राजनीति


कांग्रेससँग मिलेर समाजवादको सपना नदेखौँ, चुनावी तालमेल पनि अनैतिक हुन्छ'

कांग्रेससँग मिलेर समाजवादको सपना नदेखौँ, चुनावी तालमेल पनि अनैतिक हुन्छ'

नेपालखबर
साउन ३१, २०७८ आइतबार १७:५४, काठमाडौँ

नेकपा माओवादी केन्द्रका नेताहरुले दलाल पूँजीपतिहरुको पार्टीका रुपमा परिचित नेपाली कांग्रेससँग तालमेल गरेर चुनावमा जान नसकिने बताएका छन्। 

दुई दिनदेखि काठमाडौंको अनुपम फुडल्यान्डमा जारी केन्द्रीय कमिटी बैठकमा बनाइएका आठवटा समूहको तर्फबाट सुझाव दिने नेताहरुले कांग्रेससँगको सहकार्यलाई शंकाको नजरले हेरेका हुन्। 

बैठकमा समूह नम्बर ८ को तर्फबाट सुझाव दिँदै नेता युवराज चौलागाईंले कांग्रेससँग सहकार्य गरेर माओवादीले समाजवादो सपना देख्न नसक्ने टिप्पणी गरे। 

'नेपालमा लामो समयदेखि दलाल पूँजीपति वर्गको नेतृत्व गरेर बसेको नेपाली कांग्रेससँग हाम्रो सहकार्य भइरहेको छ', सुझाव दिँदै चौलागाईंले भने, 'दलाल पूँजीपतिको प्रतिनिधिसँग सहकार्य गरेर माओवादीले कसरी समाजवादको सपना देख्न सक्छ? अझै आगामी निर्वाचनमा ऊसैसँग तालमेल गरेर जाने कुरा अनैतिक हुन्छ।'

शनिबार मात्रै माओवादी अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधान शत्रु भनेका थिए। यो अवस्थामा उनले कांग्रेस सभापति शेरबहादुर देउवामा तुलनात्मक रुपमा राजनीतिक चरित्र देखिएको बताएका थिए।

उनले अहिलेको पाँच दलीय गठबन्धनलाई आगामी चुनावसम्म लैजानुपर्ने मत राखेका थिए। अहिले सत्ता गठबन्धनमा कांग्रेस, माओवादी, जनता समाजवादी पार्टी, एमलेको माधव नेपाल समूह र जनमोर्चा नेपाल छन्। 

बैठकमा प्रदेश १ बाट राम कार्की, प्रदेश २ बाट रामचन्द्र झा, बागमती प्रदेशबाट नारायण दाहाल, गण्डकी प्रदेशबाट हितराज पाण्डे, लुम्बिनी प्रदेशबाट ओनसरी घर्ती, कर्णाली प्रदेशबाट मायाप्रसाद शर्मा, सुदूरपश्चिम प्रदेशबाट नेपबहादुर चौधरी, सम्पर्क प्रदेश/बिशेष प्रदेश/ प्रवास र केन्द्रीय कार्यालयबाट युवराज चौलागाईंले सुझाव पेश गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad