ad ad

राजनीति


एमालेमा ओली–नेपाल : ५ दशकसम्म अभिन्न, उत्तरार्धमा छिन्नभिन्न

एमालेमा ओली–नेपाल : ५ दशकसम्म अभिन्न, उत्तरार्धमा छिन्नभिन्न

बिनु सुवेदी
भदौ २, २०७८ बुधबार ७:९, काठमाडौँ

झापा विद्रोहपछि तत्कालीन राज्यसत्ताले तारो बनाएका केपी ओली सुरक्षित सेल्टर चाहन्थे। बैंकका जागिरे भएता पनि माधवकुमार नेपाल कम्युनिस्ट आन्दोलनका पूर्णकालीन हिस्सा भइसकेका थिए।

आफ्नै जस्तो गन्तब्य भएका कमरेड विराटनगरमा जागिर गर्दैछन् भन्ने थाहा पाएपछि ओली नेपालकै डेरामा सेल्टर लिन पुगे, उनीहरूको पहिलो मुलकात त्यहीँ नै भयो। यो २०२९ सालको कुरा हो।

त्यस यताको पचासौं वर्षको उतारचढावमा नेपाल र ओली हमेसा सँगै रहे। भूमिगत कालीन आन्दोलन, ओलीको जेल जीवन, माले र मार्क्सवादी मिलेर बनेको एमाले, एमालेको ९ महिने सरकारदेखि, महाकाली सन्धी र ०५४ मा एमालेको विभाजन हुँदासम्म ओली र नेपाल एउटै टिममा थिए।

पार्टी जीवनको हर उकाली–ओरालीमा सँगसँगै रहेका ओली र नेपालले राजनीतिक जीवनको उत्तरार्द्धमा आउँदा भने फरक फरक गन्तव्यको गोरेटो कोरेका छन्।

यो सँगै अभिछिन्न एमाले छिन्नभिन्न हुने निश्चितप्रायः छ।

मंगलबारमात्रै नेपालले पार्टी पुनर्गठन गर्ने घोषणा गरिसकेका छन् भने ओलीले वैशाख २७ मा आफूलाई विश्वासको मत नदिएको निहुँमा नेपालसहितका १४ सांसदलाई सांसद र पार्टीको साधारण सदस्यसमेत नरहने गरि कारबाही गरिएको जानकारी संसद सचिवालयलाई गराएका छन्।

भलै सांसदहरूलाई कारवाही गर्ने ओलीको निर्णयलाई संसद सचिवालयले कसरी लिन्छ, त्यो तय भइसकेको छैन। तर अब ओली र नेपालको पार्टी एउटै हुन्न भन्ने चाँहि निश्चित भइसकेको छ।

त्यसको घोषणा स्वयम् नेपालले पनि गरेका छन्। मंगलबार जनवर्गीय संगठनको कार्यक्रममा नेपालले भनेका छन्,‘अध्यादेश आउने वित्तिकै नयाँ पार्टी दर्ता गरिहाल्छौँ।’

नेपाल निकटस्थ स्रोतहरूका अनुसार दल विभाजन गर्ने माइन्युटमा मंगलबार साँझसम्म २५ जना सांसद र ५३ जना केन्द्रीय कमिटी सदस्यहरूले हस्ताक्षर गरिसकेका छन्।

यो संख्या केन्द्रीय कमिटी या संसदीय दलमध्ये एउटामा २० प्रतिशत भए पार्टी विभाजन गर्न सकिने अध्यादेशको प्रावधानअनुसार यथेष्ट हो।

तर एमालेको नवौं महाधिवेशनमा नेपाल ओलीसँग जम्माजम्मी ४५ मतले पराजित भएका हुन्। पार्टीका अधिकांश कमिटीमा नेपाल समूहको वर्चश्व थियो।

अहिले पनि एमाले नफुटाउने हो भने नेपाललाई साथ दिनेको संख्या अरू बढ्न सक्छ। तर तेस्रो पुस्ताका नेताहरूको साथ लिएर भए पनि नयाँ पार्टी बनाउने, ओलीको नेतृत्वमा एमालेमा नबस्ने नेपाल र नेपाल विनाको एमाले चलाउने ओलीको चाहनाले एमाले अब उही आकारको एमाले नहुने टुंगो लागेको हो।

एमाले अध्यक्ष ओलीले त्यसको संकेत गर्दै विभाजनमा लाग्नेहरूलाई पार्टीमा ठाउँ नभएको बताएका छन्। त्यसैको परिणाम होः नेपाल सहितका सांसदहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरि कारवाही गरेको जानकारी संसद सचिवालयलाई गराउनु। 

प्रतिगमनविरुद्ध संघर्ष, पद नमिलेपछि विभाजन
उसो त एमाले र माओवादी एक भएको ६ महिना पुग्दा नपुग्दै ओलीबिरुद्ध प्रचण्ड र नेपालको मोर्चाबन्दी सुरू भइसकेको थियो।

तर देखिनेगरी संघर्ष ०७७ को वैशाख ८ बाट नै भयो जुन दिन ओलीले दल विभाजन गर्न सजिलो हुनेगरी अध्यादेश ल्याउने निर्णय गरे।

आफ्नै पार्टीका आफ्नो मात्रै गुट तथा तत्कालीन संघीय समाजवादी र राष्ट्रिय जनता पार्टी (राजपा) लाई विभाजन गर्ने हेतुका लागि  ल्याएको अध्यादेश ओलीका लागि त्यसबेला अफाप सिद्ध भयो।

पार्टी र सरकारमा झन् झन् अप्ठ्यारो पर्यो। अध्यादेश मार्फत् दल विभाजन गराएर आफू अनुकूलको सत्ता चलाउने प्रयास असफल भएपछि त्यतिखेर ओलीले सोचेको प्लान ‘बी’ हो, प्रतिनिधिसभाको विघटन।

त्यसैका लागि उनले ०७७ वैशाख १५ गते मध्यरातमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग लामो परामर्श गरेका थिए।

त्यसबेला ओलीको योजनामा राणाले साथ त दिएनन् तर ओलीले भने प्रतिनिधिसभा विघटनको योजना बनाउन छोडेका थिएनन्।

​अन्ततः तेस्रो प्रयासमा ओलीले ०७७ पुस ५ गते प्रतिनिधिसभा विघटन गरे। त्यसपछि नै माधव नेपालहरुले ओलीका बिरुद्ध सशक्त आन्दोलन थालेका हुन्, ओलीले प्रतिनिधि सभा विघटन गरेर प्रतिगमन गरेको भन्दै चर्काे विरोध गरेका हुन्।

ओलीको त्यस कदम बिरुद्ध मोर्चाबन्दीमा रहेका प्रचण्ड र नेपाल समूहले लामो समयसम्म आन्दोलन गर्यो, ओलीलाई तत्कालीन नेकपाको साधारण सदस्यसमेत नरहने गरि कारवाही गरियो।

नेपाल समूहले ओलीलाई त्यतिखेरसम्म प्रतिगमनकारी भने, जुन दिन सर्वाेच्चले एमाले र माओवादीको एकीकरणलाई अवैध ठहर गर्यो।

फागुन २३ गते सर्वाेच्चको निर्णय आएपछि छिटपुट बाहेक एमाले र माओवादी आआफ्नो बाटो लागे।

एमालेको झन्डामुनी फर्किएका नेपाल समूहलाई ओलीले स्वागत गरेनन् बरु लखेटे।

नेपाल समूहले पनि एमालेकै ब्यानरमा आफ्ना गतिबिधि जारी राखिरहे। पुस ५ देखि ओलीलाई एकोहोरो प्रतिगमनकारी भनिरहेका एमालेका नेपाल समूहका नेताहरूको बोली फागुन २३ पछि फेरियो।

उनीहरूले पार्टी संरचनालाई ०७५ जेठ २ अघिकै स्थितिमा लैजाने माग राखे। तर ०७७ पुस ५ मा ओलीले गरेको प्रतिनिधिसभा विघटन र आफूहरूले गरेको त्यसको विरोध बिर्सिए।

यही विन्दुदेखि नै नेपाल समूहले ओलीसँग पदको बार्गेनिङ थालेको हो। नत्र संविधानको समेत खिलाफमा गएका ओली नेपालहरूका नजरमा पहिलेजस्तै ‘प्रतिगमनकारी’ नै हुनुपर्ने हो।

गत वैशाख ८ गते यता त झन् ओली र नेपालका बीचको द्वन्द्व नितान्त पदमा पुगेर रोकियो।

पार्टी एकताका लागि नेपाल पनि ओलीजस्तै समान हैसियतमा हुनुपर्ने प्रस्तावमा छलफल हुन थाल्यो। पटक पटक कारवाही भोगेका नेताहरूले कारवाही फुगुवाको माग गर्न थाले।

एमालेभित्र ओलीले असंवैधानिक काम गरेका हुन्न भन्ने आवाज विस्तारै विलीन हुँदै गयो। पछिल्लोपटक नमिलेको पनि ओली र नेपालबीचको शक्ति सन्तुलन नै हो। नेपालले पार्टीमा समान हैसियतको अध्यक्षको माग गरिरहँदा आफैँले हराएको नेतालाई समान हैसियत दिन नसक्ने तर्क ओलीको छ। 

के मा मिलेन कुरा? 
एमाले मिलाउन मरिमेटेर लागेका दोस्रो पुस्ताका नेताहरूले ओली र नेपाल समक्ष दुईवटा विकल्प अघि सारेका थिए।

पहिलो नेपाललाई ओली समानको हैसियतमा अध्यक्ष दिने, दोस्रो नेपाललाई पार्टीको दोस्रो अध्यक्ष बनाउने। सुरुमा दोस्रो विकल्पमा नै कुरा भयो।

तर पार्टीको दोस्रो अध्यक्ष बन्न नेपाल तयार भएनन्। पार्टीका हरेक निर्णयदेखि निर्वाचन आयोगमा पठाउने पत्रसम्ममा पनि आफ्नोसमेत हस्ताक्षर चल्नुपर्ने माग नेपालको थियो।

ओलीले यसअघि बारम्बार धोका दिएकाले त्यसो नगरिए पार्टीमा आफ्ना गुटका नेताहरूलाई न्याय दिन नसकिने तर्क नेपालको थियो।

दोस्रो अध्यक्ष बन्ने विकल्पमा नेपाल तयार नभएपछि समान हैसियतको अध्यक्ष बनाउने अर्काे विकल्पबारे एमालेका दोस्रो पुस्ताका नेताहरूले परामर्श थाले।

उनीहरूले मंसिरमै पार्टी महाधिवेशन गर्ने र त्यसअघि दुबै नेतालाई समान हैसियतको अध्यक्ष बनाउनेगरी सहमति जुटाए। तर सहमतिको यो प्रस्ताव ओलीले ठाडै अस्वीकार गरिदिए।

आफूसँग पार्टीको महाधिवेशनमा पराजित भएको नेतालाई समान हैसियतको अध्यक्ष मान्न नसक्ने तर्क ओलीको थियो।

फरक फरक तर्कका आधारमा नेपाल र ओलीले कार्यदलको प्रस्ताव अस्वीकार गरेपछि तेस्रो विकल्प पार्टी विभाजनकै थियो, जसको स्पष्ट आधार मंगलबार कोरिएको छ।

अब दल विभाजनका लागि सहज हुने गरि आएको अध्यादेश जारी हुने बित्तिकै दल दर्ता गरेर सरकारमा जाने तयारी नेपालले गरिसकेका छन्। त्यसैले ओली र नेपालबीचको ५० वर्ष लामो सम्बन्ध राजनीतिक जीवनको उत्तरार्द्धमा आउँदा नमीठो गरि टुंगिने देखिएको छ।

सिंगो जीवननै पार्टीका लागि खर्चिएका नेताहरूले आफ्नै कारण पार्टीसमेत ध्वस्त हुनै लागेको भने बिर्सिएका छन्। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .