राजनीति


निर्माणाधिन संघीय संसद भवनका लागि बजेट अभाव हुन नदिन निर्देशन

निर्माणाधिन संघीय संसद भवनका लागि बजेट अभाव हुन नदिन निर्देशन

सभापति कल्याणी खड्का


नेपालखबर
साउन ३१, २०७८ आइतबार १५:५, काठमाडौँ

संसदीय समितिले सिंहदरबारमा निर्माणाधिन संघीय संसद भवनको लागि पर्याप्त बजेटको व्यवस्था गर्नुपर्ने निष्कर्ष निकालेको छ।

प्रतिनिधिसभा अन्तरगतको विकास तथा प्रविधि समितिका पदाधिकारीहरुले आइतबार सो निर्माणाधिन भवनको स्थलगत अवलोकन गरेपछि सरकारले पर्याप्त बजेटको व्यवस्था गर्नुपर्ने निष्कर्ष निकालेका हुन्। स्थलगत अवलोकनपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै समितिकी सभापति कल्याणी खड्काले सरकारले सो भवनको निर्माण कार्य समयमै सम्पन्न हुने गरी बजेटको पर्याप्त व्यवस्था गर्नुपर्ने देखिएको प्रतिक्रिया दिइन्।

उनले त्यहाँ काम गर्ने श्रमिकहरूका लागि तत्काल कोभिडविरुद्धको खोपको व्यवस्था गर्न र निर्माणस्थल वरपरको फोहोरको पनि तत्काल व्यवस्थापन गर्नुपर्ने आवश्यकतामा जोड दिइन्। 

सभापति खड्काले भनिन्, ‘निर्माणाधिन सो भवनका लागि पर्याप्त बजेटको अभाव देखियो। सरकारले प्राथमिकताका साथ अघि बढाएको सो भवन निर्माणका लागि पर्याप्त बजेटको व्यवस्था गर्नुपर्छ। फोहोर व्यवस्थापन र त्यहाँ काम गर्ने मजदूरहरुका लागि पनि तत्काल कोरोना खोपको व्यवस्था गर्नुपर्ने आवश्यक्ता महशुस गरिएको छ।’

त्यस अवसरमा सहरी विकास मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहले संसद भवन परिसरभित्र निर्माण भइरहेका १२ वटा ब्लकहरुको कार्य प्रगति विवरण तथा देखिएका समस्याबारे समितिका पदाधिकारीहरूलाई जानकारी गराएका थिए। उनले कोभिडका कारण अपेक्षा अनुसार सो निर्माणधिन भवनको निर्माण कार्यले गति लिन नसकेको बताए। सचिव सिंहले अन्तर्राष्ट्रिय बजारबाट निर्माण सामग्री खरिद गरि ल्याउने काममा समेत कोभिडले समस्या पारेको पनि संसदीय समितिका पदाधिकारीसँग जानकारी दिए।

सचिव सिंहले निर्माणस्थल परिसरमा निर्माण हुने १२ वटा ब्लकमध्ये ११ वटा ब्लकहरुको निर्माणको कार्य भइरहेको बताए। उनका अनुसार पार्किङ ब्लकको पहिलो तल्लाको ६० प्रतिशत काम सम्पन्न भएको छ। त्यसैगरी राष्ट्रियसभाको भुईँतल्लाको निर्माण कार्य सम्पन्न भई पहिलो तल्लाको पनि ७० प्रतिशत कार्य सम्पन्न गरिएको छ। प्रतिनिधिसभाको भुईँतल्लाको निर्माण कार्य ९० प्रतिशत सम्पन्न गरिएको तथा पहिलो तल्लाको निर्माण कार्य २३ प्रतिशत सम्पन्न गरिएको पनि सचिव सिंहले बताए।

भ्याटबाहेक ६ अर्ब ९२ करोडमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको सो निर्माणाधिन भवनको निर्माण कार्यको जिम्मेवारी टुण्डी शेक जेभीले पाएको छ। २०७६ साल असोज १६ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको सो निर्माणाधिन भवनको निर्माण कार्य २०८० वैशाख १४ गते सम्पन्न गर्ने समयसीमा तोकिएको छ।

यसअघि सभामुख अग्निप्रसाद सापकोटाले पनि सो निर्माणाधिन भवनको स्थलगत अवलोकन गरी निर्माण कार्य तोकिएको समय भन्दा अघि नै सम्पन्न गर्न आयोजनाका पदाधिकारीहरूलाई आग्रह गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad