राजनीति


अध्यादेश आयो, ओली नसुध्रिए अब नयाँ दल दर्ता गर्छौँ : विरोध खतिवडा

अध्यादेश आयो, ओली नसुध्रिए अब नयाँ दल दर्ता गर्छौँ : विरोध खतिवडा

नेपालखबर
भदौ १, २०७८ मंगलबार १७:०, काठमाडौँ

नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसद विरोध खतिवडाले दल फुटाउन सहज हुने अध्यादेश आइसकाले आवश्यकता अनुसार नयाँ दल दर्ता गर्ने बताएका छन्। 

सरकारले सोमबार संसद अधिवेशन अन्त्य गरेर एमाले फुटाउने योजनासहित राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि नेता खतिवडाले ढिलोचाँडो नयाँ दल दर्ता हुने उल्लेख गरे।

सरकारले ल्याएको अध्यादेशको कांग्रेसकै नेताहरु र एमालेसहितका दलहरुले चर्को विरोध गरिरहेका छन्। तर नेता नेपालसँग बालुवाटार भएको सहमति अनुसार नै प्रधानमन्त्री शेरबहादुर देउवाले अध्यादेश ल्याएका हुन्।

एमालेले अध्यादेशको विरोध गरिरहेका बेला नयाँ पार्टीका लागि नेपाल समूह भने तीव्र छलफलमा जुटेका छन्। नेता नेपालले सिंहदरबारमा आजै नयाँ दल दर्ताबारे आफूपक्षीय नेता र सांसदसँग छलफल गरे।

नेता नेपालले मंगलबार सिंहदरबार र नयाँबानेश्वरको अर्याल होटलमा साउन ३ मा देउवालाई विश्वासको मत हालेका २२ सांसदसँग संवाद गरेका थिए। 

नेपाल पक्षको छलफलमा सहभागी एकजना सांसद विरोध खतिवडाले अध्यादेश आएपछि अगाडि बढ्ने सम्भावित रणनीतिबारे परामर्श भइरहेको बताएका छन्।

‘सरकारले अध्यादेश ल्याएपछि केपी ओली गुटको बैठकले २ सय ६० जना केन्द्रीय सदस्य बनाएर पठाएको खबर आएको छ', उनले भने, 'नयाँ पार्टी निर्माणका लागि थप पाइला चाल्ने विषयमा हामी छलफलकै चरणमा छौँ।'

उनले तात्तातै नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा गइजाने योजना नरहेको पनि बताए। नयाँ दल कहिले दर्ता गर्नुहुन्छ ? भनेर सञ्चारकर्मीले सोध्दा उनको उत्तर थियो, ‘आवश्यकता अनुसार छिटो पनि हुन सक्छ, ढिलो पनि हुनसक्छ।’

अझै पनि ओलीले २०७७ फागुन २८ गतेपछिका निर्णय खारेज गरेर २०७५ जेठ २ मा फर्किए एकता सम्भव रहेको उनले बताए। 

'एकताका लागि ओली फागुन २८ पछिका सबै निर्णय खारेज भएर जेठ २ मा फर्कनुपर्छ। तर उनले त्यसयता कयौँ निर्णय गरिसके', उनले भने, 'उनैले २०३ केन्द्रीय सदस्यलाई २६० बनाएर अर्को जालझेल गरेछन्। ओलीले यी सबै निर्णय फिर्ता गरेर आएमा हामी मिल्ने सम्भावना छ। यदि यसो भएमा अर्को बाटो हिँड्नु नपर्ने हुनसक्छ।’ 

खतिडाले ओलीकै कारण एमाले विभाजित हुन लागेको पनि बताए। ‘तर ओली सुध्रिने सम्भावना कम हुँदै गएको छ। ओलीले गल्ती स्वीकारेर लचक भएमा हामी रोकिन्छौँ नत्र नयाँ पार्टीको प्रक्रिया सुरु हुन्छ', उनले भने।

खतिवडाले नेकपा रहँदा पनि ओलीले नै फुटाउन चाहेको बताउँदै अहिले पनि ओलीकै कारण एमाले फुट्न लागेको दाबी गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .