लामो समयदेखि तालिबान लडाकुको रोजाइमा परेको हतियार हो– रुसमा निर्मित कलानिस्कोव एके–४७। लगभग सबैजसो लडाकुले यही राइफल बोक्छन्।
तर, सत्ता कब्जा गरिसकेपछि केही तालिबान लडाकुले भने एके–४७ छाडेर अमेरिकामा निर्मित राइफल बोक्न थालेका छन्।
सरकार ढलेसँगै अमेरिकाले अर्बौं डलर खर्च गरेर अफगान सेनालाई दिएको सम्पूर्ण हतियार अहिले तालिबानको कब्जामा पुगेको छ। त्यससँगै लडाकुहरुले हतियार साट्न थालेका हुन्।
तालिबानले ट्विटर र अन्यत्र प्रकाशित गरेका भिडिओ र तस्बिरहरुमा लडाकुहरुले एम४ कारबाइन र एम १६ राइफल बोकेको देखिन्छ।
अमेरिकामा बनेका एम४ र एम१६ सटिक निसाना लगाउन र लामो दुरीमा प्रहार गर्न एके–४७ भन्दा प्रभावकारी मानिन्छ। तर, त्यसले मात्रै युद्धमैदानमा खासै क्षमता नबढाउने विज्ञहरु बताउँछन्।
तथापि, अमेरिकामा बनेका, उसैले अर्बौँ डलर खर्च गरेर अफगान सेनालाई दिएका अत्याधुनिक राइफल लडाकुको हातमा देखिनु तालिबानका लागि प्रचारबाजीको हतियार बनेको छ।


अफगानिस्तानमा रहेका धेरैजसो एके–४७ नक्कल हुन्। तर, केही भने १९८९ सम्म सोभियत सेना अफगानिस्तानमा रहँदा छोडिएका हुन्। दोस्रो विश्वयुद्धलगत्तै जर्मन डिजाइनमा बनाइएको यो राइफल तुरुन्तै विश्वभर पुगेको थियो। जुन सरकारी सेना, विद्रोही र आतंकवादी समूहहरुको रोजाइमा पर्ने गरेको छ।
तालिबानले कब्जा गरेको अमेरिकी हतियार लामो समय प्रयोग हुनसक्छ। किनभने यसका गोली आपूर्ति गर्न कुनै कठिनाइ छैन। एजेन्सी
Shares

प्रतिक्रिया