ad ad

राजनीति


कहिलेसम्म दर्ता भइसक्लान् एमाले समाजवादी र जसपा लोकतान्त्रिक?

कहिलेसम्म दर्ता भइसक्लान् एमाले समाजवादी र जसपा लोकतान्त्रिक?

केशव सावद
भदौ ३, २०७८ बिहिबार १३:२, काठमाडौँ

निर्वाचन आयोगले नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)बाट छुट्टिएर गएकाहरुले नयाँ दल दर्ताका लागि दिएको निवेदनहरुको अध्ययन सुरु गरेको छ। 

आयोगले नयाँ दल दर्ताका लागि आएका माधवकुमार नेपाल र महन्थ ठाकुरको निवेदनहरुमाथि प्रक्रिया पुगे नपुगेको बारेमा अध्ययन सुरु गरेको हो। 

आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दल विभाजन गर्ने अध्यादेश आएपछि नयाँ दल दर्ताका लागि दुवै दलका तर्फबाट परेका निवेदनहरुमाथि अध्ययन भइरहेको जानकारी दिए। 

उनले प्रक्रिया पूरा गरेर आएका भए १५ दिनभित्रै दल दर्ताको प्रमाणपत्र दिइने पनि बताए। 

‘उहाँहरुको नयाँ दल दर्ताको निवेदन प्राप्त भएको छ। तर, सवै प्रक्रिया पूरा गरेर आएका छन् कि छैनन् भनेर अध्ययनको काम भइरहेको छ,’ प्रमुख आयुक्त थपलियाले भने, ‘प्रक्रिया पूरा गरेर आएका छन् भने हामी छिट्टै दल दर्ता गर्छौँ। 
प्रक्रिया पूरा गरेका निवेदन भएमा बढीमा १५ दिनभित्र सक्ने उनले बताए। त्यो भन्दा कम समयमै दर्ता गर्ने प्रयासमा आफूहरु रहेको उनले बताए।

एमालेका वरिष्ठ नेता नेपालले बुधबार नेकपा एमाले (समाजवादी) नामक दल दर्ताका लागि आयोगमा निवेदन दिएका थिए। 

यस्तै जसपाका नेता ठाकुरले पनि जसपा (लोकतान्त्रिक) नामक नयाँ दल दर्ताका लागि निवेदन दिएका थिए। 

दुवै दलहरुको नाम पुरानै दलसँग मिल्दोजुल्दो प्रस्ताव गरिएका कारण निवेदनहरुमा उल्लेख गरिएका नामहरुनै दर्ता हुने कि नहुने भन्ने बारेमा संशय भने कायम छ। 

यसअघि नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकीकरणपछि गठन भएको नेकपालाई सर्वोच्च अदालतले खारेज गरेका कारण आयोग पनि प्रस्तावित नामहरुका बारेमा सचेतता अपनाउने देखिएको छ। 

‘हामीले नयाँ दलको नाम दिने बेलामा धेरै अध्ययन, छलफल र परामर्श गरेर मात्र दिन्छौं', उनले भने, 'हामीलाई तीन वर्ष अघि नेकपा नाम दिएको र त्यो नाम सर्वोच्चले खारेज गरेपछि निर्वाचन आयोगप्रति निकै असन्तुष्टि जनाउने काम भयो। आलोचना भएको थियो। त्यहीबाट पाठ सिकेर नयाँ दल दर्ताका लागि परेका निवेदनमाथि अध्ययन गर्छौं,'

'निवेदहहरुले चित्त बुझ्दो गरी छानबिन गरेर दल दर्ता गर्छौँ', निर्वाचन आयोगका एक उच्च अधिकारीले नेपालखबरसँग भने, 'दल दर्ता गर्दा सर्वोच्च अदालतको फैसला, नजिर पनि अध्ययन गर्छौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .