहिबार १५:२८, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नफुटेको बताएका छन्। न्यूज एजेन्सी नेपालसँगको भिडियो अन्तर्वार्ताका क्रममा अध्यक्ष ओलीले एमाले विभाजित नभएको दाबी गरेका हुन्। 


'पार्टी विभाजन हुनु र टुक्रिनु फरक कुरा हुन्', उनले अगाडि भने, 'एमाले फुटेकै छैन, एउटा सानो चोइटो उछिट्टिएको मात्रै हो।'

वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले निर्वाचन आयोगमा नेकपा एमाले समाजवादी दर्ता गराएको भोलिपल्ट ओलीले यसो भनेका हुन्। 

अध्यक्ष ओलीले नेता नेपालले एमालेलाई बाह्य शक्तिले फुटाइदिएको पनि बताएका छन्। उनले नेता नेपालले उनकै विवेक अनुसार नेकपा समाजवादी दर्ता गरेर अध्यक्ष हुन गएको पनि टिप्पणी गरेका छन्। 

उनले वरिष्ठ नेता नेपाललाई एमालेबाट कुनै हालतमा निकाल्ने शक्ति सक्रिय भएको पनि बताए। 

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले एउटा चुम्बकका दुई ध्रुव एकै ठाउँ बस्न नसक्ने पनि बताए। 'एकै चुम्बकका दुई ध्रुव सँगै आउन सक्दैनन्। एमालेमा पनि यस्ता पोल एकै ठाउँ ल्याइएको हो', उनले भने, 'धेरै शक्ति मिलेर यस्तो अवस्था ल्याउँछन्। नेता नेपाललाई एमालेबाट निकाल्ने शक्ति लागेपछि उनको पनि केही नलागेपछि चोइटिएका हुन्।'

एमालेलाई एक बनाउन आफूले कयौँ कोसिस गरेको पनि उनले बताएका छन्। 'मैले पार्टी बचाउन कयौँ कोसिस गरेको थिएँ', उनले भने, 'मैले ५१ वर्ष पहिलेदेखि नै पार्टी एकता थालेर शक्तिशाली नेकपा पनि बनाएकै हो।'

उनले एमाले एकता बचाउन नेता नेपालसँग संवादका लागि भेट्न खोज्दा उनले इन्कार गरेको बताए। 'एमाले एकता बचाउन भेटौँ भन्दा उनले भेट्नै मानेनन्', उनले भने, 'बितेका दुई वर्षयता उनले मलाई एक पटक पनि फोन गरेको थाहा छैन। प्रधानमन्त्री निवासमा पनि नआएपछि म आफैँ उनले चाहेको ठाउँमा पुगेर कुरा गरेकै हो।'

ओलीले एमालेमा कुनै किसिमको विवाद नभएको पनि बताए। 'एमाले कुनै किसिमको अन्तरकलह छैन, तर नेपालले मात्रै निहुँ खोजिरहे', उनले भने, 'एमाले फुटेको होइन, नेपाल चोइटिएका मात्रै हुन्।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad